Comments Add Comment

विमानस्थलमा सामान चोरिएको घटनाबारे छानबिन गर्न समिति गठन

tia-cargo 1

१ कात्तिक, काठमाडाैं । साउदी अरबबाट फर्किएका १८ नेपालीको लगेज चोरी भएको घटनाले अहिले त्रिभुवन विमानस्थलमा सनसनी मच्चिएको छ । पीडितहरु तोकिएको भन्दा अर्कै कम्पनीमा काम गरेको आरोपमा साउदी प्रहरीले एक महिना थुनामा राखेर फिर्ता पठाइएकाहरु थिए ।

एक-दुई जनाको सामान चोरी हुने घटना बेलाबेला भएकै थिए । तर, यस पटक १८ यात्रुको लगेजको सामान एकैचोटि चोरी भएको घटनाले विमानस्थलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

१८ जना लुटिएपछि छानबिन समिति

गत शुक्रबार साउदीबाट आएका १८ जना नेपालीको लगेज फुटाएर सामान चोरी भएको भन्ने घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

त्रिभुवन विमानस्थलको स्टाफ बैठकले प्रवक्ता प्रेमनाथ ठाकुरको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेˆटी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृत लगायत छन् ।

छानबिन समितिले सामान नेपालकै विमानस्थलमा चोरी भएको हो कि अन्य विमानस्थलमा भन्ने पत्ता लगाउनेछ भने घटनाका दोषीबारे पनि अनुसन्धान गर्नेछ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको प्रवक्ता ठाकुरले बताए ।

फ्लाई दुबईले दियो क्षतिपूर्ति

साउदीबाट फ्लाई दुबईबाट गत शुक्रबार नेपाल आएका २० नेपालीमध्ये १८ जनाको लगेज फुटाएर सामान चोरी भएको घटना सार्वजनिक भएपछि एयरलाइन्सले पीडितहरुलाई क्षतिपूर्ति दिएको छ ।

ब्यागको ट्यागमा लेखिएको भन्दा कम तौल देखिएका पीडितहरुलाई फ्लाई दुबइले क्षतिपूर्ति दिएको विमानस्थलका प्रवक्ता ठाकुरले बताए । ‘पीडितहरुले आफ्ना मोबाइल पनि हराएको दाबी गरेका छन्, तर त्यसको बारेमा एयरलाइन्सलाई जानकारी गराउनुपर्ने भए पनि त्यसो गरिएको छैन’, ठाकुरले भने, ‘त्यसैले अहिले हाम्रो आग्रहमा कति तौलको सामान हराएको छ, त्यही अनुसार एयरलाइन्सले क्षतिपूर्ति दिएको हो ।’

मोबाइल हराएको हो कि होइन भन्नेबारेमा पनि छानबिन गर्ने उनले बताए ।

सामान चोरीको घटना साउदीमै भएको हुन सक्ने भन्दै छानबिन समितिले नेपालस्थित साउदी दूतावासका प्रतिनिधिलाई छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । त्रिभुवन विमानस्थलमा लगेज फुटाउने सम्भावना निकै कम देखिएकोले साउदी दूतावासलाई छानबिनका लागि आग्रह गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

प्रहरीको अनुुसन्धानबाट केही भेटिएन

विमानस्थलमै १८ नेपालीको सामान चोरी भएको खबर पाए लगत्तै अनुसन्धान गरेको प्रहरीले कुनै तथ्य फेला पार्न सकेन ।

त्रिुभवन विमानस्थलका डीआईजी गोविन्द निरौलाका अनुसार, लगेज फुटाएरै सामान चोरी भएको भन्दै उजुरी आए लगत्तै प्रहरीले अनुसन्धान गरेको थियो । तर, अनुसन्धानका क्रममा नेपालको विमानस्थलमा त्यस्तो कुनै पनि घटना भएको नदेखिएको उनले अनलाइनखबरलाई बताए ।

‘हामीले विमानस्थलको सबै सीसी क्यामेराको फुटेज हेरेर अनुसन्धान गर्‍यौं, तर त्यस्तो कतै भेटिएन,’ उनले भने ।

विमानस्थलका प्रवक्ता ठाकुरले पनि शुक्रबारको घटना त्रिभुवन विमानस्थलमा नभएको दाबी गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘एक-दुई वटा भए शंका गर्न सकिन्थ्यो, १८ वटा लगेजका सामान हाम्रै विमानस्थलमा चोरी भएको कुरा अपत्यारिलो छ । तै पनि हामी अनुसन्धान गर्दै छौं ।’

के-के थियो लगेजमा

शुक्रबार राति साढे नौ बजे साउदीदेखि फ्लाई दुबईबाट आएका २० नेपालीमध्ये दुई जनाको लगेज मात्रै समयमा आयो । केही समयपछि बाँकी १८ जनाको लगेज पनि आइपुग्यो, तर च्यातिएको अवस्थामा ।

लगेज फुटेर आएको देखिएपछि १८ जनाले सामान लिन अस्वीकार गरे । भोलिपल्ट बिहान सामान बुझेर उनीहरुले पार्किङमा लगेर मिडियालाई देखाउन थालेको प्रवक्ता ठाकुरले बताए ।

अधिकांश पीडितले आफ्नो लगेजबाट मोबाइल हराएको दाबी गरेका छन् भने केहीले घडी पनि हराएको बताएका छन् । एयरलाइन्सले भने त्यस्ता बहुमूल्य सामान लगेजमा नहाल्न भन्छ । तर, पीडितहरुले एयरलाइन्सलाई जानकारी नगराई घडी, मोबाइल ल्याएका थिए कि थिएनन् भन्नेबारे पनि छानबिन भइरहेको प्रवक्ता ठाकुरले बताए ।

त्रिभुवन विमानस्थलको व्यवस्थापन निजी क्षेत्रको हातमा पार्ने नियतसहित केही समूह बदनाम गराउन सक्रिय भइरहेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment