+
+

खोलाले बगाएर मसानघाटमा पुर्‍याएको जिन्दगी !

योगनाथ धमला, जो ४३ वर्षदेखि शवसँग खेल्दैछन्

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक २७ गते १४:४५

२७ कात्तिक, झापा । कनकाईको घाटमा जलेको शव घोचिरहेको अवस्थामा भेटिन्छन् योगनाथ धमला । उनी उमेरले ६५ वर्ष पुगिसके । विगत ४३ वर्षदेखि उनी यसैगरी घाटमा बसेर शवसँग खेलिरहेका छन् । उनलाई ‘शवको साथी’ भन्दा पनि फरक पर्दैन ।

भारतको मसानघाटबाट सुरु भएको उनको जिन्दगी चितवनको देवघाट हुँदै झापाको कन्काइ माईको तीरमा आइपुगेर अडिएको छ । हाल कनकाई आर्यघाट संस्थामा कार्यरत छन् उनी ।

धमला अघिल्लो साता सम्मानित पनि भए । कामप्रतिको लगनशीलता र मेहनत देखेर घाट समितिले उनलाई पुरस्कृत गर्‍यो ।

धमलालाई खोज्दै हामी कन्काइ घाटमा पुग्यौं । त्यहाँ एक हुल मलामी थिए । धमलाचाँहि जलिरहेको शव घोचिरहेका थिए । शव घोचेर जलाउनु धमलाको दैनिकी नै हो ।

खोलाले बगाएर घाटमा पर्‍यायो

बुढेसकालमा कन्काइको गडतिरमा शव पोल्ने काम गरिरहेका धमला भोजपुरको दिङ्लामा जन्मिएका हुन् । ०२९ सालमा उनको परिवार बसाइर्ँ सरेर पहाडबाट झापा झर्‍यो ।

धमला परिवारले महारानी झोडामा एएटा सानो झुप्रो बनाएको थियो । तर, निर्दोष गरीबको त्यो भुपडी पापी रतुवा खोलाले बगाएर सखाप बनाइदियोे ।

रतुवा खोला त्यही हो, जसले धेरै झापालीहरुको घरबार उठीवास बनाएको छ । स्वयं केपी ओलीको परिवारलाई पनि यही रतुवा खोलाले सुकुम्वासी बनाइदिएको हो । गत चुनावमा ओलीले रतुवा खोलामा बाँध बाँध्ने भन्दै ‘रतुवाको पाता फर्काउने’ भनेका थिए ।

यही पापी रतुवाले झुपडी बगाएको एक वर्ष बित्न नपाउँदै योगनाथका बुबा हरिप्रसादको देहान्त भयो । परिवारमा आमा विष्णु र भाइ रुद्रप्रसाद थिए । अब परिवार हाँक्ने जिम्मा योगनाथको काँधमा आयो । तर, विकल्प केही थिएन । आमा र भाइ बाध्य भएर फेरि भोजपुरै फर्किए । योगनाथ चाहिँ जिजिविषाले डोर्‍याउँदै कलिलै उमेरमा भारततिर छिरे ।

योगनाथ सुरुमा काशी गए । गया पुगे । त्यहाँ उनले मिस्त्री काम गरे । केहीसमय भैंसी गोठमा पनि काम गरे । अरुणाञ्चल पुगेर अदुवा खेती गरे । तर, यी कुनै पनि कामबाट चित्तबुझ्दो कमाइ भएन ।

योगनाथले मराठी व्यक्तिलाई साथी बनाएका थिए । तिनले त्यसबेला भनेको कुरा योगनाथ अहिलेसम्म सम्झन्छन् -‘मूर्ख आद्मी, वेद पढ के क्या पैसा होते ? चल हमारे साथ ।’

यति भनेर उनले धमलालाई त्यहाँको घाटमा पुर्‍याए । र, शवसँग खेल्ने जागिर लगाइदिए । भारतीय घाटमा आम्दानी पनि राम्रै हुन्थ्यो । अगाडि गरेका कामको भन्दा बढी नै थियो कमाइ । योगनाथ सम्झन्छन्- ‘त्यतिबेला सानै थिएँ, बच्चारहेछ भन्दै मलाई ८ आनी, ४ आनी दिन्थे । म ती पैसा बचाएर राख्थें ।’

अर्काको मुलुकमा योगनाथ धेरै वर्ष टिक्न सकेनन् । मातृभूमि र परिवारको यादले दुःख दियो । उनले नेपाल फर्किने निर्णय लिए । विसं. ०५७ सालको कुरा हो । त्यसबेला योगनाथ केही रकमसमेत लिएर आए । शव पोलेरै उनले कमाएको रकम थियो त्यो । अझ भनौं, बचत गरेको रकम । नेपाल आएर उनले मंगलबारेमा १० धुर जग्गा जोडे । घरसहितको जग्गा किनेका थिए । त्यहाँ छोराछोरीलाई राखे । सानैमा विवाह गर्ने चलन थियो, उनी भारत गएको समयमा विवाह गरेरै गएका थिए । श्रीमती वालबच्चासहित माइतमै थिइन् ।

रतुवाले बगाएर घाटमा पुगेको योगनाथको जीवन घेरै समय घरखेतमा बस्न सकेन । नियतिले उनलाई पुनः घाटमै पुर्‍यायो । मंगलबारेमा घरखेत किनेको केही महिनामै छोरी विरामी भइन् । आफू पनि विरामी भए । श्रीमती पनि विरामी थिइन् । क्रमशः परिवारका सबै सदस्यहरु बिरामी परे ।

उपचारका लागि उनले घरखेत बेचे । तर, पनि छोरीलाई बचाउन सकेनन् । फेरि उनी विरक्तिएर लागे चितवनको देवघाटतिर । त्यहाँ नारायणी नदीको तीरमा शवसँग खेल्ने काम सुरु गरे । उनले जानेको हातको सीप नै यही थियो ।

नारायणीमा उनले शव जलाउने ठेक्कै लिए । एउटा शव जलाए वापत १५ सय लिन्थे । योमध्ये ३ सय रुपैयाँ समितिलाई दिन्थे । देवघाटमा खाना, लुगाफाटा, कोठाभाडा लगायत तिरेर पनि उनी महिनामा १५/२० हजार बचाउँथे । तर, उनी त्यहाँ पनि धेरैसमय टिक्न सकेनन् ।उनलाई पश्चिम नेपालको रहन-सहन मन परेन । त्यसैले पूर्व नै आउन चाहे । दुई वर्ष पनि पुग्न नपाउँदै उनी चितवनबाट फेरि झापा सरे । यहाँ आएर केही समय मिस्त्री काम गरे ।

योगनाथका अनुसार मिस्त्री काम गर्न उनलाई जुरेको रहेनछ । मिस्त्री काम गर्दैगर्दा उनी एउटा घरको छतबाट खसे । खुट्टो भाँचियो । तुरुन्तै धरानस्थित घोपा लगियो । केही समयपछि होस आयो ।

उनलाई अस्पतालमा बस्नै मन लागेन । डाक्टरले भन्दै गरेको सुनेछन्, ‘स्टिल लाउनुपर्छ, खुट्टो ३ ठाउँमा भाँच्चिएको छ ।’ तर, उनी त्यहाँँबाट जसरी हुन्छ, उम्कने प्रयासमा लागे । उनी उपचार नै नगरी फर्किए । सामान्य रोकथामको काम मात्रै भयो । जबरजस्ती झापा आए । र, जडीबुटी लगाए । उनले यो बुबाबाट सिकेका हुन् रे ।

काउलो, सिकारीलहरा इत्यादि पकाएर खुट्टामा लगाए । झोल बनाएर खाए । बाँसको भाटो खिपेर आफैं काम्रो बाँँधे खुट्टामा । नभन्दै ८ महिनापछि उनी सामान्य हिँडडुल गर्न सक्ने भए ।

उनले बैसाखी टेकिरहेकै थिए । त्यहीबेला अहिलेको कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरियाले उनलाई भेटे । काम गर्ने कर्मचारी चाहिएको रहेछ । र, उनले बैसाखी टेकैरै काम सुरु गरे । पछि ठीक भएपछि अझ जोश बढ्यो ।

दम्पती नै घाटमा

yognath-dhamala-1

अहिले योगनाथ श्रीमती पदमादेवी अधिकारीका साथमा बस्छन् । पदमा पनि अहिले श्रीमानसँगै घाटमा काम गर्छिन् । आर्यघाटमा सरसफाइ लगायतका क्षेत्र हेर्छिन् पदमादेवीले ।

श्रीमानलाई यस्तो काम नगरौं, छोडौं भनेर पटक-पटक भनिन् पद्माले । बरु तातोपानी मात्रै खाएर बाचौंला भनेर सम्झाइन् । आफन्तहरुले पनि शवसँग खेल्ने काम छोड्न भने । तर, ‘बुढा’ मान्दै मान्दैनन् । अब त उनी शवसँग खेल्न बानी नै परिसके । र, उनलाई बचाउने पेशा नै यही हो ।

हुन त योगनाथहरुले यस्तो काम नगरिदिए हामीले मृत्यु संस्कार कसरी सम्पन्न गर्ने ? यो एउटा पवित्र काम हो, जसले योगनाथको जीवन बचाएको छ । यद्यपि धमला परिवारलाई लाग्छ, नियतिले ठगेर उनीहरु यो ठाउँमा आइपुगेका हुन् ।

मसानघाटको झिनो खुशी

हुन त योगनाथलाई कनकाई घाट व्यवस्थापन समितिले बिल काट्ने र मलामी आउनेलाई दाउरा दिने कामका लागि राखेको हो । तर, उनी आफूले सानैदेखि गर्दै आएको शवलाई घोच्ने काम पनि गर्छन् । उनी मलामीहरुलाई सघाउँछन् ।

यसो गरेवापत उनलाई मलामीले केही पैसा दिन्छन् । ‘कहिलेकाहिँ चन्दा उठाएर शव जलाउन ल्याएका हुन्छन्’, धमला भन्छन्, ‘त्यस्ताको चाहिँ सित्तैमा गर्छु । सेवा पनि त गर्नु पर्‍यो नि !’

धमलाले एउटा शव जलाएवापत १५ सय रुपैयाँसम्म पाएका छन् । कनकाई आर्यघाटमा दैनिक ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याइन्छन् । उनले एकै दिनमा ११ वटासम्म शव पोलेका छन् । ‘एभरेजमा हो, बढीमा ५/६ वटा आउँछन्’, उनले भने, ‘कहिलेकाहिँ त २/३ दिनसम्म एउटै शव आउँदैनन् ।’

हाममीले धमलालाई भूतप्रेत र डरका विषयमा सोध्यौं – ‘घाटमा भूतप्रेतले तर्साउँछ भन्छन् नि ? जतिवेलै शवसँग बस्नुहुन्छ, डर लाग्दैन ?’
‘के को हुनु भुत-सुत बाबु’, धमलाले भने, ‘यो त सब मनको डर मात्रै हो । मनमा डर लियो भने त छाँयाले पनि तर्साउँछ । यत्रो वर्ष भइसक्यो शव पोलेकोे । तर, खै..? अहिलेसम्म भुत भन्ने केही देखिएन । भुत हुन्छ भन्ने कुरा ‘भ्रम’ मात्रै हो ।’

कुरा गर्दै जाँदा धमला एकाएक जोशिए । उनले पत्रकार ऋषि धमलालाई सम्भिmए । उनले भने, ‘तपाईं पत्रकार हुनुहुँदोरहेछ, मेरो भतिजोलाई चिन्नुहुन्छ ?’

केही समयअघि शवसँग खेल्दै गरेका योगनाथ धमलालाई सम्मान गरेको समाचार ऋषि धमलाले काठमाडौंमै हेरेछन् । र, उनलाई फोन गरेछन् ।

यसो भन्दैगर्दा योगनाथ निकै खुशी देखिए !

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?