Comments Add Comment

विद्या भण्डारीकी छोरी र रामवरणका नातिवीच टीकाटालो, माघमा बिहे हुने

शीतलनिवासभित्रै यसरी गरियो 'इन्गेजमेन्ट'

nisha kushum abises

३० असोज, काठमाडौं । गणतन्त्र नेपालका प्रथम र दोस्रो राष्ट्रपति आइतबारदेखि औपचारिक रुपमा कुटुम्ब सम्बन्धमा जोडिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवबीच शीतलनिवासमा आइतबार टीकाटालो भएपछि मधेस र पहाडका यी दुई परिवारको नाता गाँसिएको हो ।

बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबीच करीव ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अभिशेषकी आमा किरण यादव महोत्तरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी सांसद छिन् । किरण डा. रामवरण यादवकी भतिजी हुन् ।

टीकाटालो अर्थात इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदारमात्रै सहभागी थिए । तर, पार्टीका अन्य नेतालाई डाकिएको थिएन ।

वर पक्षबाट आमाबाबु बाहेक काका चन्द्रमोहन यादव सहभागी थिए । उनी कांग्रेस सांसद तथा रामवरण यादवका छोरा हुन् ।

राष्ट्रपतिको स्वकीय सचिवालयका सबै सदस्यहरुलाई टीकाटालोमा निम्ता दिइएको थियो ।

नातिनीको टीकाटालोमा उनकी हजुरआमा अर्थात राष्ट्रपति विद्या भण्डारीकी आमा मिथिला पाण्डे भने सहभागी हुन पाइनन् । उनी केही समयदेखि अमेरिकामा छिन् ।

त्यस्तै पूर्वराष्ट्रपति डा. यादव पनि उपस्थित भएनन् । उनी पनि उपचारका क्रममा अमेरिकामै छन् ।

टीकाटालोका अवसरमा अभिशेषले निशाकुसुमलाई औंठी लगाइदिए । निशाले पनि अभिशेषलाई औंठी लगाइदिइन् ।

निशा र अभिशेषको विहे माघमा गर्ने तय भए पनि तिथि भने टुंगो नलागेको स्रोतले जनाएको छ ।

शीतलनिवासमा टीकाटालोको कार्यक्रम विहान १० देखि १२ बजेसम्म चलेको थियो । वर-बधुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाइदिएकी थिइन् । टिकाटालोपछि राष्ट्रपति निवासमा दिवाभोजसमेत दिइएको थियो ।

एमालेका जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् । पूर्वराष्ट्रपतिका नाथि अभिशेष चाहिँ इन्जिनियर हुन् ।

निशाकी दिदी उषाकिरण भण्डारी मदन भण्डारी फाउन्डेशनमार्फत राजनीतिमा लागे पनि निशा भने राजनीतिबाट टाढै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment