+
+

झापामा प्रधानाध्यापक नियुक्ति विवादले शिक्षकले तलब पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १६:२२

२६ वैशाख, काठमाडौं । प्रधानाध्यापक नियुक्ति विवादका कारण झापाको कमल गाउँपालिकाको वाणी माविका शिक्षकले तीन महिनाको तलब पाउन सकेका छैनन् ।

तत्कालीन प्रधानाध्यापक लक्ष्मी डाँगीले गत माघमा राजीनामा दिएपछि अर्को प्रधानाध्यापक नियुक्ति विवादका कारण शिक्षकहरुले चैतमा पाउनुपर्ने तीन महिनाको तलब रोकिएको हो । १८ माघमा डाँगीले प्रधानाध्यापक पदबाट राजीनामा दिँदै वरिष्ठताको आधारमा सामाजिक विषयका शिक्षक तेजनाथ भट्टराई निमित्त प्रधानाध्यापक बनेका थिए ।

१९ माघमा विद्यालय व्यवस्थापन समितिले डाँगीको राजीनामा स्वीकृत गर्नुको साथै नयाँ प्रधानाध्यापक नियुक्तिका लागि माध्यमिक तहका तीन स्थायी शिक्षकहरुबाट विद्यालय सुधारको कार्ययोजना माग गर्ने र त्यसको आधारमा नियुक्ति दिने निर्णय गर्‍यो ।

त्यस अनुसार १५ दिनको समय तोकेर समितिले सूचना जारी गर्‍यो । निमित्त प्रधानाध्यापक तेजनाथ भट्टराईले कार्ययोजना पेश गरेनन् भने अरु दुई शिक्षकले पेश गरे । व्यवस्थापन समितिको अध्यक्ष अरुण भण्डारीले भट्टराईलाई कार्ययोजना पेश गर्न आग्रह गरेको तर एक हप्तासम्म नदिएको बताए ।

‘टीएन सरले तोकिएको समयभन्दा एक हप्ता बढीसम्म पनि कार्ययोजना पेस नगरेपछि तपाईंले कार्ययोजना हाल्नुभएन, कार्ययोजना पेश गर्ने दुई जनाबाट छनोट गर्नुपर्ने भयो बैठक बसौं भन्दा उहाँले म नहुने भए बैठक बस्दिनँ भनेर टारिरहनुभएको छ’, अध्यक्ष भण्डारीले भने ।

विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक सदस्य सचिव रहन्छन् । निमित्त प्रधानाध्यापक नै बैठकमा नआउने भएपछि व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट समिति पनि बनाउन नसकेको समितिका अध्यक्ष भण्डारी बताउँछन् ।

निमित्त प्रधानाध्यापक भट्टराईका कारण प्रधानाध्यापक नियुक्तिमा साढे दुई महिना अलमल भएको छ । शिक्षकहरुको तलब तथा विद्यार्थीको दिवा खाजाको रकम रोकिएपछि २ वैशाखमा वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समितिको बैठकले कार्ययोजना पेस गरेकामध्ये जगन्नाथ फागोलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गर्‍यो ।

विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा भएको विवाद देखाएर गाउँपालिकाले शिक्षकको तलब र दिवा खाजाको रकम रोकेको छ । पालिकाले समस्या समाधान गरेर आउनू भनेपनि समस्या नसुल्झिएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुण भण्डारीले आइतबार राजीनामा दिएका छन् ।

‘मैले त विद्यालय सुधार गरौं, राम्रो बनाऊँ भनेर प्रयास गर्न खोजेको थिएँ तर मेरै कारण समस्या उत्पन्न भएको भन्ने खालको कुरा आएपछि लौ न त मैले छोडेर राम्रो हुन्छ भने म छोड्छु भनेर राजीनामा दिएको हुँ’, उनले भने ।

पालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि विवाद भएका कारण सबैको राय लिएर निर्णय गर्न आग्रह गरिएको बताए । ‘फेरि पनि विद्यालय व्यवस्थापन समितिलाई निर्णय गर्ने अधिकार छ हामीले सुझाएका मात्रै छौं’, उनले भने ।

निमित्त प्रधानाध्यापक तेजनाथ भट्टराईले यो समस्याको निकास गाउँपालिकाले दिनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?