Comments Add Comment

लोकसेवा अध्यक्ष मैनालीलाई आरोप- कांग्रेस कर्मचारीको लिस्ट बोक्दै मन्त्रालय धाउँदै !

मैनाली भन्छन्- नितान्त खराब नियतले लगाइएको आरोप

Umesh-Mainali

८ मंसिर, काठमाडौं । गत हप्ता एउटा कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदीले मैले बुझेको र भोगेको सार्वजनिक प्रशासन शीर्षकमा निजामती प्रशासनको कमजोरीमाथि टिप्पणी गरेका थिए । त्यसपछिको वक्ता थिए, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली ।

अध्यक्ष मैनालीले सार्वजनिक प्रशासन आफ्नो मूल्य मान्यता अनुसार चल्न नसकेको आरोप लगाए । ‘प्रशासन साह्रै लोसे भयो,’ उनले भनेका थिए, ‘राजनीतिले यति धेरै परिवर्तनको फड्को मार्‍यो तर सार्वजनिक प्रशासनले त्यसअनुसार आफ्नो लय मिलाउन सकेन ।’

उक्त अन्र्तक्रियामा केही सचिव, पूर्वसचिव सहित सामान्य प्रशासन मन्त्रालयका अधिकृतहरु समेत सहभागी थिए । मञ्चबाट उमेश मैनालीले सार्वजनिक प्रशासनमाथि खरो प्रहार गर्दै आफ्नो आदर्शवादी विचार प्रस्तुत गरिरहँदा एक जना अफिसरले प्रश्न गरे, ‘त्यो व्यवहार तपाईमा किन भएन ?’

अनलाइनखबरसँग कुरा गर्दै ती अफिसरले मैनालीमाथि यस्तो टिप्पणी गरे । ‘महालेखा नियन्त्रकले केही महिना अघि लेखा समूहका उपसचिव निर्मल न्यौपानेलाई लोकसेवा सरुवा गरेर पठायो । लेखा समूहका कर्मचारीलाई महालेखा नियन्त्रक र अन्य समूहका कर्मचारी सरुवाको जिम्मेवारी र अधिकारी सामान्य प्रशासन मन्त्रालयलाई मात्र हुन्छ ।

तर लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले उपसचिव निर्मल न्यौपानेलाई लोकसेवा आयोग जान दिएनन् । उनले महालेखा नियन्त्रकलाई भने मलाई न्यौपाने पठाएर हुँदैन, हाम्रा पुराना उपसचिवलाई नै निरन्तरता गरिदिनु ।’

मैनाली लोकसेवा अध्यक्ष भएर गएदेखिको गतिविधी स्मरण गर्दै उनले भने, ‘अहिले लोकसेवामा सरुवा भएर जाने कर्मचारीहरु मैनालीबाट स्वीकृत गराउनुपर्छ । उनलाई चित्त नबुझेका अर्थात उनले राख्ने राजनीतिक आस्थासँग मेल नखाने कर्मचारीलाई लोकसेवा प्रवेशमा लगभग बन्देज लगाइएको छ ।

उनले अनलाइनखबरसँग प्रश्न गरिदिन भने, ‘मैनाली ज्यूले भित्र-भित्र यस्ता गतिविधी गर्ने अनि बाहिर आदर्शवादी कुरा गरिदिनु भएन ।’

‘हरेक मिटिङमा चिट किन ?’

लोकसेवा आयोगका अध्यक्ष सचिव तथा सहसचिवको बढुवा समितिको पनि अध्यक्ष हुन्छन् । उक्त समितिको हरेक बैठकमा सहभागि हुँदा मैनालीले आफ्ना मान्छेहरु सरुवा गरिदिन लिष्ट बोकेर आउँछन् र सचिवलाई दिन्छन् । सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने, ‘उनले दिएको चिटमा नाम लेखिएका व्यक्तिहरुको सरुवा गरिएन भने उनले त्यसलाई अस्वीकार गर्छन् । उनले यस्तो किन गरे ? कि त्यस्तो काम गरिदिनुभएन की आदर्शका कुरा बन्द गरिदिनु पर्‍यो ।’

लोकसेवा कब्जा भयो !

लोकसेवा आयोग कुनै राजनीतिक दल वा नेताहरुको दबाव र प्रभावमा पर्दैन । त्यसैले यसको छवि स्वच्छ छ र काम गराइको निष्पक्षतामा प्रश्न उठाउने ठाउँ छैन ।

तर, नेपाली कांग्रेस पार्टीप्रति आस्था राख्ने अध्यक्ष मैनालीले लोकसेवाको तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रमुख पदहरुमा कांग्रेस निकटकै कर्मचारी आउन् भन्ने चाहाने गरेको कर्मचारीहरु बताउँछन् ।

त्यसैले आफू निकटका कर्मचारीहरुसँगको बसाइमा एकदिन मैनालीले भनेका थिए, ‘सचिव पनि कांग्रेसकै ल्याइयो । लोकसेवा आयोगको तलदेखि माथिसम्म मैले सबै सेटिङ मिलाइसकें ।’

लोकसेवा आयोगमा सचिव मधुप्रसाद रेग्मी हालै सरुवा भएर गएका छन् । उनी कांग्रेस निकट मानिन्छन् ।

मैनालीद्वारा आरोप अस्वीकार

अध्यक्ष मैनालीले भने आफू रहेको आयोगमा कसलाई लाने र कसलाई निकाल्ने भन्ने अधिकार आयोगलाई भएको बताए ।

उनले भने, ‘हो, गर्ने नै त्यहि हो । आयोगको इच्छाविरुद्ध सरुवा गर्न पनि पाइँदैन, कुनै कर्मचारी हटाउन पनि पाइदैन ।’

उनले कुन कर्मचारी आयोगले लान चाहेको हो भनेर सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेख्ने गरेको स्वीकार गरे ।

बढुवा समितिको बैठकमा पुग्दा आफ्ना मान्छे विभिन्न कार्यालयमा सरुवा गर्न चिट दिने गरेको र त्यसका लागि दवाव दिने गरेको भन्ने आरोपमा भने सत्यता नभएको उनले स्पष्ट पारे ।

अनलाइनखबरसँगको कुराकानीमा मैनालीले भने, ‘यो एकदमै गलत आरोप हो, नितान्त खराब नियतले लगाइएको आरोप हो ।’

मैनालीले लोकसेवा आयोगलाई कांग्रेसप्रति आस्था राख्ने कर्मचारीको थलो बनाएको भन्ने आरोप पनि लाग्दै आएको छ । तर मैनालीले यस्तो आरोपलाई समेत सिधै अस्वीकार गरेका छन् । उनले भने, ‘नो, नो, नो । यस्तो पनि कसैले भन्छ ? आयोगमा म एक जनामात्र छैन, आयुक्तहरु समेत गरी ७ जना छौँ ।’

लोकसेवा आयोगमा कर्मचारी जो गए पनि यसको कार्य सम्पादन अन्य सरकारी कार्यालयहरुको तुलनामा विवादरहित मानिन्छ । परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगायतका कामबाट अतिरिक्त भत्ता पाइने भएकाले लोकसेवा आयोगको जागिर आकर्षक मानिन्छ । त्यसैले पहुँचवालाले आफ्ना मान्छे लोकसेवा आयोगमा सरुवा वा पदस्थापन गर्न चाहान्छन् ।

तर, जुन पार्टीको कर्मचारी लोकसेवामा गए पनि काममा हस्तक्षेप बढाउन सक्दैन । लोकसेवा आयोगका एक अधिकारी भन्छन्, ‘यहाँको सिस्टम नै यस्तो छ कि चाहे जो आओस् केहि पनि बिगार्न सक्दैन । सबै सिस्टममै चल्छन् । त्यसैले त लोकसेवा आयोग विवादमा पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment