Comments Add Comment

यस्तो छ यसपालिको गाईजात्रे कार्यक्रम

२ भदौ, काठमाडौं । प्रायः हास्य कलाकारहरू बताउँछन्, ‘देशमा नेताहरूको थरीथरी जात्राले जनता बाह्रै मास हाँसिरहेको बेला हामीले के हँसाइराख्नु !’ तर, राजनीतिक परिदृश्यका कारण हाँस्दै रुनुपर्ने स्थितिमा हास्य कलाकारको प्रस्तुतिले केही क्षणका लागि भए पनि राहत दिने गरेको छ ।

Manojत्यसो त इन्टरनेटको चौतारीमा अहिले फेसबुक, ट्विटरदेखि युट्युबमा रहेका हास्यव्यङ्ग्य सामग्री हेरेर दर्शकले जुनसुकै बेला खित्का छाड्न पाउँछन् । तर, वर्ष दिनमा आउने गाईजात्रामा विविध हास्य परिकार एकै थलोमा चाख्ने अवसर मिल्छ ।

गाईजात्राको अवसरमा यसपालि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘तीते जिरे गाईजात्रा महोत्सव २०७३’ हुँदै छ । गाईजात्राको अघिल्लो दिन आजैबाट सुरु हुने कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरूले विविध सामाजिक र राजनीतिक विषयमा मनोरञ्जन पस्किनेछन् । कारोबार मिडियाले आयोजना गरेको कार्यक्रममा नेपाल टेलिभिजनमा हास्य टेलिशृंखलाहरूमा विभिन्न समय देखिँदै आएका कलाकारले हाँसोको वर्षा गराउनेछन् ।

कलाकार दीपकराज गिरीको ‘तीतो सत्य’ समूहले केपी ओली-प्रचण्ड दोहोरी र ‘अस्पताल बिरामी छ’ शीर्षकको प्रहसन प्रस्तुत गर्दै छ । प्रहसनमा स्वास्थ्य क्षेत्रको विकृतिमाथि व्यङ्ग्य गरिएको छ ।

यसपालिको गाईजात्रामा दस वर्षपछि जितु नेपाल र दमन रुपाखेतीको जोडी सँगै देखिनेछ । दुई वर्षअघिसम्म छुट्टै रूपमा ‘झ्याइँकुटी झ्याइँ गाईजात्रा’ कार्यक्रम गर्दै आएका दमन यसपटक तीते जिरे गाईजात्रामै मिसिएका हुन् ।

जितु र दमनले ‘मापसे’ प्रहसन मार्फत मापसेमा कसरी परिन्छ, कसरी छलिन्छ लगायतको विषयमा प्रस्तुति दिंदै छन् । यो प्रहसनमा शिवहरि वैरागी, हिमा कोइराला र निरज नेपालको पनि अभिनय रहेको दमनले अनलाइनखबरलाई जानकारी दिए ।

‘जिरे खुर्सानी’ टेलिश्रृंखलामा ज्वाइँ र जेठान बनेर देखिने शिवहरि पौडेल र किरण केसीको समूहले भने मनोज आचार्य, सुरेन्द्र केसी, सविता गुरुङ लगायत कलाकारहरूको साथमा ‘म्यारिज ब्यूरो’ प्रहसन देखाउँदै छ ।

यसपटक हास्य कलाकार मनोज गजुरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बनेर मञ्चमा देखिँदै छन् । यथार्थमा संसदीय समितिले पटकपटक बोलाउँदा पनि विभिन्न बहानामा अनुपस्थित हुने लोकमान गाईजात्रे कार्यक्रममा भने समितिमा गएर सोधपुछमा सहभागी हुँदै छन् ।

कार्यक्रममा टीका भण्डारी र यमन श्रेष्ठले प्यारोडी गीत प्रस्तुत गर्दै छन् भने कवि शैलेन्द्र सिम्खडाले हास्यव्यङ्ग्य कविता वाचन गर्नेछन् । यस्तै, एउटी नृत्यांगनाको आइटम डान्स पनि हेर्न पाइनेछ । कार्यक्रम गायक तथा हास्यव्यंग्यकार राजा राजेन्ऽले सञ्चालन गर्नेछन् ।

यसअघिका वर्षमा आयोजना भएका गाईजात्रे कार्यक्रममा सहभागी हुँदै आएको ‘मेरी बास्सै’ समूहलाई भने यस पटक देख्न पाइने छैन । धुर्मुस र सुन्तली सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडितका लागि घर बनाउने काममा व्यस्त भएकाले उनीहरूले कार्यक्रममा सहभागी हुन नभ्याउने भएका हुन् ।

महोत्सवमा तीन सय, पाँच सय र एक हजार रुपैयाँ दरका टिकट राखिएको आयोजक संस्थाले जनाएको छ । महोत्सव भदौ १८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment