Comments Add Comment

रानीपोखरीको विवाद उत्कर्षमा, पुनर्निर्माणबाट हात झिक्दै महानगर

लागत एक करोड बढ्ने

New-Ranipokhari
काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी बनाउने रानीपोखरीको नयाँ डिजाइन

२ असोज, काठमाडौं । रानीपोखरी पुनर्निर्माणलाई लिएर पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । योसँगै काठमाडौं महानगरपालिकाले रानीपोखरीको मुख्य संरचनाको पुनर्निर्माणबाट हात झिक्ने तयारी गरेको छ ।

पुरातात्विक महत्वको रानीपोखरीको निर्माण काठमाडौं महानगरपालिकाले लिएर एक ठेकेदार कम्पनीलाई दिएको छ ।

तर, रानीपोखरीभित्रको बालगोपालोश्वर मन्दिर पुनर्निर्माणमा रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) तथा रड र सिमेन्टको प्रयोग गरिएको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिए । लगत्तै पुरातत्व विभागले काम रोक्न पत्र काट्यो भने युनेस्कोले पनि चासो देखाएपछि पुनर्निर्माण काम नै रोकिएको छ ।

काम रोकिएपछि पुरातत्व विभागले पिल्लर हटाएर गाह्रो मात्र रहने गरी नयाँ स्टिमेट र डिजाइन महानगरपालिकालाई पठाएको छ । पुरातत्वले अहिले उठाइएको पिल्लर हटाएर नयाँ संरचना तयार गर्न एक करोडको नयाँ स्टिमेट दिएको छ ।

तर, महानगरपालिकाले यसमा आपत्ति जनाएको छ र निर्माणका लागि आफ्नो विज्ञताले नभ्याउने तर्क गरेको छ । २२ लाख रुपैयाँमा बनेको संरचना हटाउन एक करोडको स्टिमेट बनेपछि महानगरपालिका निर्माणबाटै पछि हट्ने निष्कर्षमा पुगेको हो ।

‘पुरातत्वले भनेको निर्माण पद्धति र स्टिमेटबारे हामी अन्योलमा पर्‍यौं,’ काठमाडौं महानगरपालिका प्रमुख रुद्रसिंह तामाङले भने, ‘विवादमा पररे पुरातात्विक महत्वका सम्पदा बनाउन चहन्नौं । बरु विभागले बनाउँदा लाग्ने रकम दिन तयार छौं । तर, मन्दिर निर्माणमा हामी संलग्न हुने अवस्था अब रहेन ।’

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा मूर्ति राखिसक्ने योजना बनाएको थियो । तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको मन्दिर खुल्ने गर्दछ । दाजुभाइ-दिदीबहिनी नहुनेहरु रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ ।

तिहारअघि नै बनाइ सकेर भाइटिकाको लागि खोलिसक्ने गरी यसको पुनर्निर्माण अघि बढेको थियो । अब यो सम्भव नहुने देखिएको महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।

rani pokhari (2)
पुनर्निर्माण हुँदाहुँदै रोकिएको रानीपोखरी

बाहिरको संरचना आफैं बनाउने प्रस्ताव

रानीपोखरीभित्रको मन्दिर पुनर्निर्माणबाट हात झिकेपनि बाँकी संरचना भने आफैंले बनाउने महानगरको प्रस्ताव छ । यसअघि नै तयार भएको योजना अनुसार मन्दिर बाहेकको संरचना महानगरपालिका बनाउन तयार रहेको तामाङले बताए ।

तर, यसमा पुरातत्व विभाग सहमत छैन । पूर्व सहमति अनुसार सबै संरचना बनाउन तयार नभए महानगरलाई पुनर्निर्माणको काम नदिने पुरातत्व विभाग स्रोतले बताएको छ । यसो भएमा रानीपोखरीको पुनर्निर्माणबाट काठमाडौं महानगरपालिका बाहिरिनेछ ।

ranipokhari-new2१७ औं शताब्दीमा तत्कालीन राजा प्रताप मल्लले काठमाडौंको मुटुमा बनाएको रानीपोखरी २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । यसको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिका हुँदै एक ठेकेदार कम्पनीको हातमा छ ।

तलाउको पर्खालमा सिमेन्ट प्रयोग गर्न दिएको विभागले मन्दिरमा कंक्रिट प्रयोग गर्न रोकेपछि पुरातत्व र महानगरपालिकाबीच असमझदारी बढेको हो । महानगरपालिकाले यसअघि पनि मन्दिरमा सिमेन्ट प्रयोग भएको तर्क गर्दै विभागले तयार गरेको स्वीकृति गरेको डिजाइन र मापदण्डभित्र रहेर काम गरिएको बताएको छ ।

तर, विभाग भने डिजाइनमा मन्दिरका कुनै भागमा कंक्रिट प्रयोग गर्ने योजना नभएको बताउँछ । यही विवादका बीच रोकिएको पुनर्निर्माण सुरु गर्न विभागले नयाँ डिजाइन थमाए पनि महानगर अब विवादित बनेको मन्दिर निर्माणबाट पछि हट्ने भएको छ ।

rani pokhari (1)
डेढ करोड खर्च

रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । हालसम्म एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ ।

१७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोरासहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।

पोखरीलाई पुरातात्विक महत्वको पर्यटकीय पार्कमा रुपमा विकास गर्न महानगरपालिकाले झिलीमिली बनाउने, वाटर फाउन्टेन चलाउने, बगैंचा बनाउने लगायतका योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment