२८ साउन, काठमाडौं । अदालतबाट दोषी ठहर एक लाख २० हजार अपराधी फरार छन् । फैसला कार्यान्वयन कार्यालयका महानिर्देशक महेन्द्र उपाध्यायका अनुसार फरार अभियुक्तसँग एक लाख १० हजार वर्ष कैद तथा करिब ११ अर्ब रुपैयाँ जरिवाना उठाउन बाँकी छ ।
फरार हुनेले अदालतको सेवा नपाउने, तर अन्य सरकारी सेवा र विदेशसमेत जान पाउने भएकाले उनीहरूलाई पक्राउ र कारबाही प्रभावकारी नभएको कार्यालयका अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय जिल्ला–जिल्लामा प्रहरीले फरार अभियुक्तलाई पक्राउको अभियान सुरु गरेको छ । फैसला कार्यान्वयन कार्यालयले कैद तथा जरिवाना बेरुजु रहेका व्यक्तिहरूलाई विद्युत्, खानेपानीजस्तो सुविधासमेत रोकेमा कानुनी शासनलाई बलियो बनाउन सजिलो हुने प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अदालतले सजाय तोकेपछि मिलापत्र अदालतबाट डेढ वर्ष कैद सजायको फैसला सुनाइएका व्यक्तिलाई प्रहरीले पक्राउ गरी मिलापत्र गरेर छाडेको छ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले दोषी ठहर गरेका धरानका शंकर दाहाललाई ललितपुर प्रहरीले एक दिन थुनामा राखी छाडिदिएको हो ।
उनलाई अदालतले डेढ वर्ष कैद र १२ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, पक्राउ परेका दाहाल प्रहरी मध्यस्थतामा पीडित पक्षलाई पैसा बुझाएर मिलापत्र गरी छुटेका हुन् ।
प्रतिक्रिया 4