Comments Add Comment

नेपाल मगन्ते देश होइन : प्रधानमन्त्री

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।

तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।

सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’ प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’

विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने ।

सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दुषित पानी,पोषणयुक्त खानाको अभावमा,गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

नेकपा महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको प्रबन्ध भइसकेको जानकारी दिएका छन् ।

तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ । उद्घाटन भएको मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेले बताए । आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन ।

धेरैजसो काम कानुनी प्रकृयाका भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव घिमरेले बताए । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ । संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पुर्वानुमान गरिएको छ ।

डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला ठूला भवन बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment