+
+

सीमांकन हेरफेरविरुद्ध प्यूठानमा बिरोध जारी, दुई घण्टा बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १६:०२

pyuthan-birodh

२० मंसिर, प्यूठान । अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै दुई सातादेखि जारी आन्दोलन अन्तरगत सोमबार पनि प्यूठानमा प्रदर्शन भएको छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म प्यूठानका बजारहरु बन्द गरिए ।

विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ लगायतका नेताहरुले सम्वोधन गरेका थिए । संविधान संशोधन मार्फत मुलुकलाई बर्बादीको दिशामा लैजान सरकार उद्दत भएको भन्दै उनीहरुले प्रस्ताव फिर्ताको माग गरे ।

प्रस्ताव फिर्ता नभए आन्दोलनलाई थप सशक्त बनाउने सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारी ‘प्रकाश’ले बताए ।

यसैगरी सत्ता साझेदार नेपाली कांग्रेसका प्यूठान सचिव देवेन्द्र बर्माले शान्तिपूर्ण आन्दोलनको आवाज सरकारले सुन्न नसकेमा स्थिति भयावह हुने चेतावनी दिए ।

सरकारमै रहेको राप्रपाका जिल्ला अध्यक्ष चुमानसिंह बस्नेतले पहिलो देश र जनता त्यसपछि मात्र पार्टी हुने भन्दै जनभावना विपरित सीमांकन हेरफेर गर्न नहुने धारणा राखे ।

प्यूठान जिल्लामा यस वर्ष देवालीको वर्ष भएकाले यातायात बन्दका कार्यक्रम नगरिएको राजनीतिक दलका स्थानीय नेताहरु बताउँछन् । देवाली सकिएलगत्तै सम्पूर्ण ठप्प हुने गरी सारा प्यूठानीहरुलाई सडकमा उतार्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्काले बताए ।

सीमांकन हेरफेर सम्बन्धि प्रस्तावविरुद्धको आन्दोलनमा सत्तारुढ दलकै नेताहरु अग्रपंक्तिमा छन् । आन्दोलन गर्न कांग्रेसका पूर्वसांसद मुक्ति शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

-विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?