+
+

करोडौं कमाउने बैंकरले दशैंमा कति दक्षिणा दिन्छन् ?

यस्तो छ बैंकरहरुको दशैं प्रचलन

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २५ गते ७:३३

२५, असोज, काठमाडौं । जागिर खाएर कसैले धेरै पैसा कमाउँछ भने त्यो हो बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ । किनभने संसारभर सबैभन्दा बढी तलब बैंकका सीइओकै हुन्छ ।

बैंकरहरुले अर्बौं रकमको व्यवस्थापन गर्छन् । बैंकरहरु मध्ये पनि सबैभन्दा धेरै तलब खानेमा पर्छन् शशिन जोशी । उनी हाल नविल बैंकको सीइओ छन् । उनले गत वर्ष बैंकबाट पारिश्रमिक बापत २ करोडको हाराहारीमा रकम लिएका छन् । अन्य बैंकरहरुले पनि एक करोड देखि २ करोड रुपैयाँसम्म तलब/भत्ता लिँदै आएका छन् ।

यतिधेरै तलब/भत्ता खाने मान्छेले दशैंमा टीका लगाएर आफन्तलाई कति दक्षिणा देलान् त ? यो चासोको विषय हो । हामीले केही बैंकरहरुलाई सोधका छौं-

 

बच्चाहरुलाई थपी थपी दक्षिणा दिन्छु

उपेन्द्र पौडेल

सीइओ, एनएमबी बैंक

CEO-NMB-BANK-POUDEL-3

मैले दशैंमा सबैभन्दा बढी १००० रुपैयाँसम्म दक्षिणा दिएको छु । त्यो पनि ज्वाइँ-चेलालाई नै हो । दशैंमा मेरो २० हजार जति दक्षिणामा खर्च हुन्छ । मैले सबैभन्दा बढी दक्षिणा २००० हजार रुपैयाँसम्म पाएको छु भने कममा ५ रुपैयाँ पाएको छु ।

दशैंमा दक्षिणाभन्दा ठूलो कुरा आशिर्वाद हो  । बरु बच्चाहरुलाई चाहीँ दक्षिणा पटक पटक थपेर दिने गरेको छु । यो दशैंमा मेरो खासै केही योजना छैन । काठमाडौंका देवी मन्दिरहरु गइन्छ । त्यसपछि घरमा बस्ने र साथीहरुकोमा जाने नै हो ।

म दशैंमा मात्रै तास खेल्छु । त्यो पनि केही घण्टा । २/४ हजार रुपैयाँसम्म जितेको छु । प्रायः म हार्छु । दशैंमा ४/५ हजारसम्म हारेको छु । बच्चाकालका साथीहरुसँग खेलिन्छ । दुबै बच्चाहरु बाहिर छन् । बच्चाहरु यहीँ भइदिएका भए सपिङ गइन्थ्यो । तर, अहिले त्यो अवसर छैन ।

 

दक्षिणामा १ लाख खर्च हुन्छ

किशोर महर्जन

सीइओ, सिभिल बैंक

kishor-marjan

दशैंमा आफन्तलाई टीका लगाएर दक्षिणा दिँदा वर्षेनी मेरो १ लाख रुपैयाँको हाराहारीमा खर्च हुन्छ । किनभने मैले टीका लगाइदिने आफन्तहरु धेरै छन् । दक्षिणा व्यक्तिगतरुपमा फरक-फरक दिइन्छ । सामान्यतया मैले ज्वाइँ-चेलालाई बढी दक्षिणा २१ सय रुपैयाँसम्म दिएको छु ।

म आफूले चाहिँ सबैभन्दा धेरै ११ सय रुपैयाँ दक्षिणा पाएको छु । त्यो पनि ससुरालीबाट । बैंकर ज्वाइँलाई के धेरै दक्षिणा दिनु भनेर थोरै दिएका होलान् । सबैभन्दा थोरै पाएको चाहिँ जिजुबुबा/जिजुमुमाहरुबाट हो । उहाँहरुले प्राय ५१ रुपैयाँ दिनुहुन्छ ।

पाहोर साल मेरो ममी बितेर टीका थिएन । यो साल पनि नजिकको काका वितेका कारण दशैं छैन । कात्तिक १ गते सिभिल बैंक र आइएलएफसीसँग मर्जर छ । त्यसैले दशैंभर बैंककै काम गरेर बिताउँछु ।

