१७ भदौ, चितवन । चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ ।
राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ । सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो ।
पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयाैं सवारी बीच बाटोमै रोकिएका छन् । पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ ।
यही कालीखोलामा अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ ।