२ भदौ, काठमाडौं । केही समयअघि औषधि पसलबाटै लागूऔषध कारोबारको रहस्य खुल्दा सबैले जीब्रो टोकेर भने ‘यस्तो पनि हुन्छ ?’ तर, बजारमा मनलाग्दी मौलाएपछि जे पनि हुँदोरहेछ भन्ने थप उदाहरण बनेको छ ललितपुर पुल्चोकको पवित्र फर्मा ।
बुधबार अनुगमनमा गएको सरकारी अनुगमन टोलीले पवित्र फर्माबाट किटनाशक औषधि जफत गर्यो । बेचेर कमाइ हुने भएपछि जहाँ जे पनि मिसाएर राखिदिने मनपरी संस्कारका कारण पवित्र फर्माले औषधि पसलमा कीटनाशक औषधि राखिएको खुल्यो ।
टोलीले तुरुन्तै त्यसलार्इ हटाउन निर्देशन दिएको छ । सोही पसलले औषधिसँगै कस्मेटिक सामग्री पनि बेचिरहेको भेटिएको थियो ।
सरकारले मंगलबारदेखि सुरु गरेको बजार अनुगमनबाट बजारमा व्याप्त यस्तै कालोबजारी, महंगी, हेलचेक्र्याँइ र गुणस्तरहीन सामग्री बिक्री वितरणको अवस्थालाई छर्लंग पारेको छ ।
विभागले गरेको अनुगमनमा नाम चलेका सुपरमार्केटहरुमै मिति गुजि्रएका सामाग्रीहरु भेटिएका छन् । बिगमार्टदेखि भाटभटेनी सपरमार्केट र सेलवेज डिपार्टमेन्टल स्टोरसम्म म्याद नाघेका सामाग्री भेटिएपछि सरकारले अनुगमनलाई अझ तीव्र पार्ने योजना अघि सारेको छ ।
बजारमा निजी क्षेत्रमा व्यवसायीमात्रै नभएर सरकारी संस्थानले पनि उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी उपभोग्य खाद्य पदार्थ विक्री गरेको रहस्य खुलेको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद गुजि्रएर ‘रि-लेभलिङ’ गरिएका पाउडर दूध भेटिएपछि बजारमा कति मनोमानी चलिरहेको छ भन्ने प्रष्ट भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अधिकारीहरु बताउँछन् । अब डिडिसीलाई खाद्य ऐनविपरित कार्य गरेको अभियोगमा कारवाही गर्ने तयारी गरिएको छ ।
अनुगमनमा सामानमा अत्याधिक मूल्य लिएको, मूल्य सूची नराखेको, व्यावसाय दर्ता नगरेको, तराजु र मिटर बिगारेर ठगी गरेको, म्याद नाघेका उपभोग्य बस्तु बेचिरहेको, व्यवसाय दर्ता नै नगरेको लगायतका थुप्रै उपभोक्ता हितविपरितका कार्यहरु भइरहेको भेटिएको छ ।
अनुगमनमा स्वास्थ्य सेवा प्रदान गर्ने निजी संस्थादेखि होटल, पानी उद्योग, मिठाइ, किराना तथा मासु पसलमा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुने किसिमका क्रियाकलापहरु भइरहेको भेटिएको हो । धेरै होटलहरु अत्याधिक फोहोर भेटिएका छन् भने क्लिनिकहरु मापदण्ड नै नपुर्याइ चलिरहेको पनि भेटिएको छ ।
बजार अनुगमनमा दर्जनौं यस्तै उपभोक्ता हितविरुद्धका बदमासीहरु भेटिएका छन् । दर्जनौं फर्महरुमा सरकारले शिलबन्दी गरेको छ । तर, यस्ता काम गर्नेलाई के कारवाही हुन्छ भन्ने टुंगो भने छैन ।
बुधबार भएको अनुगमनमा कहाँ, के भेटियो ?
प्रतिक्रिया 4