Comments Add Comment

रेडियोमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

७ असोज, काठमाडौं । धादिङस्थित सामुदायिक रेडियो ‘रेडियो धादिङ’ १०६ मेगाहर्ज र त्यहाँ कार्यरत श्रमजीवी सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको छ ।

‘सामुदायिक रेडियो बचाउ अभियान’को संयोजनमा माइतीघर मण्डलामा सञ्चारकर्मीले एक घन्टा टाउकोमा कालोपट्टी बाँधी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराव)का अध्यक्ष मोहन चापागाईंले राज्यले रेडियोलाई संरक्षण गर्नुको सट्टा आक्रमण गरेर प्रेस स्वतन्त्रता उल्लङ्घन गरेको बताए ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले रेडियोमाथि सरकारले आक्रमण गरेर प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप गरेको धारणा राखे । विश्व सामुदायिक रेडियो प्रसारण सङ्घका सहअध्यक्ष मीनबहादुर शाहीले आमसञ्चार माथि निरङ्कुश शासनकालमा पनि आक्रमण नभएको अवस्थामा अहिले गणतान्त्रिक सरकारले आक्रमण गरेर प्रेस स्वतन्त्रताको खिल्ली उडाएको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल सञ्चार सहकारी सङ्घका अध्यक्ष विष्णुहरि ढकाल, मानवअधिकारकर्मी सुबोध प्याकुरेल, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईलगायतले रातारात सञ्चारकर्मीलाई थुनेर रेडियोमाथि आक्रमण गर्नु प्रेस स्वतन्त्रता र मानवअधिकारको उल्लङ्घन गरेको बताउँदै दोषीलाई कारबाही गर्न माग गरे ।

बिहीबार राति रेडियो धादिङको प्रसारण केन्द्रको भवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जिल्ला वन कार्यालयको निर्देशनमा डोजर लगाई भत्काइएको थियो ।

रेडियो धादिङमा आक्रमणको एमालेबाट विरोध

यस्तै नेकपा एमालेले रेडियो धादिङ एफएम १०६ मेगाहर्जको कार्यालयमा गएराति सुरक्षाकर्मीबाट आक्रमण भएकामा आपत्ति जनाएको छ ।

स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा नीलकण्ठ नगरपालिका–८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र जिल्लास्थित अधिकारीको पूर्वाग्रह झल्किएको र कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा रेडियोका सामग्रीसमेत बाहिर निकाल्न नदिएर कर्मचारीलाई आतङ्कित पारिएबाट स्वतन्त्र सञ्चारमाध्यम बन्द गर्ने मनसाय देखिएको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment