Comments Add Comment

उपेन्द्र यादवको पार्टीमा बाहुनको सीट खाली !

'मधेसी दल'को ट्याग हटेन, जनजाति नेता छाँयामा

Upendra-Yadav-and-Ashok-Rai१४ असोज, काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरममा यतिबेला अध्यक्ष यादवको जति चर्चा छ, बरिष्ट नेता अशोक राईको त्यति धेरै चर्चा हुने गरेको छैन । राजनीतिक इतिहास हेर्दा उपेन्द्रभन्दा अशोक धेरै सिनियर नेता हुन् ।

संघीय समाजवादी पार्टीभित्र अशोक राई छायाँमा परेका हुन् ? किन यतिबेला उपेन्द्रमात्रै हावी भइरहेका छन् पार्टीमा ? यस्तो प्रश्न गर्दा संघीय समाजवादीका एक केन्द्रीय सदस्य भन्छन्- अशोक राई पहिले एमालेमा हुँदा पनि यस्तै ‘रिजर्भ’मा बस्ने नेता हुन् । अहिले पनि उनी त्यस्तै पाराले अघि बढिरहेका छन् ।

यद्यपि पार्टीमा उपेन्द्रं र अशोक राईवीच कुनै असमझदारी नरहेको र पार्टीका जुनसुकै निर्णयमा उनीहरुवीच सरसल्लाह हुने गरेको ती नेताको दाबी छ ।

एमालेबाट फुटेर बनेको अशोक राईको पार्टी र उपेन्द्र यादवको फोरमवीच पार्टी एकता भएपछि  संघीय समाजवादीमा यतिबेला पहाडे जनजाति र मधेसी नेताहरुको संख्या बढेको छ । तर, यो पार्टीलाई मानिसहरुले अझै पनि मधेसवादी वा  मधेसकेन्द्रित दल नै ठान्ने गरेका छन् ।

अझ मधेसकै कतिपय नेताहरु चाँहि उपेन्द्र यादवको पार्टीलाई ‘यादवको पार्टी’ भन्न रुचाउँछन् । २ नम्बर प्रदेशका ८ जिल्लामा र भोजपुरमा समेत यादवलाई नै जिल्ला अध्यक्ष बनाइएको गुनासो मधेसीहरुको छ ।

तर, संघीय समाजजवादीका पहाडे नेताचाँहि यो आरोपलाई मान्न तयार छैनन् । एक नेताले अनलाइनखबरसँग भने-‘संघीय समाजवादी फोरमलाई मधेसी दलका रुपमा हेर्नु गलत छ । बरिष्ठ नेता अशोक राईमात्रै होइन, महासचिव राजेन्द्र श्रेष्ठदेखि लिएर रकम चेम्जोङ, अजम्बर कामवाङ, ध्यानबहादुर राई लगायतका पहाडे जनजाति नेताहरुको ठूलो टीम फोरमको नेतृत्वमा छ ।

यद्यपि फोरमभित्र रहेका राई लिम्बु नेताहरुले सक्रिय भूमिका खेल्न नसकेका कारण यो पार्टीलाई अझै पनि मानिसहरुले मधेसी दलका रुपमा हेर्दै आएका छन् । विगतमा मधेस आन्दोलन भएको र पार्टीले त्यसमा अग्रणी भूमिका खेलेको हुनाले पनि यो पार्टीमा मधेसी ‘लिगेसी’ बढ्ता देखिएको नेताहरुको तर्क छ ।

त्यसो त पार्टीभित्रका केही नेताहरु चाँहि पहाड र मधेसवीचको एकता जम्न नसकेको बताउँछन् । मधेसीसँग मिलेकोमा पहाडमा र पहाडेसम्ग मिलेकोमा मधेसमा केही असन्तुष्टि रहेको उनीहरुको बुझाइ छ ।

तर, संघीय समाजजादी पार्टीमा खस पहाडे बाहुनको चाँहि नेतृत्व अभाव रहेको नेताहरुले स्वीकार गरेका छन् । फोरमका एक नेताले अनलाइनखबरसँग भने- हाम्रो पार्टीमा बाहुनका लागि चाँहि सीट खाली छ । पहाडे बाहुनहरु नेतृत्वमा खासै आउन सकेका छैनन् । हामीले खसहरु लाई पनि समेटेका त छौं, तर बाहुनको आकर्षण अझैसम्म पार्टीमा हुन सकेको छैन । बाहुन पनि आए भने तीनवटै क्लष्टर मिल्छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment