+
+

भूकम्प पीडितको पिरलोः घर बनाउन पाएको पैसा दशैं खर्चमै सक्किने भो !

 नवराज पथिक नवराज पथिक
२०७३ असोज १६ गते १८:४०

Ramechap-Earth-Quack-victim

१६ असोज, रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका होलान् भनेर दर्नालले स्वागत गरे । तर, उनीहरुले पोल्टाबाट पैसाको मुठा निकालेर दिँदै भने, ‘लौ न बाबु, हाम्रो यो पैसा जोगाइदिनु पर्‍यो !’

चालीस हजार रुपैयाँको बिटो राखिदिन उनीहरुले दर्नाललाई अनुनय गरे । दर्नाल अन्योलमा परे । मन्थली नगरपालिका सालुका ती दम्पतीले बिन्ती गरे, ‘भूकम्पले भत्काएको घर बनाउन आज ५० हजार रुपैयाँ झिकेको । गाउँका मान्छेसँग बसेर खानपिन गर्दागर्दैर् १० हजार रुपैयाँ त सक्किइहाल्यो । अब नजोगाउने हो भने यो पैसा पनि सकिने भो । यो ४० हजार रुपैयाँ बाबुले राखिदिनुपर्‍यो !’

दर्नाल पैसा राख्न अस्वीकार गरिरहेका थिए भने उनीहरु पैसा राखिदिन बिन्तीभाउ गरिरहेका थिए । त्यही बीचमा सो सुन पसल रहेको घरका घरबेटी एवं आईएमईका सञ्चालक सुरेश उदास आइपुगे । उनीहरुलाई चिनेपछि उदासले ४० हजार रुपैयाँ राख्न दिएको कागज बनाएर पैसा राखी उनीहरुलाई घर पठाइदिए ।

सरकारले दिएको पैसा आउजाउमै ठिक्क

भूकम्प पीडितहरुलाई घर बनाउन सरकारले पहिलो किस्ताको रकम ५० हजार रुपैयाँ बैंक मार्फत दिने निर्णय गरेपछि सदरमुकाममा बैंकहरुमा दैनिक घुइँचो लाग्न थालेको छ । दिनभरि भोकभोकै लाइन लागेर पैसा झिकेपछि त्यो पैसा रामरमाइलोमा खर्च गर्नेको संख्या बढेको छ ।

पैसा झिक्न आउनेहरुको खर्चको कारण यतिबेला मन्थली बजारका साथै जिल्लाका विभिन्न बजार तथा यातायात व्यवसायीमा उत्साह देखिएको छ । तर, बैंकबाट किस्ता रकम झिक्न विभिन्न ठाउँबाट सदरमुकाम आउनेहरूको सास्तीको कथा छुट्टै छ ।

टोकरपुर गाविसको वडा नम्बर ५ बाट बैंकमा रकम झिक्न आठ जनाले २० हजार रुपैयाँमा गाडी रिजर्भ गरी मन्थली आइपुगे । ‘२० हजारमा गाडी ल्याउँदा आठ जनाको दरले २ हजार ५ सय त यसमै गइहाल्यो । बीचमा खान, बस्न अरु त्यति नै खर्च भयो । यसरी हिसाब गर्दा एउटा घरको कम्तीमा पाँच हजार रुपैयाँ खर्च भएको छ’, टोकरपुर गाविस- ५ का पे्रमबहादुर थापा मगरले बताए ।

सरकारले पायक पर्ने स्थानमा किस्ता रकम उपलब्ध नगराउँदा भूकम्प पीडितको खर्च र सास्ती निकै बढेको छ । सास्ती पाएको झोंक र दशैंको बहानामा कतिपयले मस्ती पनि गरेका छन् ।

५० हजार रुपैयाँ लिन गाउँबाट सदरमुकामको बैंकमा मानिसहरुको भीड एकैचोटि जम्मा हुँदा बिहानदेखि साँझसम्मै उनीहरु लाइन बस्न बाध्य छन् । ‘बैंकका कर्मचारीहरु गाउँहरूमा गएर प्रहरी चौकी भएका ठाउँमा रकम वितरण गरेको भए पनि सर्वसाधारणले यत्तिको दुःख पाउने थिएनन् । पैसा लिन नागरिकहरुले निकै दुःख खेप्नुपर्‍यो’, दोरम्बा गाविसका सचिव रामहरि अधिकारीले बताए ।

घर बनाउने खर्चले दशैं खर्च, नक्कली पीडितले समेत पैसा बुझे

दशैंको मुखमा सदरमुकाम झरेका भूकम्प पीडितहरुमध्ये धेरैले त्यो रकमबाट दशैंको किनमेल गरेका छन् । ‘घर बनाउने भनेको त्यस्तै उस्तै हो, दशैँको मुखमा राज्यले पैसा दिएपछि यो वर्षको दशैँ भने सबैको रमाइलो हुने भो’, दोरम्बा गाविसका मिनबहादुर तामाङले बताए ।

यो लहरमा नक्कली पीडितहरुले पनि फाइदा लिएका छन् । गाउँमा घरै नभए पनि पीडितको सूचीमा नाम दर्ता गराउन सफल हुने कतिपयले काठमाडौंबाट सदरमुकाम पुगेर पैसा झिक्नासाथै काठमाडौं र्फकने गरेको पनि पाइएको छ ।

‘वषर्ाैंदेखि गाउँमा नबसेका र गाउँमा घर नै नभएकाहरुले हाम्रै आँखै अगाडि पैसा झिकेर लगे,’ दोरम्बा गाविस-६ का उद्धव कँडेलले भने, ‘गाउँका मानिसले लिएको कुराको कसरी विरोध गर्नु ? वित्थैमा शत्रु बनिन्छ । गाउँमा घर भएकामध्ये पनि एकै परिवारमा बस्ने कतिपयले अलग बसेको विवरण भरेर छुट्टाछुट्टै रकम लिएका छन् ।

भूकम्प गएको डेढ वर्ष बितिसक्यो । यस अवधिमा सरकारले आवास निर्माणको रकम दिन ढिलाइ गर्दा अधिकांशले घर बनाएका छैनन् । केहीले आफैनै हिसाबले घर बनाए पनि ती घरहरु प्राविधिकले पास गर्छन्, गर्दैनन् भन्ने यकिन छैन ।

सरकारले सार्वजनिक गरेको भवनहरुको मोडल गाउँका लागि अनुपयुक्त भएको पीडितहरु बताउँछन् । पहिलो किस्ताको रकम झिकेर दशैँ मनाउनेले फेरि खर्च जुटाएर सरकारी मापदण्ड अनुसारको घर बनाउलान्-नबनाउँलान्, निश्चित छैन । यस्तो अवस्थामा दोस्रो किस्ता रकम लिनेहरुको संख्या ३० देखि ४० प्रतिशतसम्म घट्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?