२ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार प्रमुख लोकमान कार्कीको आचरण पदीय मर्यादा विपरित रहेको भन्दै यसबारेमा सांसदहरुले आवाज उठाउनुपर्ने बताएका छन् ।
मंगलवार एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सरकारले संवैधानिक निकायका प्रमुखको बारेमा कुनै मत राख्न पाउँदैन । तर सांसदहरुले उनको आचरणको बारेमा कुरा उठाउनुपर्छ ।’
डा. गोविन्द केसीले लोकमानबारे राखेको माग ठीक रहे पनि यस विषयमा संसदको मात्र अधिकार रहेको उनले बताए । थापाले आफूले हिजो सांसद हुँदा राखेको अडान यथावत रहेको समेत प्रष्ट पारे ।
केसीका अन्य माग भने कतिपय पूरा भइसकेको र कतिपय पूरा हुने चरणमा रहेकाले अब अनसनको औचित्य सकिएको बताए ।
लोकमानलाई सरकारले लुकायोः सुनुवार
यसैबीच एमाले सांसद यज्ञराज सुनुवारले सरकारले राज्यकोषबाट दैनिक भत्ता दिएर लोकमानलाई बिदेश भगाएको भन्दै तत्काल उनको बारेमा जनतालाई प्रष्ट पार्न माग गरेका छन् ।
व्यवस्थापिका संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सुनुवारले भने, ‘राज्य कोषबाट डलरमा भत्ता दिएर सरकारले लोकमानलाई करीव एक महिनादेखि लुकाएको छ । यसबारेमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’
अदालतका कर्मचारीलाई म्याद तामेली गर्नसमेत नदिएर न्यायिक सर्बोच्चको अपमान गरिएको भन्दै सुनुवारले यसमा सरकार दोषी रहेको आरोप लगाए ।
लोकमानमाथि महाअभियोग लगाउने विषय भने प्रमुख दलका शीर्ष नेताहरुमा निर्भर रहेकाले यसबारेमा सांसदहरुलाई आरोप लगाउनुको अर्थ नहुने सुनुवारले बताए ।
यसैबीच सर्बोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले लोकमानको नाममा म्याद तामेल भइसकेको बताएका छन् ।
प्रतिक्रिया 4