म म जत्तिकै कमजोर छु
जुम्रा जत्तिको कमजोर त हुन्न
मसँग विचार छ
सय वा लाख साल पैले जन्मेको भए हुन्थ्यो
मभित्र यस्तो सोच पनि नखेल्ने हैन
सय वा लाखै साल सास नफेरी
सास बचत गरेर
सय वा लाख सालपछि ब्युँझिन पाए हुन्थ्यो
यस्तो विचार पनि नआउने हैन
तर वर्तमानमा मौजुद यही एक पल
या एउटै शब्द
खुब बलवान् भैदिँदो रैछ
यो समय निर्धक्क मर्न पाउने समय हैन
चिहानमा सुत्दैमा लास भैहाल्छ र ?
म्होःललाई पनि हर लासको रहस्य खोल्न कठिन हुन्छ
एउटै रहस्य या समस्या लुकाएर नमरुँ म
कीराको हत्या गर्नमा रुचि त्यति हुँदैन
सबभन्दा बढी बाँच्न पर्नेको नै हत्या गरिन्छ
मलाई जो कसैको आँसुले दुखाउँछ
दुख्छ मलाई एक थोपै रगत जो कसैको पनि
म आफैँ मर्नु र मेरो हत्याबीच फरक नहुने समय आइसक्यो
यस्तै-यस्तै धेरै फरकहरु हराउँदै जानेछन्
बाँच्न त अप्ठेरोमै सजिलो हुन्छ अभाव भएरै खोज सबथोकको हुन्छ
जीवन बजारको धारमा छ
निद्रावधि घट्दो छ, रातकै लागि निद्रा नहुँदै छ
भोलि मलाई थोर तर्साई ब्युँझाउन मोबाइलमा अलार्म छोड्नु पर्दैन
के-के र को कतिसित सावधान हुनु छ र म ?
आफ्नै पाइलासँग पनि ?
जो कसैलाई कमजोर बनाइन्छ, आफैँ हुँदैन
एउटा रुखको हाँगा कमजोर हुँदैमा जङ्गल नै कमजोर हुने हो र ?
म अधिकतम कमजोर छु
जुम्रा मार्न सक्छु, ढुङ्गा मार्न सक्दिनँ
म मजत्ति नै बलियो छु
म जत्तिकै हो संसार पनि ।
# म्होःल – गुरुङ भाषामा शवको जिम्मा लिने र चिहान खन्ने प्रमुख व्यक्ति । जो शवभन्दा पैले आफू चिहानभित्र पसेर शवको ओछ्यान मिलाई शवलाई बन्दोबस्त गरी शवघर बनाउँछ ।
प्रतिक्रिया 4