+
+

कविता : दसगजामा उभिएर

शकुन्तला जोशी शकुन्तला जोशी
२०७३ भदौ ४ गते ९:१८

कुनै यस्तै हिउँदको रात

तिमी मकलभरि आगोको रापमा सेकिएर

मस्त मधुशालामा डुब्दै गर्दा

मेरी सुत्केरी हजुरआमा – चिसोको स्याँठले डामिँदै

सराप्दै थिइन् प्रकृतिका देवतालाई ।

 

Sakuntala Joshiत्यो एउटै समय थियो

तिम्रा जीबा बडा हाकिममा बढोत्तरी हुँदै गर्दा

मेरा जीबा औलोसँग लडाइँ गर्दै

फाँड्दै थिए खोरिया

तिम्रो लालपुर्जामा सुदूर क्षितिजसम्म फैलिएको

त्यो जिम्मावाल भूमि

तिनकै उम्दा श्रमले सम्याइएका हुन् ।

चिर्दै सम्याउँदै यो धरतीको छाती

मेरा हजुरबाले जवानीका उम्दा रङ यही माटोमा मिसाए ।

चलाउँदा चलाउँदै फरुवा र बेल्चा

मेरा बौवाको शिरको मैलो फेटा

यहीँ कतै खसेको हो ।

 

अनवरत घुमिरहेकै थियो समय

फेरिरहेकै थियो तिमी र तिम्रा मुखौटाहरु

तर कहिल्यै फेरिएनन् हाम्रा फरुवामा नयाँ बिँड ।

कहिल्यै भरिएनन् हाम्रा रित्तो सपनाको भकारी ।

कसम से, खाली भकारीको माथि सुत्दा

आफ्नै जन्नीलाई एक झ्वाँक प्रेमले अङ्गालूँ – त्यो पनि आँट पुगेन कहिल्यै ।

 

काठमाडौं !

मैले गैंती नउचालेको भए

बग्दैन थिए यी नहर र कुलामा पानी

मेरी जन्नीले फरुवा नउठाएको भए

झुल्दैनथे यी फाँटभरि धानका बाला ।

तिमी त मात्र फर्मान जारी गर्छौ काठमाडौं बसेर

कि यसपालीको धानमा फल्नु हुन्न भुस ।

तिमी त शंका मात्र गरिरहन्छौ

कि मैले फलाएको बास्मती चामलमा

यो वर्ष किन कम छ सुगन्ध ?

कि मैले पठाएको दालको रङ किन घुर्मैलो ?

 

तिम्रो आशंका चामल र दालको रङमा हो कि

मेरो अनुहारको रङमा ?

मेरो मिहिनेत र पसिनामा हो कि

मेरो नागरिकतामा ?

सार्दै-सार्दै दसगजाको ढुङ्गो

कोही पस्यो भने तोरीबारी फाँड्न

हात मोल्दै बस्नु, त्यो तिम्रो कमजोरी हो ।

म त गरिरहेकै छु रखवारी यो देशको

पिएर यही धराको पानी

काठमाडौं !

यसरी मेरा पसिना र मेरी जन्नीको रजले सिञ्चित यो जमिनमा

कसरी हुन सक्यो तिम्रो मात्र एकाधिकार ?

 

 

म त भूमिपुत्र हुँ

यो माटोसँग मिल्छ मेरो अनुहारको रङ ।

यहाँको हावासँग घुल्छ मेरो श्वास ।

मेरो पसिनाले बढेका हुन् यी नदीको बहाव ।

मेरो रगतको रङ बोकेर फुलेका छन्

डाँडामाथि रातो गुराँस ।

 

काठमाडौं !

भन त, अब कसरी पखाल्छौ तिमी

माटोबाट मेरो अनुहारसँग

र मलाई गर्छौ देशविहीन ?

मलाई थाहा छ, तिम्रो झेली अनुहारमा

परिवर्तनका कुनै नयाँ लहरहरु कुद्ने छैनन् ।

तिम्रो कागजी किताबमा

मेरा लागि कुनै नयाँ सपनाहरु कोरिने छैनन् ।

त्यसै र त दसगजामा उभिएर

ललकारिरहेछु तिम्रो एकात्मक अस्तित्व ।

 

ए राजधानी,

तिमीले बाध्य पार्‍यो र उठाएँ आज

अस्तित्वको झण्डा

यी चर्का आवाजहरु तब मात्र रोकिएलान्

यी इन्क्लाबी हातहरु तब मात्र थामिएलान्

जब लेखिनेछन् – मेरो हुलिया, मेरो नाम

मेरो इतिहास र मेरो पसिनाको रङ

यो देशको बहीखातामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?