Comments Add Comment

अमेरिकाबाट फर्केकी रञ्जनालाई भात खाने निम्ता मान्न भ्याइनभ्याई

'अमेरिका बस्दा नेपालको धुवाँ-धुलो मिस गरेँ'

ranjana-sharmaकाठमाडौं । अमेरिका गएको सात वर्षपछि छोटो समयका लागि नेपाल फर्किएकी छिन् नायिका रञ्जना शर्मा । उनलाई अहिले आफन्तहरुको निम्तो मान्न जाने चटारो छ ।

अमेरिकाबाट उड्नुअघि फोनमा भनेकी थिईन्, ‘मलाई एरअपोर्टमा लिन आमा र बाबा दुबै जना आउनु है ।’

एअरपोर्टबाट बाहिरिए लगत्तै उनका आँखाले बुवाआमालाई खोजे । दसैंको बेला भएकाले आफन्त लिन एअरपोर्ट पुग्नेहरुको भिड थियो । एकछिन भिडमा आँखा दौडाएपछि उनले अग्ला भिनाजुलाई देखिन् । त्यसपछि बुवाआमालाई ।

सात वर्षपछि भेट्दा पनि आमाको अनुहारमा कुनै परिवर्तन पाईनन् । बरु हल्का चमक थपिएको महसुुुस् भयो । बुवा भने अलि मोटाएको देखिन् ।

उनले सोचेकी थिईन्, आमालाई भेट्ने बित्तिकै अंगालो हालेर रुन मन लाग्छ होला । तर, त्यस्तो केही भएन । ‘आमाले कान्छी आईपुगिस् भन्नु भयो । म फुरुङग भएर गम्लङ्ग आमालाई अंगालो मारेँ’ उनले सुनाइन् ।

अमेरिका गएकै दिनदेखि रञ्जनाको सबै भन्दा धेरै कुराकानी हुन्थ्यो आमासंग । आमापछि बुबासंग धेरै कुरा गर्थिन् । ‘यहिँ हुँदा १५ दिन सुटिङका लागि घर बाहिर जाँदा पनि वास्ता हुँदैन थियो तर, बाहिर गएपछि घरका मान्छेको बढी न्यास्रो लाग्दो रहेछ’ उनले भनिन् ‘जन्मदिने आमा र जन्मभुमीको महत्व सिमाना कटेपछि जाग्दो रहेछ ।’

घरमा आइपुगेपछि उनलाई खाना खाने निम्ताको बाढी नै आएको छ । उनका ६ जना मामाको घर काठमाडौंमै छ । अरु आफन्त र दिदीहरुले पनि भन्न थाले ‘आज मेरोमा खान आउ न । हाम्रोमा एक दिन त बस्नैपर्छ’ आफन्तको बास बस्नेक्रम अझै रोकिएको छैन उनको । भन्छिन् ‘अझै कति जनाकोमा जानै बाँकी छ ।’

सात वर्षपछि पनि काठमाडौमा खासै ठूलो परिवर्तन पाइनन् रञ्जनाले । बरु आफुमा भने केहि परिवर्तन भए जस्तो लागेको छ उनलाई । अमेरिकामा छँदा, अमेरिकन, इटालियन, प|mेन्च नागरिकहरुसँग काम गरेकी रञ्जनालाई आफ्नै परिवारसँग घुलमिल हुन पनि केही दिन लाग्यो । उनी भन्छिन् ‘अमेरिकाको नियमित भागदौड, विभिन्न परिवेशका साथीहरुसंग काम गरेको वानीले होला एकदुई दिन त आफ्नै घरभित्र पनि निकै अनौठो लाग्यो ।’

केही दिनसम्म एक्लै बस्न पनि मन नलाग्ने, कसैसंग कुरा गर्न पनि मन नलाग्ने भयो उनलाई । पछि दिदीहरुले सोधे, ‘किन तँ त नर्भस जस्तो भएकि छेस् ?’ दुइ-तीन दिनपछि बल्ल उनी सामान्य अवस्थामा फर्किन् ।

ranjana-3

लुक्ला जाने योजना

घुम्ने रुची उनको पहिल्यै देखिको हो । गाउँको सौन्दर्यले अहिले पनि मोहनी लाउछ । यसपाली पनि कम्तिमा एक हप्ता लुक्ला, अन्नपूर्ण बेसक्याम्प घुम्न जाने योजना छ उनको । त्यसका लागि साथी जुटाउदैछिन् । साथीभाईसंग घुम्दा छुट्टै मज्जा हुन्छ भन्ने लाग्छ उनलाई । त्यसपछि आफु जन्मेको ठाउँ नीजगढ पनि जाने योजना छ उनको ।

