२० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ५ नम्बर प्रदेशमा चलिरहेको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । साथै उसले सदनमा जारी संघर्षलाई अझै कडा बनाउने भएको छ ।
अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा आन्दोलन देशब्यापी बनाउनेबारे छलफल भएको सचिव योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
संविधान संशोधन विधेयक राष्ट्रघाती एवं बाहृय शक्तिको इशारामा आएको भन्दै त्यसलाई असफल बनाउन संसदको संघर्षलाई अझ कडा बनाउने भनेको छ । साथै तराई मधेसमा पनि पार्टीले अलग्गै अभियान चलाउने र मधेसी जनता विरुद्ध भइरहेको षडयन्त्रको भण्डाफोर गर्ने निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले बताए ।
बैठकमा अध्यक्ष ओलीले एमालेविरुद्ध आन्तरिक र बाहृय शक्तिहरुको मोर्चाबन्दी भइरहेको भन्दै राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन पार्टी एक ढिक्का रहनुपर्ने बैठकमा बताएका थिए ।
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलार्इ चेतावनी
एमालेले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्दै पक्षधरता देखाउन तथा हस्तक्षेप हुने कामकारबाही नगर्न भारतलाई चेतावनी दिएको छ ।
संविधान संशोधन लगायतका विषयमा विशेषगरी भारतले चासो र पक्षधरता देखाएको ठहर एमालेको छ । एमालेको सोमबार बसेको स्थायी समिति बैठकपछि जारी विज्ञप्तिमा भारतको नाम उल्लेख नगरी भनिएको छ, ‘नेपालभित्रको कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल र जनताले आफैं समाधान गर्दै मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल आफैं सक्षम छ ।’
‘नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै आन्तरिक मामलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि कामकारबाही नगर्न बैठकले छिमेकी तथा अन्तराष्ट्रिय मित्रहरुलाई हार्दिक अपिल गर्दछ, एमालेले भनेको छ ।
बैठकपछि जारी एमालेको प्रेस विज्ञप्ति पढ्नुहोस्
प्रतिक्रिया 4