+
+
Shares

‘द स्कुल ब्याग’ : आमा-छोराको न्यानो माया र आतंकवादको त्रासदी

पाकिस्तानसँग जोडिएका हरेक कुरालाई शंकाले हेरिने समयमा यस फिल्मले दुवै पात्रलाई अत्यन्तै सूक्ष्म रूपले मानवीय संवेदनाका साथ प्रस्तुत गरेको छ ।

कञ्चन कञ्चन
२०८३ असोज १९ गते १०:४०

१६ डिसेम्बर २०१४ को बिहान, तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) सँग आबद्ध सात अत्याधुनिक हतियारधारी उग्रवादीहरू पाकिस्तानको पेसावरस्थित ‘आर्मी पब्लिक स्कुल’ को पर्खाल नाघेर भित्र पसेका थिए।

बन्दुकधारीहरू सुरुमा विद्यालयको मुख्य अडिटोरियममा प्रवेश गरे । त्यहाँ विद्यार्थीहरूको ठूलो समूह प्राथमिक उपचारसम्बन्धी तालिम लिइरहेको थियो । उनीहरूले अन्धाधुन्ध गोली चलाउन थाले । त्यसपछि उनीहरू स्कुलका कोठा–कोठा घुम्दै आठ घण्टासम्म चलेको घेराबन्दीका क्रममा विद्यार्थी र शिक्षकहरूलाई योजनाबद्ध रूपमा गोली हान्दै गए।

यस हमलामा परी १५० जनाले ज्यान गुमाए, जसमा १३४ जना बालबालिकाहरू थिए । उनीहरूमध्ये अधिकांशको उमेर १२ देखि १६ वर्षबीचको थियो । विद्यालयकी प्रधानाध्यापक ताहिरा काजीले कैयौँ विद्यार्थीहरूलाई अदम्य साहसका साथ त्यहाँबाट भगाउन सफल भइन् । पछि हतियारधारीहरूले उनको पनि हत्या गरे ।

टीटीपीले उत्तर वजिरिस्तानमा पाकिस्तानी सेनाद्वारा सञ्चालित आतंकवादविरोधी अभियान ‘अपरेसन जर्ब-ए-अज्ब’ को बदलास्वरूप यो हमला गरिएको भन्दै जिम्मेवारी लियो । यो त्रासदीले विभाजित बनेको देशलाई एउटै सूत्रमा बाँधिदियो, जसका कारण पाकिस्तानले आतंकवादविरुद्धको व्यापक ‘राष्ट्रिय कार्ययोजना’ (नेसनल एक्सन प्लान) लागू गर्यो । मृत्युदण्डमाथि लगाइएको ६ वर्ष लामो प्रतिबन्ध हटायो । सैन्य अदालतहरू गठन गर्‍यो ।

***

सिनेमाका लागि यस्ता त्रासदीहरू केवल राष्ट्रियताका विषय होइनन्, सर्वोपरी मानवीय विषय हुन् । कसैको हत्या हुँदा उसँगै छटपटाउछन् उसँग जोडिएका मानिसहरू, उसले रचेका सम्झनाहरू । उसको अनुपस्थितिमा निर्मित शून्यताहरू मान्छेको कमलो थाप्लाले थेग्न सक्दैन । उसले छाडेर गएका कुराहरू, उसको स्वामित्वमा रहेका हरेक कुराहरूले उसको सम्झनालाई ताजा बनाइदिन्छ।

धीरज जिन्दलको निर्देशनमा बनेको सर्ट फिल्म ‘द स्कूल ब्याग’ तिनै कहिल्यै बिर्सन नसकिने सम्झनाहरूको बारेमा हो । एउटा सफल ट्राजेडी फिल्मको उदाहरण हो यो, जहाँ तपाइँलाई जबरजस्ती अतिरेक दु:ख पस्किएर रुवाउन खोजिएको छैन । आमा ( रसिका दुग्गल ) र छोरा फारूक ( सरताज आरके ) को मधुर प्रेमको संसारलाई आतंकवादका अनावश्यक विभत्सता र द्वन्द्व प्रदर्शन गरेर बिथोलिएको छैन । बरू मूल कथा आमा र छोराको सरल – सजह सम्बन्धकै वरिपरि फेरो लगाइराख्छ ।

फारुक स्कुलबाट फर्किएको छ । भोलि उसको जन्मदिन हुन्छ । ऊ आफ्नो जन्मदिनमा मिठा खानेकुरा खान पाउने उत्साह र आफू ठूलो हुँदै गरेको गर्वभावलाई मनभित्र साँचिरहेको छ । उसको विराट उत्साह फैलिन्छ कोठाभरि, घरभरि, पारदर्शी पर्दाभरि । तर उसभित्र एउटा कुरा असाध्यै खटकिरहेको छ । त्यो के भने उसले बजारमा एउटा स्कुल ब्याग देखेको छ – गुलाफी रङको, ‘बेन टेन’ को तस्वीर अंकित भएको । ऊ आमासँग माग गर्छ त्यो ब्याग । तर आमालाई आफ्नो सरप्राइजलाई यति सजिलै पटाक्षेप गर्नु छैन ।

उसले घुर्की लाउछ – ब्याग भएन भने म भोलि स्कुल जान्न ।

त्यसैले ऊ उदास छ । साँझ पर्न लागिसक्यो । सन्ध्याकालीन पहेँलो प्रकाश घरको पर्खालका कुमहरूमा बाक्लिएर ठोक्किन थालिसक्यो । ऊ त्यसलाई पृष्ठभूमि बनाएर घोत्लिरहेछ, ब्यागमा ।

तर भोलि बिहानै आफ्नो सरप्राइज देखेर खुसी हुन्छ । आमाको छातीमा टासिन्छ । आफू सधै समयपरायण हुने कसम खान्छ । नियमित स्कुल जाने बाचा गर्छ । उसको उत्साह स्कुलमा समेत पोखिन्छ । साथीहरूलाई आफ्नो नयाँ ब्याग देखाउँछ । आफ्ना शिक्षकहरूबाट जन्मदिनको शुभकामना लिन्छ । तर त्यही दिन स्कुलमा पस्छ, टीटीपी ।

काश, आमाले ब्याग ‘गिफ्ट’ नदिएको भए !

***

आमा-छोराको सम्बन्धको कोमलता र न्यानोपनलाई आतंकवादको त्रासदीसँग जुधाएर प्रस्तुत गर्ने सीमित र उत्कृष्ट फिल्महरूको सूचीमा यसलाई राख्न सकिन्छ ।

दुगल र सरताजको समीकरणलाई संवाद नै बिनापनि स्लो-मोसन सिन र पार्श्वसंगीतको माध्यमबाट प्रस्तुत गरिएका छन् । पाकिस्तानसँग जोडिएका हरेक कुरालाई शंकाले हेरिने समयमा यस फिल्मले दुवै पात्रलाई अत्यन्तै सूक्ष्म रूपले मानवीय संवेदनाका साथ प्रस्तुत गरेको छ । उनीहरू पेसावरमा बस्छन् भनेर नभनेसम्म यो कथा पाकिस्तानको पृष्ठभूमिमा आधारित हो भन्ने तपाईँले कल्पनासम्म गर्नुहुन्न । फिल्मको सम्पूर्ण एकाग्रता पात्रहरूको आत्मीय सम्बन्धमा केन्द्रित छ ।

धेरै जसो सर्ट फिल्ममा रसिका आफ्नो भूमिकामा निकै सहज र स्वाभाविक देखिन्छिन् । त्यस सिलसिलालाई उनले यस फिल्ममा पनि कायम नै राखेकी छिन् । उनको आँखामा, अनुहारको भावमा मातृत्वका स्वाभाविक छटारू देखिन्छन् । बालकलाकार सरताज पनि कम छैनन् । उनको आकर्षक स्क्रिन प्रेजेन्स र अनुहारको निर्दोषताले फिल्मलाई अझ सजीव बनाएको छ । तर कतिपय स्थानहरूमा भने उनका संवादहरू अलि बढी नै परिपक्व सुनिन्छन् । यसले गर्दा उनको पात्र अलि बढी नै स्क्रिप्टेड लाग्न पुग्छ ।

फिल्मले आफ्ना भावनात्मक प्रभावहरूलाई प्रगाढ बनाउन सिनेम्याटोग्राफी र संयमित पार्श्व सङ्गीतको प्रयोग गरेको छ । नेचुरल लाइट र क्लोज-अप दृश्यहरूले दर्शक र पात्रहरूबीच एउटा आत्मीय नाता गाँस्न मद्दत गर्छन् ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?