Comments Add Comment

मापदण्ड मिचिएका र नक्सा पास नभएका महानगरका घर भत्काइने

घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आग्रह

kathmandu-building
२ मंसिर, काठमाडौं । तपाईंले महानगरमा नयाँ घर त बनाउनु भयो तर, घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन छुटाउनु भएको त छैन ? त्यसो हो भने छिट्टै घर निर्माण सम्पन्न प्रमाण पत्र लिनु होला । यसका लागि काठमाडौं महानगरपालिकाले पुससम्मको समय दिएको छ । यो अवधिमा नभए कारबाही गर्ने महानगरको चेतावनी छ ।

नक्सा पास नगरी बनाइएका घर तथा संरचनाको पनि यही समयभित्र अनिवार्य रुपमा नक्सापास गराएर प्रमाणपत्र लिनुपर्नेछ ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै पुसभित्र निर्माण सम्पन्न्न भएको प्रमाणपत्र नलिनेहरुलाई दुई महिनाको समय सीमा दिएको छ । र, भनेको छ-‘तोकिएको समयभित्र निर्माण सम्पन्न प्रमाणपत्र वा निर्माण प्रमाणित नगरे स्थानीय स्वायत्त शासन ऐन अनुसार कारवाही हुनेछ ।’

घर बनेको एक वर्षभित्र प्रमाणपत्र लिनका लागि महानगरपालिकामा निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । प्रमाणपत्र लिनका लागि महानगरपालिकाले तोकेको मापदण्ड पूरा गरी निर्माण गरेको हुनुपर्छ । तर, आफू खुसी र मापदण्ड मिचेर घर बनाउने धेरै भएपछि प्रमाणपत्र लिनेहरुको संख्या निकै कम छ ।

के कारवाही हुन्छ ?

काठमाडौं माहनगरपालिकाभित्र झण्डै ८० प्रतिशत घर मापदण्ड मिचेर बनेको महानगरको अनुमान छ । अब उसले सुरुमा मापदण्डभित्र आउन आग्रह गरेको छ । र, यसलाई पनि अटेर गरे टोली नै खटाएर विवरण संकलन गर्नेदेखि भत्काउने काम गर्नेछ ।

मापदण्डभित्र बनेका भवनहरुको नक्सा प्रमाणित गर्ने र बाँकीलाई नक्सा अनुसार राखेर भत्काउने महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए ।

‘मापदण्ड नमान्ने र नक्सा पास पनि गराउन नआउनेलाई भत्काउनै पर्छ’ काफ्लेले भने, ‘अब कारवाहीको प्रक्रिया बास्तविक रुपमै अघि बढेको छ । नियम नमानेर बनेका संरचना भत्काउने बिकल्प छैन ।’

अहिले थालिएको तयारीले महानगरभित्रका सबै घरको वास्तविक प्राविधिक अवस्था पत्ता लाग्ने महानगरपालिकाको विश्वास छ ।

उनकाअनुसार अब नक्साभन्दा फरक गरेर बनाइएका, नक्सा नै पास नगरिएका, सार्वजनिक जग्गा मिचिएका, नक्साभन्दा बढी तला र संरचना थपेका लगायतका सबै घरको विवरण संकलन गरिनेछ । मापदण्डभित्र रहेकालाई नक्सा प्रमाणित गरिनेछ भने अन्यलाई कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।

अरु सेवा सुविधा पनि रोकिने

यति मात्र होइन, घर निर्माण सम्पन्न प्रमाणित नगरका सेवाग्राहीले महानगरबाट पाउने सेवा पनि कटौती गर्ने तयारी छ । प्रमाणपत्र नबुझ्नेहरुको महानगरपालिकाबाट हुने सबै किसिमका सिफारिस रोक्ने योजना बनाइएको छ ।

महानगरले अघिल्लो वर्षको असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेको थियो । निर्माण सम्पन्न प्रमाणपत्र नलिए घर बैंकमा धितो राखी ऋण लिन नपाइने, हकदाबी गर्न नपाइने व्यवस्था छ । यस्तै घरको बेचबिखन गर्न नपाइने मात्र हैन, धारा र बत्ती जडान गर्न महानगरले सिफारिस समेत गर्दैन ।

कतिले लिन्छन् प्रमाणपत्र ?

महानगरपालिकामा धेरै घर मापदण्ड विपरित बनेकाले निर्माण सम्पन्न भएकाले धेरै घरधनीहरु प्रमाण लिन धेरै आउँदैनन् । भूकम्पपछि भने निर्माण सम्पन्न प्रमाणप्रत्र लिनेको संख्या केही बढेको महानगरको तथ्यांकले देखाउँछ ।

निर्माण सम्पन्न प्रमाणपत्रविना विभिन्न कागजी कामकारवाही नहुने व्यवस्था गरिएपछि प्रमाणपत्र लिनेको संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७१/७२ को अघिल्लो आर्थिक वर्षमा पाँच सय ४३ वटा घरको मात्र निर्माण सम्पन्न प्रमाणपत्र जारी भएको थियो । बितेको आर्थिक वर्षमा भने एक हजार चार सय ९२ जनाले त्यस्तो प्रमाणपत्र लिएका थिए ।

निर्माण सम्पन्न प्रमाणपत्र नलिने प्रवृत्तिले गैरकानुनी तथा मापदण्डविपरीत भवन निर्माण गर्ने, तत्काल मुनाफाका लागि कमजोर निर्माण सामग्री प्रयोग गरी भवन बनाई बिक्री वितरण गर्ने जोखिम बढेको महानगरका अधिकारीहरु बताउँछन् ।

(फोटोः skyscrapercity.com)

महानगरपािलकाकाे सूचना हेर्नुस्

kmc-notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment