+
+

नेपाली विद्यालयमा भारतीय विद्यार्थी !

झापाको मदरसामा तीनघण्टा बस्दा यस्तो देखियो

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक ३ गते १०:५३

madarasa

३ कात्तिक झापा । नेपालका विद्यालयमा भारतीय विद्यार्थीले अध्ययन गर्छन् भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । अझ भारतको विद्यालयभन्दा नेपाली विद्यालयमा गुणस्तरीय शिक्षा दिइन्छ भन्दा त झन् आश्चर्य लाग्ला । तर, झापाको दक्षिणी क्षेत्र टाघनडुब्बामा रहेका मदरसाहरुमा थुप्रै भारतीय विद्यार्थी अध्ययनरत छन् ।

टाघनडुब्बा गाविसमा मात्र ११ वटा मदरसा छन् । जहाँ भारतको विहारस्थित कटिहार, माल्दा, दिघलबैंक लगायतका क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउँछन् । त्यहाँको जमजम लिलबनात मदरसामा मात्र ७ जना भारतीय विद्यार्थी अध्ययनरत छन् । यो मदरसामा कुल विद्यार्थी सङ्ख्या १ सय ९० छ ।

यस क्षेत्रमा रहेका मदरसा मध्ये सबैभन्दा बढी सङ्ख्या भएको हो जमजम । अन्य मदरसामा पनि सोही अनुपातमा भारतबाट आएर विद्यार्थीहरु अध्ययन गर्छन् ।

भारतबाट किन विद्यार्थीहरु यहाँ पढ्न आउँछन् त ? मदरसाका संस्थापक अध्यक्ष जेबुल हक भन्छन्, ‘भारतमा भन्दा यतै राम्रो पढाइ हुन्छ भनेर ल्याउँछन् ।’

मदरसामा आउने अधिकांश विद्यार्थी नेपाली बोल्न जान्दैनन् । अरबी र उर्दू भाषाको भने उनीहरुसँग राम्रो ज्ञान छ । पढाई पनि यिनै दुई भाषाको माध्यमबाट हुन्छ ।

नर्सरीदेखि ५ कक्षसम्म जमजममा पढाइन्छ । यहाँ ६ जना शिक्षक छन् । तीमध्ये एक जना भारतकै छन् ।

झारखण्डका ती शिक्षकले कुरआन बारे पढाउँछन् । उनीसँग नेपाली भाषाको राम्रो ज्ञान छैन । विद्याथीका अनुसार उनले उर्दू भाषाको प्रयोग गर्छन् । अन्य शिक्षक भने स्थानीय नै हुन् ।

यहाँको वस्तुस्थिति बारे बुझ्दा जो कोहीलाई रोचक लाग्छ । मुस्लिम विद्यालयमा पढाउने शिक्षक गैर मुस्लिम छन् । अझ रोचक त के छ भने मुस्लिम समुदायको मदरसालाई क्रिश्चिय समुदायले सहयोग गरेका छन् ।

‘केही समयअघि क्रिश्चियन धर्मका जगत पौडेलले विभिन्न संघसंस्थासँग सहयोग सङ्कलन गरेर सहयोग गर्नुभयो’, संस्थापक अध्यक्ष हकले अनलाइनखबरसँग भने, ‘उहाँले हस्तान्तरण गर्नु भएको ५० हजार रुपैयाँले विद्यालयमा ४० वटा बेन्च जोड्यौं ।’

भौतिक संरचनामा अब्बल

०६७ सालमा स्थापना भएको यो मदरसा भौतिक संरचनाको हिसाबले अरुभन्दा सक्षम छ । तर, अतिआवश्यक अन्य सामान्य वस्तुको भने अभाव देखिन्छ ।

विद्यार्थीको अनुपातमा डेक्स, बेञ्च छैन । ठूला ठूला भवन छन् । तर, भित्र केही छैनन् । छिर्दा कार्यक्रम हल जस्तो लाग्छन् । फर्निचरको सामग्रीको अभाव छ । सहयोगी मनको खोजीमा छन् ।

madarsa-morang

उच्च शिक्षाका लागि समस्या

यस क्षेत्रमा कक्षा ८ सम्मको लागि मात्र मदरसा छन् । टाघडुब्बामा मात्र होइन, जिल्लामै उच्च शिक्षाको लागि कुनै ठूलो मदरसा छैन ।

जसका कारण कक्षा ८ पास गरेपछि विद्यार्थीहरुले कि त पढाई नै छाड्छन्, कि त घरपायक सामुदायिक विद्यालय जान्छन् । उनीहरुले मदरसामा पढ्ने विषयसँग मिल्ने तीन विषय मात्र हुन्छन् । नेपाली, गणित र अंग्रेजी ।

आठ वर्षसम्म उर्दू, कुरआन, पैगम्बर लगायतका विषय पढेका विद्यार्थी अर्थशास्त्र, विज्ञान लगायत पढ्न बाध्य हुन्छन् । एक्कासि सामुदायिक विद्यालयमा ती विषयहरुको नाम सुन्दा त एकपटक उनीहरु ‘झसङ्ग’ नै हुन्छन् ।

केही सीमित व्यक्ति भने मदरसाबाटै उच्च शिक्षा लिन चाहन्छन् । र, भारततर्फ लाग्छन् । केही भने नेपालको पश्चिमी क्षेत्रमा रहेका मदरसाहरुमा जान्छन् ।

कपिलवस्तुमा पनि उच्च शिक्षाको लागि उपयुक्त मदरसा छन् । यस क्षेत्रबाट वर्षेनि डेढसय विद्यार्थी कक्षा ८ पास गर्छन् । र, उच्च शिक्षाको बाटो खोज्दै निस्किने गरेका छन् ।

स्थानीय अगुवा लक्ष्मी उप्रेती भन्छन्, ‘यहाँका मुस्लिम विद्यार्थीलाई उच्च शिक्षा लिन चाहिँ गाह्रो छ ।’

यहीँ प्रवेशिका परीक्षा दिनेसम्मको व्यवस्था हुन सके उनीहरुलाई राहत हुने उप्रेती बताउँछन् । तर, संस्थापक अध्यक्ष हक भने आर्थिक अभावमा यो कुरा सम्भव नभएको बताउँछन् ।

‘हामीले यस विषयमा तयारी पनि गरेका थियौं’, उनी भन्छन्, ‘तर, आर्थिककै कुरा आउँछ, कहाँबाट जुटाउने ?’

कक्षा सञ्चालनको लागि कोठा त छ । तर, शिक्षकलाई दिने रकम छैन । उनी थप्छन्, ‘यदि शिक्षकलाई तलबसम्म दिने कुनै संस्था भेटियो भने हामी कक्षा थप्ने विषयतिर पनि छलफल अघि बढाउँछौं ।’

नेपाली विषय छैन

मदरसा आफैंले विद्यार्थीलाई पाठ्यपुस्तक दिन्छ । सामुदायिक विद्यालयमा झैँ जनक प्रकाशनको नेपाली, गणित र अंग्रेजी विषय पढाइन्छ ।

भारतबाट आउने विद्यार्थीले भने नेपाली विषय भने पढ्दैनन् । उनीहरुका लागि त्यसको विकल्पमा कुरान राखिएको छ ।

उनीहरुले कुरानमा लेखिएका विषयलाई कण्ठ पार्नु पर्छ । यहाँ अनाथ बालबालिकाहरुको सङ्ख्या पनि धेरै छ । ३० जना टुहुरा बालबच्चाहरु यहाँ अध्ययनरत छन् ।

madarsha

मुस्लिम र गैरमुस्लिमको उदाहरणीय एकता

मुस्मिल समुदायको बाक्लो उपस्थिति भएको क्षेत्र हो यो क्षेत्र । टाघनडुब्बा गाविसको कुल जनसङ्ख्या १० हजार ५ सय छ भने मुस्लिम समुदायका मानिसको जनसङ्ख्या ३ हजार ८ सय छ ।

तर, यहाँ मुस्मिल र गैरमुस्लिम बीच रहेको आपसी एकता र मेलमिलापले जो कोहीलाई लोभ्याउँछ । मदरसाले आयोजना गर्ने प्रत्येक कार्यक्रममा गैर मुस्लिमहरु सहभागी बन्छन् । सहयोग गर्छन् ।

मदरसाका शिक्षकहरु पनि बेलाबेला सहयोग माग्दै गैरमुस्लिम समक्ष पुग्छन् ।

अनौठो ‘होस्टल’ !

टाढाबाट आउने विद्यार्थीलाई आवासीय सुविधा छ । तर, अन्य निजी विद्यालयमा झैँ पैसा तिरेर ‘होस्टल’ को नाममा कैद गर्ने जस्तो होइन । भारतका विभिन्न क्षेत्रबाट र नेपालकै अन्य क्षेत्रबाट आएका विद्यार्थीलाई स्थानीय कसैको घरमा राख्ने व्यवस्था मिलाइन्छ ।

त्यहाँका शिक्षक अबदुल सुभानका अनुसार एउटा घरमा एक जना विद्यार्थीलाई राखिन्छ । उनले यसबारे थप स्पष्ट पार्दै भने, ‘३० जना विद्यार्थीको घर टाढा छ भने ३० वटा स्थानीय परिवारले एक/एक जनाको जिम्मा लिन्छन् ।’

त्यहाँ पढुञ्जेल त्यो विद्यार्थीको खाना र बसोवासको जिम्मा सोही परिवारले लिन्छ ।

अनौठो संस्कार

उनका अुनसार विद्यालयमा किताबी विषयहरु मात्र सिकाइँदैन । कुरानमा भएका जीवनोपयोगी ज्ञानहरु पनि दिइन्छ । यति मात्र होइन, अनुशासनको कक्षा पनि दिइन्छ । कक्षाकोठामा पुग्दा सुभानले असल व्यवहारका बारेमा पढाइरहेका थिए ।

करिब ३ घण्टा मदरसामा बसेर यो पंक्तिकार बाहिर निस्कँदा एक जना विद्यार्थी गेट छेउमा आइपुगे र, हामीतिर फर्केर सलाम गरे । हामी तीन छक्क पर्‍यौँ ।

अलिपर पुग्दा अर्का शिक्षकसँग भेट भयो । सबै कुरा सुनाएपछि थाहा भयो, यो त उनीहरुको संस्कार पो रहेछ ! विद्यालयमै सिकाइँदो रहेछ यस्तो । मदरसामा पढ्ने सबै विद्यार्थी स्थानीय अगुवा वा अन्य नयाँ मान्छेसँग भेट हुनेवित्तिकै ‘सलाम’ गर्दा रहेछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?