Comments Add Comment

प्रचण्डको भ्रमण तालिका दिल्लीले तय गर्ने कि काठमाडौंले ?

सरकारका प्रवक्ता भन्छन्- विमलेन्द्र 'एम्बासडर एट लार्ज' हुन्

Prachanda(1)७ भदौ, काठमाडौं । परराष्ट्र मामिलाका जानकारहरुका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको तिथिमिति तय गर्ने र कार्यतालिका बनाउने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो । तर, यसपटक दिल्लीबाटै प्रधानमन्त्री प्रचण्डको भ्रमणको मिति र तालिका सार्वजनिक भयो ।

प्रधानमन्त्रीको विशेष दूतका रुपमा दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय अधिकारीहरुसँग कुरा गरेर उतैबाट दुई देशका प्रधानमन्त्रीको वार्ता हुने मिति नै सार्वजनिक गरिदिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय भने यसबारे अझैसम्म बेखबर छ ।

देशको प्रधानमन्त्रीको भ्रमणतालिका अर्को देशबाट तय हुनु नेपालको राष्ट्रिय स्वाभिमान र कुटनीतिका लागि दुर्भाग्यपूर्ण रहेको परराष्ट्रका उच्च अधिकारी तथा विदेश मामिला जानकारहरुले टिप्पणी गरेका छन् । ‘योभन्दा लज्जाको विषय अरु के होला ?’ एक पूर्वपरराष्ट्र सचिवले अनलाइनखबरसँग भने ।

यद्यपि सरकारका एक मन्त्रीले भने उपप्रधानमन्त्री निधी ‘एम्बासडर एट लार्ज’ भएकाले भ्रमणको मिति उनैले तय गर्ने अधिकार रहेको बताएका छन् ।

दिल्ली भ्रमणमा रहेका मन्त्री निधीले प्रधानमन्त्रीको भारत भ्रमण भदौ २९ देखि असोज १ गतेसम्म तय भएको र भदौ ३० गते नेपाल र भारतका प्रधानमन्त्रीबीच द्वीपक्षीय भेटवार्ता हुने दिल्लीबाटै बताएका थिए ।

यो तालिकाबारे प्रधानमन्त्री कार्यालयले अहिलेसम्म औपचारिकरुपमा केही बताएको छैन । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले आफूले सुने पनि आधिकारिकरुपमा खबर नआएको बताए ।

त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि काम भइरहे पनि तिथिमिति भने अझै तय नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले अनलाइनखरसँग भने- ‘प्रधानमन्त्रीज्यूको भ्रमणको वर्कआउट भइरहेको छ, तर टुंगो लागेको छैन ।’

पूर्वपरराष्ट्रमन्त्री भन्छन्-राष्ट्रिय लज्जा !

‘हामीले यो मिति भ्रमणका लागि उपयुक्त हुन्छ भनेर विशेष दूतमार्फत खबर पठाएका हौं-सरकारका प्रवक्ता

भ्रमणका बारेमा काठमाडौंमा सरकारी निकायले काम शुरु नगर्दै दिल्लीमा कसरी भ्रमणको तालिका तय भयो ? यो प्रश्नले उच्च सरकारी अधिकारीहरुलाई आश्चर्यमा पारेको छ । प्रधानमन्त्री कार्यालयमा समेत कसरी भ्रमण तालिका दिल्लीमा बन्यो र उतैबाट सार्वजनिक भयो भन्दै खैलाबैला मच्चिएको छ ।

परपराष्ट्र मामिलाका जानकार मानिने पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले दुई देशका विदेश मन्त्रालय र राजदूतावासहरुको द्वीपक्षीय सल्लाहमा तय हुनुपर्ने प्रधानमन्त्रीको भ्रमण अर्कै देशमा तय हुनु लज्जाजनक रहेको बताए । डा. लोहनीले भने- ‘अहिले दिल्लीमा हाम्रो राजदूत हुनुहुन्न, दुई देशका दूतावासहरुबीच आपसी समझदारीबाट भ्रमणको तालिका तय हुनुपर्ने हो, अहिले मन्त्री उता गएर तय हुनु भनेको लाज ढाक्ने उपाय हो कि ? जे गरे पनि हुन थाल्यो ।’

सरकारको काम गराइको खरो आलोचना गर्ने डा. लोहनी प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनको एक घटक राप्रपाका नेतासमेत हुन् ।
त्यसैगरी विपक्षी दल नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि लोहनीले जस्तै प्रधानमन्त्रीको भ्रमणतालिका दिल्लीले तय गरेको भन्दै आपत्ति जनाएका छन् ।

पाण्डेले अनलाइनखबरसँग भने- ‘हाम्रो देशको प्रधानमन्त्रीको भ्रमणतालिका परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रुपमा नेपाल सरकारबाट तय हुनुपर्नेमा साउथ ब्लकले तय गर्नु भनेको राष्ट्रिय स्वाभिमान समाप्त गर्न लागिएको प्रमाण हो । परराष्ट्र मन्त्रालयलाई थाहै नदिई साउथ ब्लकमा भ्रमणतालिका बन्नुले राष्ट्रघातको गन्ध आइसकेको छ ।’

मन्त्री कार्की भन्छन्- विमलेन्द्र ‘एम्बासडर एट लार्ज’ हुन्

यसैवीच सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले अनलाइनखबरसँग कुरा गर्दै भारत भ्रमणको मिति तोक्ने अधिकार विशेष दूतलाई रहेको स्पष्टीकरण दिएका छन् ।

‘हामीले यो मिति भ्रमणका लागि उपयुक्त हुन्छ भनेर विशेष दूतमार्फत खबर पठाएका हौं,’ मन्त्री कार्कीले अनलाइनखबरसँग भने ।
भारतमा राजदूत नभएको अवस्थामा ‘एम्बासडर एट लार्ज’ का रुपमा पठाइएका प्रधानमन्त्रीका प्रतिनिधि विमलेन्द्र निधीले यो मितिको प्रस्ताव गरेको र उताबाट त्यसमा सहमति जनाइनु कूटनीतिक मामिलामा सामान्य विषय भएको मन्त्री कार्कीले बताए ।

प्रधानमन्त्रीको प्रस्ताव लिएर विदेश गएका ‘एम्बासडर एट लार्ज’ले भ्रमणको मिति तय गर्न सक्ने मन्त्री कार्कीले बताए । विदेशमा पनि कूटनीतिको क्षेत्रमा त्यस्तो प्रचलन रहेको उनले दाबी गरे ।

यसैवीच सत्तारुढ माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने- ‘पूर्वमन्त्रीद्वय डा. लोहनी र पाण्डे कूटनीतिक मामिलाका जानकार होइनन्, त्यसैले उनीहरुलाई यसमा आश्चर्य लाग्नु स्वाभाविकै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment