Comments Add Comment

नयाँ पदमार्ग ‘हिमालयन स्काइ’ सञ्चालनमा

himalayan-sky-treak
१२ कात्तिक, धादिङ । धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्मित हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक विशेष समारोहकाबीच सो पदमार्गको उद्घाटन गरेसँगै पदमार्ग सञ्चालनमा आएको हो ।

धादिङको नेत्रतालबाट करीब ५० किलो मिटर दुरीको सो पदमार्ग निर्माण नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बोर्डले ४० लाख बजेट सो पदमार्ग निर्माणका लागि खर्च गरेको थियो ।

समुन्द्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झण्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो ।

हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग)मा पहिलोदिन काठमाडौँदेखि नेत्रताल, दोस्रोदिन बगुवाखोला-कात्तिके हुँदै मनटारी, तेस्रोदिन फुलखर्क – गुम्दीहुँदै पोखराडाँडा, चौँथो दिन तीनसुरे भएर गङ्गा-जमुना र पाँचौं दिन पुनः फूलखर्क हुँदै मनटारी वा नेत्रताल आइ बस्न सकिने बताइएको छ ।

himalayan-sky-treak2
समय हुने पर्यटकले सोही भेगका अन्य गन्तव्यमा समेत जान सकिने बताइएको छ । थोरै दिनमा समग्र नेपाल चिन्नको लागि स्काई ट्रेल उपयुक्त हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल -टान)का पूर्व अध्यक्ष ज्योति अधिकारीले बताए ।

उनले पर्यटकीय पदमार्गबाट आकास र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने र हरेक दिनको रुट डाडाँबाटै रहेकोले यसलाई ‘स्काई ट्रेल’ भनिएको बताए । जलचर, जंगली जनावर र धार्मिक पर्यटनका दृष्टीले यो पदमार्ग महत्वपूर्ण मानिन्छ ।

काठमाडौंबाट नजिक र छोटो तर विविधता भएको हुनाले यस पदमार्गलाई पर्यटकले मन पराउने पर्यटन व्यवसायीहरुको विश्वास छ ।गुम्दी गाविसका स्थानीय याङ्जा गुरुङ नयाँ पर्यटकीय पदमार्गको निर्माणसङ्गै ग्रामिण क्षेत्रमा रोजगारीको ढोका खुलेको बताउँछन् ।

himalayan-sky-treak3उनी भन्छन्, “नेपालको राजधानीसँग जोडिएको जिल्ला भएर पनि धादिङ साह्रै पछाडि परेको थियो यस्ता पर्यटकीय पदमार्गको निर्माणसङ्गै विकासले विस्तारै गति लिन थालेको छ ।” गुम्दी चिम्चोकका धनबहादुर गुरुङ पर्यटकीय पदमार्गको निर्माणसङ्गै भावी पुस्तालाई पर्यटन व्यवसायमा लाग्न ठूलो सहयोग पुग्ने बताउँछन् ।

“पढेका मानिस पर्यटकको पथप्रदर्शक बन्छन्, नपढेका मानिसहरु भारी बोक्छन्, बुढाबुढीहरु खाना बनाएर होमस्टे (घरबास) चलाउँछन्, पर्यटनको फाइदा सबैलाई’, उनी भन्छन् । सो पदमार्गबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, विभिन्न जङ्गली जनावर, जडिबुटी तथा रुवीभ्याली, रिङ्नेभ्याली र बुढी गण्डकीभ्यालीको अवलोकन गर्न सकिन्छ ।

पदमार्गको उद्घाटन गर्दै मन्त्री शाहीले यस्टा पदमार्गहरु निर्माण हुनुले स्वरोजगार सिर्जना गर्ने भन्दै यसबाट व्यवसायीदेखि स्थानीय र सरकारलाई समेत फाइदा पुग्ने बताए । उनले नेपालमा नयाँ पदमार्गको रुपमा स्काई ट्रेल सञ्चालनमा आएकोमा खुशी समेत व्यक्त गरे ।

सोही समारोहमा सांसद दिलमान पाखि्रनले यस क्षेत्रमा अझै पर्यटनका थुप्रै गतिविधिहरु चलाउनु पर्नेमा जोड दिए । उनले बल्ल धादिङमा रहेका सम्भावनाहरुको उजागर हुन थालेको भन्दै स्काई ट्रेलले छिट्टै लोकपि्रयता पाउनेमा आफू विश्वस्त रहेको बताए ।

पदमार्ग उद्घाटन समारोहमा पुगेका इटालियन पर्यटक मासासी रोसेटोले यहाँको संस्कृति, वेशभुषा, खोलानाला, पहाड, हिमालले आफ्नो मन छोएको प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment