२७ वैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावका कारण बीचमै रोकिएको आईपीएल क्रिकेट २०२५ मे महिनामा पुनः सुरु गर्ने अनुमति भारत सरकारबाट प्राप्त भएमा बाँकी खेलहरू बेंगलुरु, चेन्नई र हैदराबादमा आयोजना गरिने उच्च सम्भावना देखिएको छ ।
क्रिकेट समाचार संस्था क्रिकइन्फोले उल्लेख गरेअनुसार हालका लागि बाँकी खेल त्यही ३ वटा ठाउँमा गर्ने बीसीसीआईको योजना छ । यद्यपि बीसीसीआईले मे महिनाभित्र प्रतियोगिता पुनः सुरु गर्ने वा नगर्ने अन्तिम मिति तय गरिसकेको छैन।
बीसीसीआईले तीन सहरहरूलाई तयारी अवस्थामा राखे पनि वर्तमान परिस्थितिमा चाँडै आईपीएल सञ्चालन गर्न गाह्रो हुने जनाएको छ। फ्रेन्चाइजहरूलाई अनौपचारिक रूपमा यो जानकारी दिइएको छ र धेरै टोली प्रतिनिधिहरूले प्रतियोगिता वर्षको अन्त्यतिर सार्न सकिने बताएका छन्।
सबैभन्दा ठूलो चुनौती भनेको विदेशी खेलाडीहरूलाई पुनः भारत फर्काउने रहनेछ। आईपीएल स्थगनको घोषणा लगत्तै धेरै विदेशी खेलाडीहरू स्वदेश फर्किन थालिसकेका छन् र अधिकांश शनिबारभित्र भारतबाट प्रस्थान गर्ने अनुमान गरिएको छ।
यदि प्रतियोगिता मे महिनाभित्र पुनः सुरु भयो भने अधिकांश विदेशी खेलाडी फेरि सहभागी हुनका लागि फर्कन सक्ने अपेक्षा गरिएको छ । तर मे २५ पछिलाई खेल सारियो भने भने विश्व टेस्ट च्याम्पियनसिपको तयारी तथा अन्य द्विपक्षीय सिरिजहरूले बाधा पुर्याउनेछ।
अहिलेसम्म आईपीएल २०२५ का ५७ खेल सकिएका छन्। मे ८ मा धर्मशालामा भएको ५८औं खेल (पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच) १०.१ ओभरपछि रोकिएको थियो र त्यो खेल पुनः खेलिने कि नखेलिने भन्नेबारेमा पनि निर्णय भएको छैन।
अब त्यसबाहेक पनि १२ लिग खेल र ४ प्लेअफ खेलहरू बाँकी छन्। पहिलेको तालिकाअनुसार हैदराबादले पहिलो क्वालिफायर र एलिमिनेटर तथा कोलकाताले दोस्रो क्वालिफायर र फाइनल आयोजना गर्ने तय थियो।
प्रतिक्रिया 4