सामान्यतया म पिउने नै मान्छे हुँ ।  तर, दशैंमा आफ्नो ड्राइभर नहुने भएकाले मापसेमा परिन्छ । र, दशैंभर मदिरा खाइँदैन । दशैंमा साँझपख अलिअलि तास खेलिन्छ । म म्यारिज खेल्छु । दशैंमा तासमा प्राय म हार्छु । ३५/४० हजार रुपैयाँसम्म हारेको छु । र, बढीमा ३०/३५ हजार रुपैयाँसम्म मारेको छु । सामान्यता हरेक दशैंमा १ लाख रुपैयाँसम्म घाटामा हुन्छ ।

 

मेरा ससुरालीले त १० रुपैयाँ दक्षिणा दिन्छन्

ज्ञानेन्द्र ढुंगाना

सीइओ, एनबी बैंक

दक्षिणा दिएर कहिल्यै कोही गरिब हुँदैन । र, दक्षिणा पाएर पन किोही धनी हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले दशैंको दक्षिणालाई आशिर्वादका रुपमा लिनुपर्छ । बुबाको पालामा त, उहाँले आफ्नो इच्छाअनुसार फरक फरक दरले दक्षिणा दिनुहुन्थ्यो ।

हाम्रो त दक्षिणाको रेट नै छ १०० रुपैयाँ । मैले अहिलेसम्म १०० रुपैयाँभन्दा कम र धेरै दक्षिणा दिएको छैन । मेरा ससुरालीले त मलाई अहिले पनि दक्षिणामा १० रुपैयाँ दिन्छन् । दशैं दक्षिणाका लागि नभई आशिर्वादका लागि हो ।

यो वर्षको दशैं तेह्रथुममा रहेका आफ्नो पुख्र्यौली घरमा मनाउँदैछु । पुराना साथीभाइसँग भेटघाट गर्ने, तास खेल्ने, एक/दुई पेग हृवीस्की लगाउने । यही त हो नि दशैं भनेको छ ।


खामै नखोली श्रीमतीलाई दिन्छु

भुवन दाहाल

सीइओ, सानिमा बैंक

मेरा घरमा बुबा-आमा हुनुहुन्छ । त्यसैले टीका लगाएर उहाँहरुले नै दिनुहुन्छ । म बुबाआमालाई ३०/४० हजार रुपैयाँ दिन्छु । म दारु पनि खासै नखाने र माछा मासुपनि नखाने मजस्तालाई दशैं खाली भेटघाट मात्रै हुँदोरहेछ । म आफुले चाहिँ १०००/१५०० जति दक्षिणा पाउँछु होला । खामै नखोली श्रीमतीलाई दिन्छु । कति हुन्छ भनेर म हेर्दै हेर्दिँन ।

योसाल चाँहि खाम खोलेरै हेर्छु

उमेसिंह भण्डारी

सीइओ, काष्ठमण्डप डेभलपमेन्ट बैंक

मैले त टीका लगाइदिनुपर्दैन, बुबाआमाले हेर्नुहुन्छ । मैले दक्षिणा दिने पालै आउँदैनन् । मैलेचाहिँ बढीमा १००० रुपैयाँसम्म दक्षिणा पाएको हुँला । खामचाहिँ श्रीमती र केटाकेटीले खोल्छन् । मलाई त यादै भएन । यसपालि चैं खाम खोलेर हेर्छु ।

आफुले कमाउने भएर पनि होला, कसले कसले के दियो भन्ने ? प्रत्येक वर्ष गाउँ जान्थेँ । तर, यो वर्ष चाहिँ यतै मनाउँदैछु ।

दक्षिणा आउनेवित्तिकै श्रीमतिलाई दिइहाल्छु

बुद्धि मल्ल

डेपुटी सीइओ, ओम डेभलपमेन्ट बैंक

दशैंमा दक्षिणाभन्दा ठूलो कुरा आशिर्वाद हो । कुल दक्षिणामा ३० हजार रुपैयाँ जति खर्च हुन्छ । मैले सबैभन्दा धेरै हजार रुपैयाँ दिएको छु । दिदी भिनाजुलाई दिएको छु । आफूले चाहीँ ससुरालीबाट १५ सय रुपैयाँ पाएको छु । दक्षिणा आउने वित्तिकै श्रीमतीलाई दिइहाल्छु ।

म खासै रक्सी खादिनँ । छोएको जम्मा ४ वर्ष भयो । ३६ वर्षको उसमेरमा पहिलोपटक छोएको हुँ । अहिलेसम्म जम्मा २४ पेग खाएको छु । टीका लगाउने, घुम्ने र २/४ वटा किताब पढेर दशैं मनाउने योजना छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?