१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज साँझ काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्दैछ ।
काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट गर्न लागिएको नागरिक अभिनन्दनमा मुखर्जीलाई नगरको साँचो उपहार दिइँदैछ । र, यो कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय सभागृहमा हुनेछ । जसका लागि सभागृहलाई बेहुली झैं सिंगारिएको छ ।
किन दिइन्छ साँचो ?
यो रोमन कालदेखि चलेको अभ्यास हो । त्यसबेला नगरलाई चार किल्लाले घेरिएको हुन्थ्यो र त्यहाँ प्रवेश गर्न साँचो चाहिन्थ्यो । उच्च ओहदाका व्यक्तिहरुमात्र नगरभित्र विना रोकटोक हिँड्न पाउँथे ।
विशिष्ट पाहुना तथा साहसिक काम गरेका मानिसहरुलाई पनि साँचो दिएर घुम्नका लागि खुला छ भन्ने सन्देश दिइन्थ्यो ।

अमेरिका र युरोपमा यो चलन अहिले पनि यथावत छ । साँचो दिने पराम्परालाई सांकेतिक सम्मानका रुपमा हेरिन्छ । उच्च ओहदाका पाहुना र उल्लेख्य काम गरेका व्यक्तिलाई नगरको साँचो दिएर सम्मान गर्ने गरिन्छ । आफूले चाहेको समय शहरमा आउजाउ गर्न सक्नुहुन्छ भन्ने सन्देश पनि यसले दिन्छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले भने, ‘यो शहर तपाईंको स्वागतका लागि सँधै तयार छ भन्ने भावसहित साँचो हस्तान्तरण गरिने छ ।’
तर, यहाँ बुझ्नु पर्ने कुरा के छ भने यसरी उपहार दिइने साँचो केही ठूलो हुन्छ । तर, यसको ताल्चा भने हुँदैन ।
रुसी राष्ट्रपति दिमित्री मेदभेदेभ सन् २००९ मा स्पेन भ्रमणमा गएका थिए र उनलाई मड्रिड शहरको सुनौलो रंगको साँचो उपहारस्वरुप प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4