म्युजिक भिडियो खेल्ने

उनी नेपाल आएको जानकारी पाए लगत्तै पुराना साथीहरुले फेसबुकमा म्यासेज गर्दै भने ‘ओई तैंले हामीलाई बिर्सिस् ?’ केहि निर्देशकले फिल्म र म्युजिक भिडियोमा काम गर्ने प्रस्ताव पनि राखेका छन् । केहि राम्रा भिडियो र फिल्ममा काम गर्ने योजना पनि छ उनको । भन्छिन् ‘केहि दिन अझै घरायसी काममा ब्यस्त हुन्छु त्यसपछि फिल्मलाई समय दिन्छु’ ।

नेपालको सम्झनाले सतायो

जतिवेला उनी नेपाली फिल्म उद्योगमा सक्रिय थिईन्, केहि कलाकारले अमेरिका गएर भाग्य चम्काएको कुरा सुन्थिन् । ‘भाग्य चम्काउने मेरो पालो कहिले आउँछ होला ?’ उनले यहि सोच्थिन् ।

जब अमेरिका पुगिन् । अमेरिकाको रंगीन माहौलले मात्रै उनलाई खुसी बनाउन सकेन । त्यहि रंगील माहौल भित्र नेपालको धुवाँ, धुलो र कोलाहालको यादले पछ्याइरह्यो ।
उनी हाँस्दै भन्छिन् ‘अमेरिका पुगेपछि यहाँको धुँवा धुलो र कोलाहालको पनि तिर्सना लाग्दो रहेछ । जति टाढा भयो उति माया लाग्दो रहेछ आफ्नो गाउँ ठाउँको ।’

जब नेपाल आइपुगिन्, उनलाई लाग्यो, पहिलाको तुलनामा काठमाडौ शहरमा बेथिती थपिएछ । महंगीले आकाश छुन लागेको देख्दा तीन छक परिन् । तीन दिन अघि मात्रै दरवारमार्गको एउटा कफिसपमा तीन जनाले कफि खाएको १८ सय बिल तिरेको देखाउदै उनले सोधिन् ‘यस्तो महंगीमा कसरी धानिएको होला मध्यमवर्गीय काठमाडौंवासीको जीवनशैलि ?’

 

भाषा र सीप अनिवार्य

अमेरिकामा सौन्दर्य ब्यबसाय गरेर बसेकी रञ्जनालाई धेरैले सोध्ने गरेका छन्, ‘म पनि अमेरिका जान्छु, त्यहाँ कस्तो सिप सिकेर जाँदा हुन्छ ?’

उनी सुझावको भाषामा भन्छिन्, ‘अमेरिका जानेले अंग्रेजी भाषा अनिवार्य सिक्नैपर्छ । अंग्रेजी भाषा नजानेकै कारण दुःख पाउनेहरु धेरै छन् ।’

रञ्जनाका अनुसार अमेरिकामा पुरुषले भन्दा महिलाले सजिलैसंग काम पाउछन् । उनको भनाईमा अमेरिकी महिलाहरु सौन्दर्यमा प्रसस्त पैसा खर्च गर्न चाहन्छन् ।ranjana-2

‘यदि कुनै नेपाली महिलाले सौन्दर्यसम्बन्धि सिप सिकेर गएको छ भने डलर कमाउन खास गार्‍हो छैन उनी भन्छिन्, ‘राम्रो सिप भएको मान्छेले पारिश्रमिक मात्रै हैन टिप्स पनि राम्रो पाउछन् ।’ जाँगरिलो व्यक्तिका लागि अमेरिका स्वर्ग भए पनि अल्छिका लागि भने त्यहाँ कुनै ठाउँ नभएको रञ्जनाले बताइन् ।

नेपालीको इमान्दार छवी

रञ्जनाको बुझाईमा अहिले पनि अमेरिकीहरुले नेपालीलाई इमान्दार भनेर बुझ्ने गरेका छन् । भारतीय, बंगाली, पाकिस्तानीको तुलनामा नेपालीको छबी इमान्दार भनेर स्थापित छ ।
अमेरिकीले नेपालीलाई सम्मान गरेपनि अमेरिकामै स्थापित भारत, पाकिस्तान, बंगलादेश मुलका नागरिकले भने भने ‘गरिब देशका नागरिक’ भनेर हेप्ने गरेको उनको अनुभव छ । रञ्जना भन्छिन् ‘मेरो त कतिपटक भारतीयहरुसंग डिस्कस नै परेको छ ।’ उनलाई भारत वा अरु कुनै नागरिकले गरिब नेपाली भनेको मन पर्दैन ।

महिलाको सम्मान

अमेरिकाको ‘सिस्टम’ सबैभन्दा लोभलाग्दो भएको रञ्जनाले बताइन् । उनका अनुसार चाहे जुनुसुकै मुलुकको नागरिक किन नहोस् अमेरिका पुगिसकेपछि अपमानित हुनु पर्दैन ।

‘जनावर, वालवालिका र महिलालाई सम्मान गर्ने संस्कार त्यहाँको लोभलाग्दो संस्कार हो,’ रञ्जना भन्छिन् ‘टे्रन वा बसमा कुनै महिला वा बृद्ध मान्छेलाई देख्यो भने जोसुकैले सम्मानका साथ सिट छोडिदिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment