Comments Add Comment

काठमाडौंमा फेरि देखियो हैजाको संक्रमण

१७ भदौ, काठमाडौं । पछिल्लो दश दिनमा काठमाडौंमा फेरि हैजाको संक्रमण देखिएको छ । काठमाडौंको थानकोटमा आठ र सतुंगलमा सात गरी जम्मा १५ जनामा हैजाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

haijaयसअघि ललितपुुरको बालकुमारी, थैव, हरिसिद्धी, गोदावरी, जावलाखेल, भैसेपाटी लगायतका ठाउँमा हैजाको प्रकोप देखिएको थियो । त्यस्तै गत साता भक्तपुरको काँडाघारीमा पनि एक जनामा यो संक्रमण देखिएको छ ।

‘विगत दुई महिनादेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाको संक्रमण देखिँदै आएको थियो । त्यसमध्य भक्तपुर, काठमाडौंको थानकोट र सतुंगलमा देखिएको नयाँ हो’, इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले अनलाइनखबरसित भने ।

उनका अनुसार पानीकै कारण संक्रमण भएको नपाइएकाले स्वास्थ्य सेवा विभागले अनुसन्धान गरिरहेको छ । काठमाडौंमा दिनभरी घुमेर गुजारा गर्नेको संख्या धेरै भएकाले उनीहरुबाट पनि यसको संक्रमण अरुलाई हुन सक्ने आशंका छ ।

काठमाडौं उपत्यकामा हैजाबाट प्रभावित हुनेको संख्या १३७ पुगेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा मात्र हैजाबाट प्रभावित हुनेको संख्या १९ पुगेको छ । त्यसैगरी, ललितपुरमा एक सय १० मा हैजा देखिनुका साथै भक्तपुरमा एक जनामा यो संक्रमण देखिएको छ । त्यसबाहेक हैजाबाट प्रभावित सात जनाको पहिचान हुन अझै बाँकी रहेको छ ।

यस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुनेमा निम्नवर्गीय परिवार, श्रमिक र केटाकेटी छन् । त्यस्तै, १५ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिस बढी प्रभावित छन् । उनीहरुमा ०१ ओगावा स्टरियोटाइप हैजा देखिएको छ ।

गत वर्ष पनि काठमाडौंका ७६ जना मानिस हैजाबाट प्रभावित बनेका थिए ।

दुषित पानीका कारण सर्छ हैजा

इपिडिमियोलोजी शाखाका अनुसार दिसा मिसिएको पानी अथवा खाना खानाले हैजा लाग्ने गर्छ । हैजा विशेषगरी भिवि्रयो नामक ब्याक्टेरियाका कारण हुने गर्छ । यो संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ ।

दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा विरामीलाई चौलानी जस्तो दिसा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपशी बाउँडिने, मानिस बेहोस हुने, शरीरमा पानीको मात्रा कम हुने र पानी कम भएर मिर्गौला फेल भई मानिस मर्न समेत सक्छ ।

यसबाट बच्न बासी, झिंगा भन्केको, सडे गलेको खानेकुरा नखानु उचित हुन्छ । त्यस्तै, शुद्ध पानी पिउन तथा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । तर नेपालमा भने यस वर्ष हैजाकै कारण कसैले ज्यान गुमाउनु नपरेको इपिडिमियोलोजी शाखाले जनाएको छ ।

अस्पतालमा आएका विरामीले २४ घण्टादेखि ४८ घण्टाभित्र उचित उपचार पाएर फर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment