Comments Add Comment

एन्फाको निर्वाचन गर्ने बाटो खुल्यो

अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि सोमबार निर्वाचन हुने

anfa bulding 1

५ कात्तिक, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागि आसन्न निर्वाचन गर्ने मार्ग प्रसस्त गरेको छ । एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि आगामी सोमबार निर्वाचन हुँदैछ ।

एन्फाको बिधान र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री बिनोद केसीले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने फैसला गरेपछि एन्फा निर्वाचन समयमै हुने निश्चित भएको हो ।

न्यायधीशहरु डिल्लीराज आचार्य र भीमकुमार ओझाको इजलासले एन्फा निर्वाचन रोक्न परेको रिटमाथि गत असोज १४ गते दिइएको अन्तरिम आदेश जारी राख्नु नपर्ने फैसला सुनाएको हो । यद्यपी मुद्धाको अन्तिम फैसला बाँकी छ ।

एन्फा निर्वाचन रोक्न माग गर्दै शाही र केसीले गत असोज १३ गते उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । अदालतले एन्फाको सम्पूर्ण निर्वाचन प्रक्रिया रोक्का गर्न र कात्तिक ५ गते (आज) दुवै पक्षलाई छलफलका लागि आउन असोज १४ गते अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशसँगै एन्फाको अध्यक्ष र अपाध्यक्ष पदका लागि आगामी सोमबार निर्वाचन हुने निश्चित भएको छ ।

एक बर्षे कार्यकालका लागि हुन लागेको मध्यावधी निर्वाचनमा अध्यक्ष पदका लागि बर्तमान कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै उपाध्यक्ष पदका लागि श्रेष्ठ प्यानलबाट मणि कुँवर र शेर्पा प्यानलबाट दीपक खाती बरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा छन् । पूर्व राष्ट्रिय फुटबलर उपेन्द्रमान सिंहले पनि स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि र बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त पद पूर्तिका लागि एन्फाको मध्याजधी चुनाव हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment