Comments Add Comment

हायत होटलमा एमाले र मधेसी मोर्चाका नेतावीच हँसीमजाक !

उपेन्द्रले 'टोपी' को कुरा गर्दा ओलीले सोधे- कसलाई भन्नुभएको ?

Madhesi-Morcha-and-KP-Oli
फाइल फोटो

१९ कात्तिक, काठमाडौं । विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र  नेपाली कांग्रेसका नेताहरुवीच छलफल चलिरहँदा अर्को कोठामा एमाले र मधेसी मोर्चाका नेताहरु ‘वेटिङ’ गरिरहेका थिए ।

मुखर्जीसँग भेट गर्ने लाइनमा एमाले अध्यक्ष केपी ओलीदेखि फोरम अध्यक्ष उपेन्द्र यादवसम्म थिए । यसक्रममा उक्त कोठामा एमाले र मधेसी मोर्चाका नेतावीच हँसीमजाक र छेडछाड सुरु भयो ।  मुखर्जीलाई भेट्ने पालो नआउँदासम्म उनीहरु कुनै गम्भीर कुराकानीमा भन्दा पनि व्यंग्य वाण प्रहार गर्नतिरै केन्द्रित भए ।

एमाले नेताहरु एउटा लहरमा बसेका थिए, मोर्चाका नेताहरु अर्को लहरमा थिए । कोठा एउटै थियो, जहाँ बसेर मुखर्जीलाई भेट्ने पालो कुर्नु थियो ।

संयोगवस मधेसी मोर्चाका नेता शरतसिंह भण्डारीको बसाइ एमाले नेताहरुको लहरमा परेछ । भण्डारी एमाले नेतृ अष्टलक्ष्मी शाक्यको छेउमा बसेका थिए, केही बेरमा उनी उपेन्द्र यादव बसिरहेको सोफामा सरे ।

भण्डारी आफ्नो छेउमा आएपछि उपेन्द्रले भने- ‘शरदजी एमालेसँग कहाँ बस्न सक्नुहुन्छ ! बल्ल ठीक ठाउँमा आउनुभयो ।’
पूर्वएमाले नेतासमेत रहेका यादवले थपे- ‘एमालेसँग बस्न हामीले त सकेनौं, शरदजीले सक्नुहुन्न ।’

यादवले एमालेमाथि व्यंग्य वाण हानेको सुनेपछि उताबाट एमाले उपाध्यक्ष भीम रावल प्रतिवादमा उत्रिए । उनले भने- ‘त्यसो हो भने मै उता आएर बसौं कि क्या हो तपाईहरुको वीचमा ?’

संघीय गठबन्धनका नेता उपेन्द्र यादव ‘टिट फर ट्याट’ जवाफ दिनमा निकै माहिर छन् । उनले रावललाई तत्कालै जवाफ दिए-‘तपाईलाई एमालेले कारवाही गर्ला नि !’

सवाल जवाफकै क्रममा उपेन्द्र अलि उत्साही हुन थाले । उनले एमाले नेताहरुलाई छेडखान गर्ने उद्देश्यले मधेसतिरको ‘कहावत’ सुनाए । उनले भने ‘मधेसमा एउटा कहावत छ, मैथिली बोल्ने पहाडिया र टोपी लगाउने मधेसिया बहुत खतरनाक हुन्छन् ।’
उपेन्द्रले यस्तो भनेको सुनेपछि एमाले अध्यक्ष केपी ओलीले ठट्टाकै शैलीमा सोधे- ‘हैन तपाईले कसलाई भन्न खोज्नुभएको हो ?’

एमालेभित्र मैथिली बोल्ने नेताका रुपमा माधवकुमार नेपाललाई लिने गरिन्छ । तर, हायतको सो जमघटमा माधव नेपाल थिएनन् । नेता नेपालले बिहानै भारतीय राष्ट्रपति मुखर्जीलाई बेग्लै भेटिसकेकाले उनी ओलीको टोलीमा समावेश थिएनन् ।
त्यहाँ थिए, एमाले महासचिव ईश्वर पोखरेल, जो विहीबार दिउँसो मात्रै जनकपुरमा आयोजित एमालेको सभामा मैथिली भाषामा भाषण गरेर काठमाडौं फर्किएका थिए ।

एमालेको टोलीमा केपी ओली, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम रावल र डा. राजन भट्टराई लगायत थिए ।

मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, महिन्द्र राय यादव, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव हायत होटलमा पुगेका थिए ।

कांग्रेसको टोलीले मुखर्जीसँग भेट गरिसकेपछि एमालेको पालो आएको थियो । एमालेको पालो सकिएपछि मोर्चाका नेताहरुले मुखर्जीसँग भेट गरेका थिए ।

‘वेटिङ रुम’ मा एमाले र मधेसी मोर्चाका नेताहरुवीच कुनै गम्भीर राजनीतिक वार्तालाप चाँहि नभएको एमालेका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment