Comments Add Comment

आईओएम डिन नियुक्तिको लफडाः कांग्रेसको भाग, डा. केसीको माग

Jagadish Agrawal and Karbir Nath Yogi
डा. जगदिश अग्रवाल (बायाँ) र डा. करबीर नाथ योगी

१ कात्तिक, काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिन नियुक्त नभए डा. गोविन्द केसी फेरि आमरण अनसन सुरु गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै शिक्षा र स्वास्थ्यमन्त्री पनि डिन नियुक्त गरेर केसीलाई फेरि अनसन बस्न रोक्न चाहन्छन् । तर, त्रिविले डिन नियुक्त गर्न सकेको छैन । डिन नियुक्तिमा किन ढिलाई ? स्रोत भन्छ, ‘यो राजनीतिक भागवण्डासँग जोडिएको छ ।’

त्रिभुवन विश्वविद्यालय उच्च स्रोतका अनुसार अहिले पनि भिसीदेखि डिनसम्म सबै नियुक्त राजनीतिक भागवण्डाकै आधारमा हुने गरेको छ । यसअनुसार आईओएमको डिन नेपाली कांग्रेसको भागमा पर्छ भने माओवादीले म्यानेजमेन्ट र एमालेले इन्जिनियरिङको डिन लिएका छन् ।

आईओएमको डिनमा डा. केसीले वरिष्ठताका आधार जगदिश अग्रवाललाई नियुक्त गर्न माग गरेका छन् । पछिल्लो एक बैठकमा प्रधानमन्त्री प्रचण्डले केसीकै माग अनुसार अग्रवाललाई नै डिन बनाएर भएपनि समस्या समाधान गर्न सुझाएका थिए ।

तर, त्रिविले यसलाई मानेको छैन । त्रिवि उपकुलपति तीर्थ खनियाँ कांग्रेस निकट हुन् । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा उपकुलपति नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले अग्रवाललाई डिन नियुक्त गरेर भएपनि समस्या समाधान गर्न भनेपछि उपकुलपति खनियाँले अख्तियारमा मुद्दा रहेको भन्दै महान्यायाधीवक्ता कार्यालयको राय मागे । र, महान्यायाधीवक्ताले सकारात्मक जवाफ नदिएपछि खनियाँलाई केही सहज बनेको छ ।

किन मानेन कांग्रेसले अग्रवाललाई आफ्नो ?

डा. केसीको माग र प्रधानमन्त्रीसमेतले भन्दा पनि अग्रवाल आईओएमको डिन बन्न सकिरहेका छैनन् । स्रोतका अनुसार उनलाई कांग्रेसले स्वीकार गर्न नसक्नु मुख्य अड्चन हो ।

उनलाई अहिले ‘डा. केसीको मान्छे’ भन्ने गरिएको छ । कांग्रेसमा आफ्नो कोटामा परेको आईओएमको डिनका लागि अग्रवालसँगै डा. करवीरनाथ योगीको नाम चर्चामा छ ।

स्रोतले भन्यो, ‘अग्रवाल पछिल्लो समय डा. केसी निकट भएकाले कांग्रेसले स्वीकार गर्न सकेको छैन । योगीको नाममा पनि सर्वसम्मत छैन । यसले डिन नियुक्ति अडि्कएको छ ।’

योगी वरिष्ठताको सूचीमा १५ औं नम्बरमा पर्छन् । योगी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक समेत थिए । तर, उनलाई डिन बनाउने हो भने सहायक डिनहरु नियुक्तिमा समस्या हुने भएकाले पनि कांग्रेसले उनको नाम सार्न सकेको छैन । उनको नाम डा. गोविन्द केसीले पनि स्वीकार गर्ने संकेत देखिएको छैन ।

को-को छन् दाबेदार ?

आईओएम महाराजगञ्ज चिकित्सा क्याम्पसको जेष्ठ प्राध्यापकको सूचीमा डा. अरुण सायमी पहिलो नम्बरमा पर्छन् । दोस्रो नम्बरमा प्रकाश सायमी र तेस्रो नम्बरमा अग्रवाल छन् । तर, अरुण र प्रकाश सायमीले यसअघि डीन भएर राजीनामा दिइसकेकाले वरिष्ठताका आधारमा अग्रवाल दाबेदार हुन् ।

चौथो नम्बरमा विमलकुमार सिन्हा र पाँचौं नम्बरमा गिता सायमी छन् । डा. भगवान कोइरालाको नाम यो सूचीको १४ औं नम्बरमा छ भने डा. केसी १५ जनाको सूचीभित्र पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment