Comments Add Comment

बन्दमा साझाको सेवा निरन्तर

banda_sajha

२८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आज पनि निरन्तरता दिएको छ ।

बन्दमा सर्वसाधारणलाई सेवा पुर्‍याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ । साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

नेकपा (माओवादी)ले खाद्य सुरक्षाको माग गर्दै आज बन्दको आह्वान गरेको छ । बन्दले कामकाजी सर्वसाधारण मर्कामा परेका छन् भने उपत्यकामा पातलो सङ्ख्यामा सवारी साधन गुडिरहेका छन् ।

साझाले विगतका बन्द, हडताल, भूकम्प र नाकाबन्दीका बेला पनि निरन्तर सेवा दिँदै आइरहेको छ । उसले तीन सय ६५ दिनै सेवा दिने घोषणा गरेअनुरुप महत्वपूर्ण चाड दसैँ, तिहार, छठ लगायत बेला पनि सेवा दिने गरेको जनाएको छ ।

नयाँ बस सञ्चालनको तयारी 

साझा यातायातले उपत्यकामा थप सेवा विस्तार गर्नका लागि नयाँ ३० बस सञ्चालन गर्ने तयारी गरेको छ । मार्ग इजाजतका लागि वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निवेदन दिइएको र इजाजत पाउनेबित्तिकै सेवा सुरु गरिने कार्यकारी अधिकृत पाण्डेले बताए ।

उनका अनुसार साझाका नयाँ बस साझाको परिसरभित्रै छन् । साझाले हाल ४६ बस मार्फत सेवा दिँदै आएको छ । तीमध्ये आठ वटा लामो दूरीमा चल्छन् । गत दसैँदेखि साझाले गोरखा, लुम्बिनी, वीरगन्ज र भैरहवामा सेवा दिँदै आएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment