Comments Add Comment

गच्छदारको ट्रेजेडीः ठाकुरले फोन उठाएनन्, अब कता जाने ?

Bijaya-Kumar-Gachhadar

२५ साउन, काठमाडौं । सत्ताभोग गरिरहेको व्यक्ति सडकमा ओर्लिनुपर्दा उसलाई कस्तो पीडा होला ? राजनीतिमा यसैलाई भनिन्छ- ‘ट्रेजेडी अफ पावर’ अर्थात शक्तिको वियोग । अहिले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यही वियोगान्त परिस्थितिको शिकार बनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री बन्दै गर्दा गच्छदार ढुक्कै थिए कि उनी फेरि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । उनले भनेका पनि थिए, मलाई सरकारमा जान संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन ।

तर, प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दा गच्छदारलाई भाऊ दिएनन् । उनले दाबी गरेको भौतिक पूर्वाधार मन्त्रालय कांग्रेस नेता रमेश लेखकले पाए ।

प्रचण्डले आफूलाई उपप्रधानमन्त्री बनाउन नचाहेको छनक सत्ताका चतुर खेलाडी मानिने गच्छदारले सपथग्रहण अगावै पाइसकेका थिए । त्यसलगत्तै उनले प्रचण्डलाई भेटेर आफूलाई मन्त्री बनाउन ‘प्रेसर’ गरे । अरुमार्फत पनि भन्न लगाए ।

प्रधानमन्त्री प्रचण्ड अर्कोतिरबाट पनि चर्को दबावमा थिए । मधेसी गठबन्धनका नेता उपेन्द्र यादवले गच्छदारलाई कुनै पनि हालतमा मन्त्री नबनाउन चेतावनी दिइरहेका थिए । प्रचण्डले उपेन्द्र र गच्छदारमध्ये एकलाई छनोट गर्नुपर्ने बाध्यता थियो । अन्ततः उनले कमजोर गच्छदारलाई भन्दा बलिया साटो उपेन्द्र यादवलाई रोजे । भलै, उपेन्द्र अझैसम्म प्रचण्डको नेतृत्वमा सरकारमा आउन तयार भइसकेका छैनन् ।

महन्थसँग हारगुहार

प्रचण्डले आफूलाई सरकारमा नलगेपछि वियोगको पीडामा छटपटाएका गच्छदारले तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई तारन्तार टेलिफोन गरे । तर, महन्थले गच्छदारको फोन रिसिभै गरेनन् ।

Mahantha-Thakur

म तपाईलाई भेट्न चाहन्छु भन्ने गच्छदारको आग्रहलाई बेवास्ता गर्दै ठाकुरले सहयोगीमार्फत जवाफ दिए कि म बिमारी छु, अहिले तपाईसँग भेट गर्न सक्दिँन ।

सूत्रहरुको दाबीअनुसार गच्छदारले महन्थसँग दुईवटा आग्रह गर्न चाहेका थिएः एक- प्रचण्डसँग भनसुन गरेर/गराएर आफूलाई सरकारमा पुर्‍याइदिनुपर्‍यो भन्ने । र, दोस्रो- आफूलाई अब तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा)मा मिसाएर डुब्न लागेको डुंगा बचाइदिनुपर्‍यो भन्ने ।

स्रोत भन्छ- गच्छदारलाई आफ्नो पार्टीमा भित्र्याउन कोही पनि तयार छैनन्, न तमलोपा तयार छ, न त उनको मातृपार्टी नेपाली कांग्रेस नै । गच्छदार मधेसमा र पहाडमा समेत यति बदनाम भइसकेका छन् कि अब उनको हालत बद्री मण्डलको जस्तै दयनीय बन्ने स्थितिमा पुगेको छ ।

मधेस आन्दोलनका क्रममा सप्तरीलगायतका जिल्लाहरुबाट गच्छदारको पार्टीका धेरै नेता कार्यकर्ताहरु राजेन्द्र महतोको सदभावना पार्टीतिर लागिसकेका छन् । सत्तामुखी एवं मुसा प्रवृत्तिका कारण मधेसी समुदायमा गच्छदारमाथि जनताको विश्वास टुटेको छ । सरकारमा पनि नरहने र जनताबाट पनि तिरस्कृत हुने निरीह अवस्थामा पुगेका छन् गच्छदार ।

जतिखेर मधेसमा आन्दोलन चलिरहेको थियो, त्यसबेला गच्छदार केपी ओलीको नेतृत्वमा सरकारमा गए । यदि उनले अन्तिम घडीमा मुसा प्रवृत्ति नदेखाएको भए भविश्यमा उनलाई एमालेले विश्वास गर्ने सम्भावना रहन्थ्यो र भावी दिनमा सरकारमा जाने बाटो बाँकी रहने थियो । तर, अन्तिम घडीमा उनले केपी ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेर एमालेबाट पनि विश्वास गुमाए ।

अब गच्छदार धागो छिनेको चंगाजस्तै बनेका छन् । उनलाई सत्तापक्ष, प्रतिपक्ष कसैले पनि नपत्याउने अवस्था आएको छ । मधेसमा पनि उनको जनाधार कमजोर भएको छ । एकताका मोरङका मधेसवादी नेता बद्री मण्डल सत्तामा चहल-पहल गर्ने नेता मानिन्थे । तर, विस्तारै उनी चुनाव हार्ने स्थितिमा पुगे । अब गच्छदारको नियति पनि त्यस्तै हुन पुगेको छ ।

यद्यपि गच्छदार थारु समुदायको नेता भएकाले गोपाल दहित वा रुक्मिणी चौधरीले जस्तै सानो पार्टीको नेता बनेर बस्ने सम्भावना उनीसँग अझै पनि नसकिएको तर्क केही मधेसी नेताले गर्दै आएका छन् ।

तर, पछिल्लो संविधानसभामा १४ सीटको प्रतिनिधित्व गरिरहेका पावरका भोका गच्छदार रुक्मिणी चौधरीको जस्तो भूमिकामा खुम्चिएर बस्न मान्लान् ? त्यसो गर्नुभन्दा उनी कांग्रेस वा तमलोपामा जान सक्ने धेरैको अनुमान छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई जबसम्म कांग्रेस र मधेसी मोर्चाले सघाउँछ, त्यतिबेलासम्म गच्छदारको १४ भोट बार्गेनिङ चिप्सको रुपमा प्रयोगमा नआउने आँकलन सत्तापक्षले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment