Comments Add Comment

दशैंको टिकट बुक गर्नै सास्ती, पाँच घण्टासम्म लाइनमा (तस्वीरसहित)

विद्यार्थीलाई छुट छैन, लाइन व्यवस्थित भएन

Tickets booking for Dashain_2073 (2)

७ असोज, काठमाडौं । दशैंमा घर जाने टिकटका लागि टिकापुरका रोशन कोइराला बिहान ५ बजे नै लाइनमा आए । उनी आउँदा नयाँ बसपार्कमा टिकट काट्नेहरुको लामो लाइन लागिसकेको थियो ।

बिहान १० बजे बल्ल तल्ल टिकट काटेर उनी निस्किए । पाँच घण्टा लाइनमा उभिएर टिकट लिएपछि सन्तुष्टीको सास फेर्दै उनले भने, ‘दशैंका लागि अगि्रम टिकट हात पार्नु एउटा युद्ध जित्नु जस्तै हुन्छ ।’

अघिल्ला वर्षहरुमा पनि यसैगरी लाइनबाटै टिकट लिन्थे । यो वर्ष भने केही सहज हुन्छ कि भन्ने लागेको थियो उनलाई । तर, कोइरालाले यसपाली पनि झण्डै ५ घण्टा लाइनमा बस्नै पर्‍यो ।

अब्यवस्थित लाइन

हरेक वर्ष दशैंको अग्रिम टिकट बुकिङ खुले पनि टिकट बिक्री वितरणको काम भने निकै अव्यवस्थित देखिन्छ जसका कारण यात्रुहरु सास्ती खेप्न बाध्य छन् ।

‘काउन्टरहरु धेरै भएको भए लामो लाइनमा बस्नु पर्दैनथ्यो, टिकट खुलेको मात्रै हो । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने कसैलाई लागेकै रहनेछ,’ रोशन कोइरालाले भने ।

उनले भनेजस्तै नयाँ बसपार्कमा लागेको टिकट काट्नेको लाइन पटक्कै व्यवस्थित देखिँदैन ।

Tickets booking for Dashain_2073 (1)

नयाँ बसपार्क मात्रै होइन, कोटेश्वर, कलंकी, गौशाला, पुरानोबसपार्क लगायतका स्थानमा अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरु लाइन व्यवस्थित नगरिँदा समस्यामा छन् । घाममा लाइन बस्नेहरु घण्टौं उभिनुपरेको गुनासो गर्छन् ।

ट्राफिक प्रहरीकाअनुसार बिहान ३ बजे नै यात्रुहरु टिकटका लागि लाइनमा थिए ।

सुर्खेतको टिकट काट्न लाइनमा उभिएका सरोज रोका भन्छन्, ‘जेका लागि पनि लाइनमा बस्ने बानी नै लागिसक्यो । तर, प्रहरीले चासो नदिँदा बीच-बीचबाट आएर छिर्नेहरुले हैरान पारिसके । हामी अघि सर्नै पाएका छैनौं । अरु जे-जे भएपनि प्रहरीले लाइन मिलाउने काम त राम्रोसँग गर्न सक्थ्यो होला ।’

कर्मचारी कम

Tickets booking for Dashain_2073 (4)

बस ब्यावसायी समितिले पनि काउन्टरमा पर्याप्त कर्मचारी राखेका छैनन् । एकजनालाई टिकट काट्न नै ५-१० मिनेटभन्दा बढी लाग्ने कारण काउन्टरको भीड घट्नै नसकेको देखिएको छ ।

काउन्टरमा रहेका कर्मचारी पनि समय-समयमा हराउँदा लाइनमा बस्नेहरुले सास्ती भोगेको देखिन्छ ।

विशेषलाई लाइन छैन

टिकट काउन्टरमा महिला र अशक्त, अपांग तथा जेष्ठ नागरिकका लागि पनि छुट्टै लाइन राखिएको छैन । महिला र पुरुषको छुट्टाछुट्टै लाइन नहुँदा महिलाहरुले समस्या भोगिरहेका छन् ।

प्रहरीले त्यसमा सहजीकरण गर्नुपर्ने देखिएको छ । सबै काउन्टर आसपास ट्राफिक प्रहरीले भाडादरसहित हेल्प डेस्क खडा गरेको छ । तर, लाइन व्यवस्थित बनाउने भूमिका उनीहरुबाट भएको देखिएन ।

Traffic Help Desk for Dashain_2073

बझाङ जानका लागि टिकट काट्न लाइनमा बसेकी सुनिता कालाखेती भन्छिन्, ‘पुरुषहरुको बीचमा भीडमा उभिँदा साह्रै असहज भइरहेको छ । बेलमा-बेलामा अगाडि पछाडिबाट त्यसै घचेट्छन् । टिकट नै नकाटी फर्किउँ कि जस्तो भइसक्यो ।’

उनले भनेजस्तै धेरै महिलाहरु लाइनमा अप्ठेरोसँग उँभिरहेका देखिन्छन् ।

विद्यार्थी छुट छैन

अग्रिम टिकट काट्दा कुनै बस व्यावसायी समितिले विद्यार्थी छुटको कार्यान्वयन गरेका छैनन् । नेपालगञ्जका लागि टिकट काटेका सुदर्शन थारु विद्यार्थीलाई दिइने छुट नदिएकोमा आक्रोशित देखिए ।

Tickets booking for Dashain_2073 (6)

‘यो छुट दशैंका बेलामा नदिने भनेर कतै सुनिएको छैन । राज्यले निर्णय गरेर खुलेको अग्रिम टिकट बुकिङमा विद्यार्थीका लागि छुट नदिनुपर्ने किन ?’ उनले भने, ‘प्रहरीलाई भन्दा पनि सुनेनन् । दशैं उनीहरुको कमाउने बेला होला । तर, खुलेआम ठग्न त दिन भएन नि ।’

महाकाली बस व्यावसायी समितिका कर्मचारी दुईवटा सिट मात्रै विद्यार्थीका लागि राखिएको बताउँछन् । त्यो पनि बस चढ्ने दिन नै तोकेर भाडा फिर्ता दिने उनीहरुको दावी छ ।

अहिले सार्वजनिक सवारीमा चढ्ने विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने ब्यवस्था छ ।

असोज ११ देखि २२ गतेसम्म दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ भइरहेको छ । नयाँबसपार्कस्थित अग्रिम टिकट बुकिङ काउन्टरमा देखिएका थप दृश्य यस्ता छन् ।

Tickets booking for Dashain_2073 (5)

Tickets booking for Dashain_2073 (8)

Tickets booking for Dashain_2073 (3)
Tickets booking for Dashain_2073 (9)

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment