Comments Add Comment

त्यो मुक्तक, जुन गोपाल योञ्जनले माग्दा पनि पाएनन्

६० वर्षपछि त्यही मुक्तक गीत बन्दाको कथा

ratna-shamsher-thapa_810

दार्जिलिङबाट नेपाल आएर धेरै संगीतकर्मी र कलाकारले कुनै समय नेपाली संगीतमा एउटा युग रचे । त्यसमध्येका एक थिए गोपाल योञ्जन । संगीत सिर्जना मात्र होइन, गीत रचना र गायनमा पनि उत्तिकै दखल राख्ने उनको बहुआयामिक पाटो थियो ।

त्यो समयमा कसको चाह थिएन होला र उनको संगीतमा गाउने तथा आफ्नो गीतमा उनले संगीत भराउने । तर, त्यसबेला यस्ता व्यक्ति पनि थिए, जसले गोपाल योञ्जनले म संगीत भर्छु भनेर रचना माग्दा दिएनन् । उनी हुन् कवि तथा गीतकार रत्न शमशेर थापा ।

रत्नसँग कुनै समय योञ्जनले संगीत भर्छु भन्दै उनको एउटा मुक्तक मागेका थिए । त्यो मुक्तकमा दुई-चार पंक्ति थपेर गीत बनाइदिन गोपाल योञ्जनले आग्रह गरेका थिए ।

तर, रत्नलाई यो कुरा मञ्जुर भएन । कतिसम्म भने, योञ्जनले त्यो मुक्तकमा ‘पुच्छर’ अर्थात् अन्तरा थप्न अनुनय गर्दै दार्जिलिङबाट रत्नलाई चिठी नै लेखे । फेरि पनि उनले त्यो आग्रहलाई टारिदिए ।

रत्न सम्झिन्छन्, ‘मुक्तकलाई गीत बनाउन अरु लाइन थप्न थाल्यो भने त्यसको ब्यूटी नै मर्छ । त्यही भएर मलाई त्यो कुरा मञ्जुर भएन ।’

अतीतको त्यो प्रसंग उप्काउने क्रममा रत्न पुग्छन् ०२३ सालतिर । जुन बेला योञ्जन दार्जिलिङमै थिए, संघर्षको डुंगा खियाउँदै थिए ।

एउटा साहित्य सम्मेलनमा सहभागी हुन साहित्यकारको एक टोली झापा पुगेको थियो । सम्मेलन सकिएपछि केही साहित्यकार राजधानी फर्किए । रत्न शमशेर, विजय मल्ल, मोहन हिमांशु थापा, ध्रुवचन्द्र गौतम लगायत लेखकहरु भने त्यतैबाट दार्जिलिङ लागे ।

दार्जिलिङमा उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गरियो । त्यहाँ रत्नले मुक्तक सुनाए –

कुल्ची हिँड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो ।

मुक्तकले श्रोताबाट निकै ताली पायो । कार्यक्रममा गोपाल योञ्जन पनि आएका रहेछन् । उनले मुक्तक मन पराएर संगीत भर्ने इच्छा देखाए । रत्न भन्छन्, ‘त्यहीँ योञ्जनले मसँग यो मुक्तकलाई तन्काएर गीत बनाउन भनेका थिए ।’

योञ्जन र नगेन्द्र थापा त्यतिबेला दार्जिलिङमा बीए पढ्दै थिए । योञ्जनले त्यो समयमा संगीत सम्बन्धी हिमालय कला मन्दिर नामक संस्था खोलिसकेका थिए ।

ratna-shamsher-thapa-2

कार्यक्रमपछि नेपाली लेखकहरुले दार्जिलिङका स्थानीय ठाउँहरू घुमघाम पनि गरे । योञ्जनको घरमा पनि गए रत्न । घरमा योञ्जनकी आमा र दिदी रत्नको गफ सुनेर औधि रमाए ।

घुमघामकै क्रममा रत्नको स्वास्थ्यमा समस्या देखियो । ‘ब्लडप्रेसर लो भएर गाह्रो भएपछि म चाँडै काठमाडौं फर्किएँ’, उनले सुनाए ।

केही दिनमा अलि तंग्रिएपछि उनले काठमाडौंबाट योञ्जनलाई चिठी लेखे, ‘उपचार हुँदै छ, ठीक हुँदै छु’ बेहोराको ।

उताबाट योञ्जन र नगेन्द्रले एउटै पानामा फरक-फरक सम्बोधन गर्दै रत्नलाई जवाफी चिठी फर्काए । योञ्जनले लेखेको चिठीमा रत्नको त्यही मुक्तकमा संगीत भर्ने तीव्र इच्छा अझ छताछुल्ल थियो ।

चिठी यस्तो थियो –

२ अप्रिल १९६७
रत्नजी,
हिज मात्र अलपत्र परी रहेको बेलामा तपाईंको पत्र पाएर ढुक्क भएँ, नत्र फेरि अलमल ।

जाने साथ थलिनुभो भनेको सुनेर दुःख लाग्यो । तपाईँ त बिमारी हुनै रैछ आखिरी, यहीँ बिरामी हुन पथ्र्यो नी बरु ! हामी केही दिन भए पनि तपाईको मिठा मिठा गफहरुमा छाति र गला खोलेर हाँस्न सक्थ्यौं । साँच्चै ! रत्नजी तपाइँसित हामी कति हाँस्यौं, त्यो सम्झँदा त्यति नै रुन मन लाग्छ । कति मजा भएको थियो नी ? धुम्मिएको दिन उज्यासलएको थियो साँच्चै हाम्रो निम्ति तपाईँ र हिमांशुलाई दुई दिन साथ पाएर । यति कम समय लिएर आउनु भो, म त सपना पनि त्यो भन्दा त लामो देख्छु ।

र अरु कुरा ! मीतज्यूलाई चिठी लेखेको छु, ‘सो’ गर्ने बारे । यो पत्रले सायद तपाईंलाई उठेरै पाउँछ, पाओस् । तपाईंको पंक्ति ‘किल्ची हिँड…’ मलाई यति मिठो लाग्यो, सोचेँ मैले आफ्ना तमाम गीतहरु भुलेको छु । धुन पनि भरेँ, अब चाहियो त्यसको पुच्छर । त्यसको पुच्छर जोड्नु होला ।

तपाईंले यो झैं अहिले संगीत बन्द छ भनौं । पढाइ अलिअलि हुँदैछ । हुनै पर्ने रहेछ । हिमांशुजीको पत्र अझै पर्खिरहेको छु । भनिदिनु होला ।

आजलाई यति ।
माया, सम्झना ।

ओ हो ! तपाईंले गाउनुभएको ती दुई लाइन त लेख्नै पो बिर्सेछु !
मेरो प्यारको मोती तिम्रो पाउभरी छरिदिन्छु
मलाई बोलाऊ एकैपल्ट, मरे पनि आइदिन्छु ।

– गोपाल योञ्जन

gopal-yonjan-letter-to-ratna-shamsher-thapa
गोपाल योञ्जनले रत्नशमशेर थापालाई लेखेको पत्र

यसको जवाफमा रत्नले केही पठाएनन् । ‘मैले त दार्जिलिङमा भेटेकै बेला मुक्तकमा थप पंक्ति गाँस्न मिल्दैन भनिसकेको थिएँ,’ कमलपोखरीस्थित घरमा उनले विगत सम्झिए ।

रत्न र योञ्जनको सांगीतिक सहयात्राको थालनी यो मुक्तकबाट हुन सक्थ्यो, तर त्यो संयोग त्यत्तिकै टर्‍यो । यसमा उनलाई कुनै पछुतो भाव छैन ।

रत्न शमशेरले ०१२/१३ सालताका लेखेका त्यही मुक्तक आज आएर अहिलेका जल्दाबल्दा गायक राजेश पायल राईले गाएका छन् । हरि लम्सालले संगीत दिएको गीत राजेशको ‘दर्शन नमस्ते ३’ एल्बममा समेटिएको छ ।

६० वर्षपछि आफ्नो मुक्तक गीतको रुपमा आउँदा रत्न तृप्त छन् । रत्नका अनुसार, नेपाली गीति इतिहासमा यो नौलो प्रयोग हो । ‘अहिलेसम्म मुक्तक यसरी गीतका रुपमा संगीतबद्ध भएर आएको छैन सायद’, उनले भने, ‘गजबको प्रयोग भयो ।’

रत्नले कवि गोष्ठी र सम्मेलनहरुमा यो मुक्तक धेरै चोटि सुनाएका छन् । नाट्य सम्राट् बालकृष्ण समले त कार्यक्रमहरुमा यसलाई दोहोर्‍याई-तेहेर्‍याई सुनाउन लगाउने गरेको उनी सम्झन्छन् । कवि गोष्ठीहरुमा रत्न यो सहित अरु दुई-तीन वटा मुक्तक बढीजसो सुनाउँथे ।

गायक राजेश पायलले यो मुक्तक आफूले गाउन पाऊँ भनेर रत्नसँग मागेका थिए । गत वर्ष भूकम्प जानुअघिको कुरा हो, कमलपोखरीमा राजेशले रेस्टुरेन्ट सञ्चालन गरेका थिए । घर नजिकै भएकाले रत्न त्यतातिर टहलिन गइरहन्थे । त्यसै क्रममा राजेशले उनको मुखबाटै यो मुक्तक सुन्न पाएका थिए ।

आफ्नो मुक्तक कुनै दिन यसरी गीतका रुपमा रेकर्ड भएर आउला भन्ने रत्नले सोचेकै थिएनन् । तर, यो गीत मात्र बनेन, यसमा केही सुखद संयोगहरु पनि जोडिए

गाउने भनेर अति सम्मानपूर्वक मागेपछि रत्नले हुन्छ भनिदिए । तर, चार लाइनको मुक्तक गाउँदा छोटो हुने भन्दै राजेशले पनि गोपाल योञ्जनले जस्तै यसमा केही पंक्ति थपिदिन आग्रह गरे । यसपालि पनि उनले इन्कार गरे ।

चार लाइनकै गीत हुने भयो । जब मुक्तकमा संगीत भर्ने क्रम अगाडि बढ्यो, रत्न झन् विश्वस्त भए । संगीतकार लम्सालले उनीसँग भने, ‘तपाईंलाई चित्त नबुझेसम्म सय वटा धुन बनाउन पनि तयार छु ।’

यस्तो सुन्न पाउँदा रत्न दंग परे ।

तर, लम्सालले सय वटा धुन बनाउने सास्ती खेप्नैपरेन । तीन-चार वटा धुनमध्येकै एउटा धुनले रत्नको चित्त बुझ्यो । उनले भने, ‘संगीत भरिएर आएपछि आफ्नो रचनालाई न्याय भए जस्तो लाग्यो ।’

जम्मा चार लाइनको मुक्तक पनि साढे पाँच मिनेट हाराहारीको गीत बन्न सक्दो रै’छ भनेर उनले प्रफुल्ल मुद्रामा सुनाए ।
आफ्नो मुक्तक कुनै दिन यसरी गीतका रुपमा रेकर्ड भएर आउला भन्ने रत्नले सोचेकै थिएनन् । तर, यो गीत मात्र बनेन, यसमा केही सुखद संयोगहरु पनि जोडिए । राजेशको स्वरमा रहेको गीतको उठान गर्दा महानायक राजेश हमालको मुक्तक वाचन पनि राखिएको छ ।

‘कुल्ची हिँड’ बोलको यो मुक्तकमा प्रेमिल प्रसंग रहेकोले धेरैले कतै रत्नको व्यक्तिगत जीवनसँग यसको साइनो छ कि भनेर अनुमान लगाउने गर्छन् । हुन पनि अधिकांश कार्यक्रम र गोष्ठीहरुमा जाँदा उनी अक्सर यही मुक्तक रोज्छन् र टाठो स्वरमा वाचन गर्छन् ।

उनले यो टुक्रा प्रेमले पुलपुलिएर वा असाध्यै विरक्तिएर लेखेका हुन् त ?

उनले यसलाई ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ उक्तिबाट प्रष्ट पार्न खोजे । भने, ‘कविले सबै कुरा आफूले बाँचेको र भोगेको मात्र लेख्छ र ? यस्तो भएको भए कस्तो हुँदो हो भन्ने कल्पना गरेर पनि त लेख्छ नि !’

प्रस्तुति: जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment