Comments Add Comment

‘समाजले लेखकको मन बुझ्दैन’

damodar_810साहित्यको कविता र नियात्रा विधामा कलम चलाउने साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ पेशागत रुपमा सरकारी सेवामा आबद्ध छन् । हाल उनी महालेखा परीक्षकको कार्यालयका निर्देशक छन् । कविता र नियात्राका गरी उनका झन्डै एक दर्जन कृति प्रकाशित छन् ।

०७२ सालमा प्रकाशित कृतिहरुमध्ये मदन पुरस्कारको मनोनयनमा उनको ‘सिमानाका रङ्ग, सिमानाका तरङ्ग’ नियात्रा कृति पनि उत्कृष्ट सातमा परेको छ । दार्शनिक कसीमा लेखिएको ‘धर्मको ह्याङओभर’ कृतिमार्फत उनले समाज परिवर्तनको बाटो देखाएका छन् । किशोरसँग उनको लेखन कर्म र साहित्यका विविध सन्दर्भबारे शारदाकुमारी ढुङ्गानाले गरेको कुराकानी :

तपाईं किन लेख्नु हुन्छ ? लेखनपछि कस्तो महसुस गर्नुहुन्छ ?

जीवन र जगत्‌को ज्ञान फराकिलो बनाउन म लेख्ने गर्छु । संसारलाई राम्रोसँग चिन्नु, त्यसका रहस्य अन्वेषण गर्नु र तिनीहरुलाई कलात्मक र रुचिकर ढंगले अरुलाई भन्नु पनि लेखनका उद्देश्य हुन् । मेरो लेखनीले समाजको स्तर उकासिनु पर्छ भन्ने ठान्छु म । राम्रो रचना लेखिसक्दा हर्षका फूलहरु फुल्छन् मेरो मनमा । समाजप्रतिको केही जिम्मेवारी पूरा गरेँ भन्ने पनि लाग्छ ।

जीवन भोगाइ र साहित्य सिर्जनामा लागिरहँदा जीवनको ५३ वसन्त पार गरिसक्नुभएको छ । जीवनमा सोचे अनुसार पाइँदो रहेछ ?

सय वर्षलाई हाम्रो सरदर आयु मानिँदा २५/३० वर्षको उमेरसम्म लेखपढमै बित्छ । अलिकति सक्रिय उमेरमा पेशा-व्यवसायमै बित्ने र ६५/७० को उमेरपछि बुढ्यौलीका असर देखिने हिसाबले सक्रिय भएर नवीन कार्यहरु गर्ने समय मान्छेले कमै मात्र पाउँछ । यति छिटो जीवनमा अलि उल्लेख्य काम गर्न पर्याप्त समय नै पाइँदैन । जीवन हतारमै चलिरहेछ र सबै कुरा हतारमै सम्पन्न गर्नुपर्छ ।

जागिरे जिन्दगीमा व्यस्त भइरहँदा लेख्ने समय मिलाउन कत्तिको गाह्रो हुन्छ ?

जागिर खाउञ्जेल राज्यको काम नै प्राथमिकताका साथ सम्पादन गर्न जरुरी छ । फुर्सद मिल्न गाह्रो हुन्छ । अझ सामाजिक र घरायसी कामले गर्दा सिर्जनाका लागि फुर्सद हत्तपत्त मिल्दैन ।

जसले समाजको कल्याण वा भलो गर्छ, त्यो धर्म हो । सामाजिक उन्नतिको लागि धारण गरिएको कुरा नै धर्म हो । तर, यथार्थमा धर्मले त्यो गर्न सकेको छैन । वास्तवमा धर्म र ईश्वरको कुनै सम्बन्ध नहुने भएकाले ईश्वरको नाम जोडेर धार्मिक र अधार्मिक भन्नु नमिल्दो कुरा हो

लेखन मेरो सोख हो । कुनै रचना गर्न तम्सिँदा त्यही वेलामा कुनै न कुनै काम आइपर्छ । समाजले लेखकको मन बुझ्दैन । ऊ आफू अनुकूल अलमलमा पारिरहन्छ लेखकलाई । लेखकले निद्राबाट समय चोरेर, बिहान-बेलुका सुस्ताउने समय समेत उपयोग गरेर र थोरतिनो समय बचाएर सिर्जना गर्नुपर्छ ।

मदन पुरस्कारले तपाईंको पुस्तक ‘सिमानाका रङ्ग, सिमानाका तरङ्ग’ नियात्रा संग्रहलाई पनि उत्कृष्ट सात कृतिको सूचीमा राखेको छ । सो कृतिले पुरस्कार पाउनुपर्ने के आधार देख्नुहुन्छ ?

मदन पुरस्कार गुठीको मूल्यांकनमा मेरो कृति सर्वश्रेष्ठ कृति घोषित भए पनि नभए पनि  म स्वीकार गर्नेछु । कृतिले पुरस्कार पाउनुपर्ने आधारबारे मैले भन्नुभन्दा पनि मूल्यांकनकर्ता, पाठक र समालोचकहरुले भन्ने कुरा हो । केही समालोचक तथा पाठकले मेरो नियात्रा शैली र विषय विलकुल नवीन भएकोले पुरस्कारको हकदार छ भन्नुभएको छ । यो कुरा मलाई पनि उचित लागेको छ ।

यतिखेर समाजमा नारीवाद निकै प्रचलित शब्द भएको छ । यसबारे समाजमा विभिन्न बहस हुने गरेको छ । नारीवादसँग जोडिएका यस्ता सन्दर्भ तपाईंलाई कस् लाग्छ ?

अचेल नारीवादीको नाममा जे जति चर्चा हुन्छ, त्यो नारीले पुरुषबाट भोग्नुपरेको अन्याय र अत्याचारमा केन्द्रित छ । लैंगिक रुपमा शोषण र अत्याचार गर्नु अपराध हो । तर, नारीवादको नाममा सम्पूर्ण पुरुषलाई शत्रुवत् व्यवहार गर्नु पनि मनासिव होइन ।

नारी र पुरुष एकले अर्कोको सम्मान र सहजीकरण गर्दै सम्भावनातिर अघि बढाउनु आवश्यक छ । वास्तवमा नारीवाद भनिरहन जरुरी पनि छैन । यो भनुञ्जेल लैंगिक रुपमा खाडल रहिरहने डर रहन्छ । नारीले पुरुष बेठीक भन्ने र पुरुषले नारी अस्तित्व र शक्तिलाई नस्वीकार्ने परिवेश रहेसम्म समाज अघि बढ्न सक्दैन ।

तपाईंले लेख्नुभएको ‘धर्मको ह्याङओभर’ पढ्दा समाजमा सबैभन्दा ठूलो विकृति धर्मको नाममा सिर्जना भएको बुझिन्छ । नारी र पुरुषको विभेद पनि धर्मबाटै सुरु भएको हो ?

जसले समाजको कल्याण वा भलो गर्छ, त्यो धर्म हो । सामाजिक उन्नतिको लागि धारण गरिएको कुरा नै धर्म हो । तर, यथार्थमा धर्मले त्यो गर्न सकेको छैन । वास्तवमा धर्म र ईश्वरको कुनै सम्बन्ध नहुने भएकाले ईश्वरको नाम जोडेर धार्मिक र अधार्मिक भन्नु नमिल्दो कुरा हो । काल्पनिक ईश्वर जन्माएर आस र त्रासको भरमा ठगी खाने भाँडो बनाउनु धर्म होइन । समाजलाई सुखी र समृद्ध पार्नका लागि गरिने कार्य नै धर्म हो, त्यस्ता कर्म गर्ने मानिस धार्मिक हुन् । व्यवहारमा खराब काम गर्ने तर पूजापाठ, दान-दक्षिणा गरेर धार्मिक बन्न खोज्नु बेकार हो ।

नारीको शोषण गर्ने काम उसले यो गर्न हुन्छ, यो गर्न हुँदैन भन्ने धार्मिक अनुशासनबाटै सुरु भएको हो । हिन्दु धर्ममा त यो झन् बढी छ । बाल विवाह, अनमेल विवाह, सति प्रथा, छुवाछुत, छाउपडी जस्ता कुरीतिहरु समाजमा धर्मकै आधारमा फैलिएका हुन् । नारीले कथंकदाचित वेद सुनिन् भने काँश पगालेर कानमा हालिदिनू भन्ने धार्मिक उन्मादले पनि यो पुष्टि गर्छ ।

लेखकले सिर्जनामार्फत समाजसँग कसरी संवाद गर्छ ?

लेखकले पहिले आफ्नै लागि लेख्छ, अन्ततोगत्वा उसको लेखनीको उद्देश्य समाजसम्म पुर्‍याउने हो । लेखकले समाज र संसारसँग धेरै कुरा सिक्छ र अरुको लागि बाँड्छ । यसैबाट लेखकको संवाद समाजसँग भइरहेको हुन्छ । लेख्ने समयमा र कल्पनाशीलतामा रङमङिँदा लेखक एकान्तप्रिय बन्छ नै । तर, समाजका कुरा बुझ्न र समाजलाई कुरा बुझाउन लेखक एक्लै बस्नै सक्दैन ।

लेखन कर्म कत्तिको चुनौतीपूर्ण काम हो ? यो पेशा समाजमा किन मर्यादित बन्न नसकेको होला ?

लेखक सधैं जोखिमपूर्ण परिस्थिति, चिन्तनपूर्ण स्थिति, श्रमपूर्ण अवस्था र सचेततापूर्ण जाँगरमा गतिशील हुन्छ । यस्ता जटिलताका कारण लेखन कर्म निकै कठिन पनि हो । तर, जटिलतालाई लेखकले बाध्यता मानेर पन्छाउँदैन, आकर्षक र रुचिकर मानेर स्विकार्छ । किनभने लेखनलाई सोख नै मानेपछि यसका अप्ठेराहरुलाई असहज र अप्रिय मान्ने कुरा पनि भएन ।

लेखक शक्तिको मातमा ढुल्मुलिएका शासक र जनताको काम गर्ने बहानामा जनता ठग्ने प्रशासकसँग पनि डराउँदैन । लेखकमा विश्वचेत हुने भएकाले नयाँ सोच र आविष्कारसँग सदैव नजिक रहन्छ । लेखन पेशा सम्मानित छैन भन्नु सिर्जनाको मर्म बुझ्दै नबुझ्ने अथवा बुझेर पनि बुझपचाउनेहरुको अफवाह मात्र हो ।

जीवन भनेकै रहस्य, सम्भावना र आकस्मिकताको संयोग हो । जीवनमा जतिसुकै मोजमस्ती गर्छु भने पनि दुःख, पीडा र अप्ठ्यारोको सामना सबैले गर्नैपर्छ

तपाईं निकटका मित्रहरु ‘दामोदर कोमलमा नौनीजस्तो र कठोरमा ढुङ्गा जस्तो हो’ भन्दा रहेछन् । तपाईं अलि अराजक किसिमको मान्छे पनि हो ?

मित्रहरुले ठीकै भने । मेरो लागि अनुशासन र स्वतन्त्रता अत्यन्त प्रिय कुरा हुन् । म कसैको अनुशासन भङ्ग गर्ने र स्वतन्त्रतामा दखल दिने काम गर्दिनँ र अरुबाट पनि आफूलाई त्यस्तो नहोस् भन्ने चाहन्छु । मान्छेहरुसँग आत्मीय र शालीन ढङ्गमा व्यवहार गर्छु, तर त्यसलाई कसैले कमजोरी ठान्छ भने मेघ झैं गर्जिन पनि पछि पर्दिनँ ।

रह्यो अराजकताको कुरा, म सिर्जनामा आफैंले नयाँ बाटो बनाउन जुटेको स्रष्टा हुँ । समाजमा युगौंदेखि जाल रचेर अरुलाई फसाउन र फाइदा लिन पल्केका मान्छेहरुको म लेखनी मार्फत उछित्तो काड्छु । अरुसँग ‘जी-हजुरी’ नगरी आफ्ना स्वतन्त्र विचार पस्कनुलाई कतिपयले अराजक ठानेका छन् ।

र्शनमा पनि कलम चलाउनुभएकाले यो प्रश्न – जीवन कसरी बाँच्ने ?

जीवन भनेकै रहस्य, सम्भावना र आकस्मिकताको संयोग हो । जीवनमा जतिसुकै मोजमस्ती गर्छु भने पनि दुःख, पीडा र अप्ठ्यारोको सामना सबैले गर्नैपर्छ । जीवन कठिनाइहरुको शृङ्खला भए पनि त्यस बीचमा पनि आनन्द र उमङ्ग पाउन सकिन्छ ।

त्यसको लागि सकेसम्म बढी लक्ष्यपूर्ण परिश्रम गर्नुपर्छ भन्ने मलाई लाग्छ । श्रमपछिको प्राप्ति असाध्यै मीठो हुन्छ । श्रमपछिको प्राप्तिमा असाध्यै खुशी मनाउँदै जीवनलाई अघि बढाउनुपर्छ । सधैं झोक्राउनु र सधैं निराशा बोकेर जीवन कष्टपूर्ण बनाउनको कुनै अर्थ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment