भदौ २४ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले नेपालको इतिहासमै सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । साथमा सर्वाधिक धेरै हलमा ५१ दिन मनाउने चलचित्रको रेकर्ड पनि यहि चलचित्रले बनाएको छ ।
काठमाण्डौका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा चलचित्रले आज ५१ दिन मनाएको छ । जसको खुशियालीमा आज चलचित्रका कलाकार र निर्माणपक्ष हल-हलमा पुगिरहेका छन् ।
बिहान पशुपतिनाथ मन्दिर पुगेर चलचित्रका कलाकारले पूजा गरे । निर्देशक दीपाश्री निरौलाको साथमा कलाकार तथा निर्माता दीपकराज गिरी, प्रियंका कार्की, नम्रता सापकोटा, बर्षा राउत लगायतको टिम मन्दिर पुगेका थिए । उनीहरुले करिब १ घन्टा लगाएर पूजा गरे ।
यसपछि, पशुपति परिसरबाट ब्यान्ड बाजा बजाउँदै उनीहरु विभिन्न हलमा पुगिरहेका छन् । काठमाण्डौमा ५१ दिन मनाउने सबै हलमा ब्यान्ड बाजा बजाएर पुग्ने निर्माता तथा कलाकार दीपकराज गिरीले बताएका छन् । उनले दर्शक र हल संचालकहरुलाई धन्यवाद दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।
निर्देशक दीपाश्री निरौला ५१ दिने खुशियाली साट्न बेहुली बनेकी छिन् । उनले बिहेमा बेहुलीले लगाउने माला लगाएर हल-हलमा पुगेकी छिन् । दीपाले यो नेपाली चलचित्र क्षेत्रकै लागि खुशीको क्षण भएको बताइन् ।
प्रतिक्रिया 4