+
+

बदलिँदो तीज: संस्कृति जोगाउने चुनौती

श्रीप्रसाद देवकोटा श्रीप्रसाद देवकोटा
२०७३ भदौ १७ गते १३:१६

हिन्दू नारीहरुले मनाउने हरितालिका तीजको विशिष्ट महिमा छ । तीजमा नारीहरुले खासगरी आफ्नो भोगाइलाई गीतको भाकामार्फत व्यक्त गर्छन् । बिहे भएर पराइघर गएपछि भोग्नुपरेका व्यवहारलाई दिदीबहिनीहरु माइतीमा जम्मा भएर गीतको माध्यमबाट सुनाउने प्रचलन रहिआएको छ । सामान्यतया तीज तीन दिनसम्म मनाउने चलन छ । तीजको अघिल्लो दिन दर खाने, अर्को दिन व्रत बस्ने र त्यसको भोलि वा पर्सिपल्ट पञ्चमी मनाइन्छ ।

पौराणिक कथा अनुसार पार्वतीले महादेवलाई पति पाऊँ भनी निराहार व्रत बसेपछि मनोकामना पूरा भएको धार्मिक विश्वास रहिआएको छ । यही भावना अनुसार हिन्दू नेपाली नारीहरु आफ्नो मनोकांक्षा पूरा हुने अभिलाषामा तीजको व्रत बस्छन् । अविवाहित युवतीहरु योग्य वर पाऊँ भन्ने कामना राखेर व्रत बस्छन् भने  विवाहिताहरू आˆनो पतिको दीर्घायु र सुस्वाथ्यको कामना गर्छन् ।

पहिलेको समयमा तीज विशेष धार्मिक विधिअनुसार मनाइन्थ्यो । त्यतिबेलाका तीजमा गाइने गीतहरुले पनि सबैको मन छुन्थ्यो । गीतहरुले छोराछोरीबीचको विभेद र सामाजिक विसंगतिहरूलाई इंगित गरेको हुन्थ्यो –

छोरालाई दिनदिनै मास्टरको काखमा

हामीलाई दाउरा, घाँस वन पाखामा ।

भाइलाई भने बाबाले कापी-किताब किन्दिने

मलाई भने बाबाले डोको बुन्दिने ।

स्वतन्त्रता र समानताको कुरा नहुने त्यसबेला नारीले चुलाचौकादेखि बाहिर निस्कन समेत पाउँदैन थिए । समाजको संकुचित मान्यता अनुसार घरका बुहारीमाथि सासू, ससुरा, नन्द र आमाजुले अनावश्यक सास्ती दिन्थे । त्यो पीडा र भावना पोख्ने कुनै माध्यम नहुँदा तीजकै बहानामा मनको बह पोख्ने गरिन्थ्यो ।

विकृत बन्दै तीज

आजको दिनसम्म आइपुग्दा पहिलेभन्दा समाजको अवस्था निकै फेरिएको छ । तीज मनाउने प्रचलन पनि हिजोको भन्दा निकै फरक भएको छ । तीज आउनु महिना दिन अघिदेखि नै तीजको कार्यक्रमको निम्ताले इन्टरनेटका सामाजिक सञ्जाल रंगिने गरेको छ । दर खुवाउने नाममा एक महिना अघिदेखि नै समाजमा धाक र आडम्बर प्रदर्शन गर्ने होडबाजी जस्तो देखिन्छ । अर्कातिर, विभिन्न क्लब र राजनीतिक विद्यार्थी संगठनले दर खुवाउने बहानामा चन्दा उठाउने गरेका छन् । विभिन्न पार्टी निकट कर्मचारी संगठनहरुका महिलाहरु आफ्नो राजनीतिक आडम्बर देखाउन कार्यालय नै बन्द गरी पालैपालो तीजका कार्यक्रम गर्दै छन् । यसर्थ, धार्मिक र सांस्कृतिक महत्वभन्दा पनि यो पर्व आडम्बर देखाउने अवसर बन्न थालेको छ ।

हिजोको दिनमा तीजको व्रत बस्ने अघिल्लो रात छोरी-चेलीहरु माइतीघरमा जम्मा भई रातभरि दर (दूधबाट बनेका परिकार) खाने र रमाइलो गर्ने प्रचलन थियो । तर, पछिल्ला वर्षहरूमा दरको ठाउँ मद्यपानले लिन थालेको छ । माइतीघरमा रमाइलो गर्दै खाइने दर पार्टी प्यालेज र होटलमा सरेको छ । मौलिक र वेदनायुक्त तीजे गीतलाई उत्तेजक गीत र डीजेको रिमिक्सले पाखा लगाएको छ । अहिलेका तीजे गीतहरुमा न मौलिकता छ, न त तीजको मर्म नै । रवाफिलो र भड्किलो रुपमा तीज मनाउने फेशन चलिरहँदा संस्कृति जगेर्ना गर्ने चुनौती देखिएको छ ।

समय अनुसार परिवर्तन हरेक चिजमा आवश्यक हुन्छ । तर, यसको अर्थ पर्वको मौलिकता र अस्तित्व नै मेट्ने गरी अराजकता हाबी हुन थाल्यो भने त्यसलाई पाच्य मान्न सकिन्न । नेपाली समाजमा छुट्टै सांस्कृतिक महत्व र गरिमा बोकेको पर्वलाई हुनेखानेहरुले आफ्नो धन र रवाफको प्रदर्शन गर्ने माध्यम बनाएका छन् । पछिल्लो समय समाजमा आफ्नो आर्थिक हैसियत देखाउने पर्वको रुपमा तीज विकसित हुन थालेको छ ।

खासगरी शहरी भेगमा तीज पर्वले विकृतिको रुप लिंदै गएको छ । यसबाट तीज नाममा मात्र सीमित भएर परम्पराको निरन्तरता जस्तो देखिएको छ । यसको खास मूल्य हराउादै गएको छ । आधुनिक महिलाहरु र शहरिया हुनेखानेहरु तडकभडकमा विश्वास गर्छन् । महिलाहरुको बीचमा गहना र महागा साडी किन्नेमा प्रतिष्पर्धा चलेको देखिन्छ । देखासिकी गर्दा महिलाहरु पर्वको नाममा भडि्कलो व्यवहारमा जानीनजानी फसिरहेका छन ।

दुःखको कुरा हो, आफूलाई शिक्षित, जान्नेसुन्ने, समाजसेवी, सचेत मान्ने र समाजले पनि त्यसैगरी हेर्ने गरेका महिलाहरुले पनि तीजलाई भडि्कलो पार्न सघाइरहेका छन् । यस्तै विकृतिको कारण समाजमा भ्रस्टाचार र अपराध मौलाउादै गएको देखिन्छ । दिदी-बहिनीहरुबीच आपसमा सुख-दुःख साटासाट गर्नेभन्दा पनि गरगहना र पहिरनमा होडबाजी गर्ने पर्वको रुपमा तीजलाई लिइनु विडम्बना मान्नुपर्छ ।

अन्त्यमा,

हरितालिका तीज नारी संघर्षको प्रतीक हो । यसलाई बुझेर हाम्रो सांस्कृतिक मूल्य र तिनीहरुको मौलिकता लोप हुन दिनुहुँदैन । हाम्रो संस्कृति आधुनिकताको नाममा भडि्कलो बन्दै छ ।  प्रतिस्पर्धा र देखासिकीले हामी आफ्नै संस्कृति र पहिचानभन्दा टाढा हुँदै छौं । यस पर्वमा हुर्कँदै गरेको भड्किलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उँचो पार्दै लैजानु जरुरी छ ।

सम्पूर्ण दिदीबहिनीलाई तीजको शुभकामना !

लेखकको बारेमा
श्रीप्रसाद देवकोटा

देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?