१२ असोज, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतलाई कडा चेतावनी दिँदै भनेका छन् कि पाकिस्तानलाई नेपाल वा भुटान जस्तो कमजोर नठानियोस् ।
भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको बताएका छन् र भनेका छन्, ‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ती भारतले नगरोस् ।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बदनाम गराइरहेको पनि बताए । सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणामा प्रतिक्रिया दिँदै मुशर्रफले भनेका छन्, ‘आफूलाई मन लाग्दा मोदी पाकिस्तानमा आउँछन् । एकातर्फ नवाज शरीफलाई जन्मदिनको शुभकामना दिन आउँछन् अर्कोतर्फ पाकिस्तानलाई दुनियाँभर बदनाम गराउँछन् । जन्मदिनमा बधाइ दिन पुग्नु सधैं काम लाग्दैन ।’
मुशर्रफले भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न चाहँदैन भन्दै मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’
आफूले भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मनमोहन सिंहसँग मिलेर कश्मीर मुद्दा मिलाउन खोजेको मुशर्रफले बताएका छन् । तर, भारतले इच्छा नदेखाएको उनको भनाइ छ ।
मुशर्रफले भनेका छन्, ‘भारत ठूलो देश हो तर, यसको चित्त सानो छ ।’
प्रतिक्रिया 4