Comments Add Comment

पैसा भएपनि खर्च गर्ने बानी नहुँदा विकास भएनः अर्थमन्त्री

Pokhara-Fcci

३१ भदौ, पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनतासँग पैसा भएपनि खर्च गर्ने बानी नहुँदा विकासमा बाधा पुगेको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पुँजीगत खर्च नहुँदा अर्थतन्त्र नाजुक भएको बताए । उनले भने,-‘हामीसँग पैसा छ, तर खर्च नगर्ने बानीका कारण विकासमा बाधा पुगेको छ, पँुजीगत खर्च हुन नसक्दा अर्थतन्त्र नाजुक भएको हो ।’ उनले पुँजीगत खर्च बढाउन सकेको खण्डमा आर्थिक बृद्धिदर स्वतः बढ्ने दाबी गरे ।

अर्थमन्त्री महराले कसैले चाहेरपनि अझै २ वर्षसम्म देशको अर्थ ब्यबस्था नियन्त्रण गर्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘युद्ध, आन्दोलन र पछिल्लो क्रममा बढेको स्वेच्छाचारिताका कारण हामीले चाहेर पनि अझै २ वर्षसम्म देशको अर्थ व्यवस्था नियन्त्रण गर्न सक्दैनौं ।’ अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने प्रयास भइरहेको र २ वर्षपछि पूर्ण रुपमा ट्रयाकमा ल्याउन सकिने उनको भनाई छ ।

अर्थमन्त्री महराले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै बन्ने बताए । राष्ट्रिय योजनाभित्र पोखरा विमानस्थलको निर्माण योजना परेको बताउँदै उनले भने,
‘यो निर्धारित मितिमै बन्छ, यसमा कुनै शंका छैन ।’ उनले पोखरा विमानस्थल निर्माण भएसँगै पोखराको विकासको बाटो खुल्ने बताए ।

पोखरामा चक्रपथ बनाउने तथा अन्य बाटाहरु निर्माण पनि सरकारको प्राथमिकतामा परेको अर्थमन्त्रीले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोरकुमार प्रधानले कृषकलाई खेती गर्ने वातावरण सरकारले बनाईदिनुपर्ने धारणा व्यक्त गरे । देशभरिका सुख्खा जमिनलाई सिंचाईको व्यपस्था गरेर खेती गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको लागि शनिबार विहान ८ बजेदेखि अपराहृन ४ बजेसम्म मतदानको समय तोकिएको छ । संघको पदाधिकारीसहित सबै पदमा पहिलोपटक प्रत्यक्ष निर्वाचन हुँदैछ । संघको आगामी कार्यकालका लागि अध्यक्षमा ६ जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षका लागि सञ्चार उद्यमी विश्वशंकर पालिखे, इश्वरप्रसाद कर्माचार्य, देव क्षेत्री, धनीराम बराल, नारायण कोइराला र हीरा भट्टराई चुनावी मैदानमा छन् ।

सघंको बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले र रवीन्द्रबहादुर प्रजुले प्रतिस्पर्धा गर्दैछन् । वाणिज्यतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुवेदी, सुरेश अधिकारी र केदारनाथ भट्टराई चुनावी मैदानमा छन् । उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की, सीता गुरुङ तथा महासचिवमा दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेले प्रतिस्पर्धा गर्दैछन् ।

कोषाध्यक्षमा जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवमा नवीन बराल, अर्जुन पोख्रेल र धर्मराज अर्याल प्रतिस्पर्धामा छन् ।

१० खुला सदस्यका लागि २१ प्रतिस्पर्धामा छन् । खुला सदस्यमा अनील सिग्देल, किसान सुनार, गीता तिवारी गौतम, देवकृष्ण काˆले, प्रेमप्रसाद पौडेल, प्रेमबहादुर भुजेल, पवित्रा गुरुङ, यदुनाथ अधिकारी, सीता बराल, सुरेन्द्रमान बिजुक्छे प्रतिष्पर्धामा छन् । त्यसैगरी हिमालय बख्रेल, गोमा ढकाल, बलराम आचार्य, कुमारी मुना बस्तोला, गिरधारी शर्मा, अर्जुन खनाल, नवराज त्रिपाठी, चीनुकुमारी गुरुङ, हरिराज पन्त र महेश्वर पोख्रेल शिव र कृष्ण रानाभाटले सदस्यमा उम्मेदवारी दिएका छन् ।

कमलबहादुर बस्नेत र नरेन्द्र बास्तोला दुवैजना २ कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् । ४/४ वस्तुगत सदस्यका लागि ८ जना प्रतिस्पर्धामा छन् । गिरधारी अधिकारी, नारायणप्रसाद पौडेल, यमनाथ पौडेल, केपी शर्मा, यमनाथ तिमिल्सिना, तारानाथ ढुंगाना, देवबहादुर भुजेल ‘डिबी’, र माधवप्रसाद पौडेलले प्रतिस्र्धा गर्दैछन् । उद्योगतर्फको १ सदस्यमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन समिति संयोजक श्रेष्ठका अनुसार अध्यक्षले मनोनित गर्ने ४ र निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदाता मध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment