Comments Add Comment

सेनाले खप्तडमा ओरालेपछि प्रचण्डको फोटो मोह ! (तस्वीरसहित)

कार्यकर्तासँग भने– प्रचण्डको नामै काफी छ !

prachanda-khptad-2

२४ मंसिर, सुर्खेत । प्रधानमन्त्री प्रचण्ड चढेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर मौसम खराब भएकाले समयमा धनगढीबाट उड्न सकेन ।

विहीबार धनगढीबाट दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनास्थलमा पुग्दा दिउँसोको दुई बजिसकेको थियो । जब कि दुई बजे सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्स्पो उद्घाटन गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री प्रचण्डले चमेलिया जलविद्युत आयोजनाको सुरुङमार्गभित्रै पसेर स्थलगत अनुगमन गरे । सेतो ह्याट र कालो बुट लगाएका प्रचण्डले अँध्यारो सुरुङमार्गभित्र प्रवेश गरेर आयोजनाको कामको प्रगतिबारे चासो लिए । यसबेलासम्म पूर्वनिर्धारित कार्यक्रमको तालिका बिग्रिसकेको थियो ।

‘सुरुङमार्ग खनिसकेको सो स्थानमा चट्टान अलिकति लच्किएर साँघुरो भएको थियो । त्यसलाई फराकिलो पार्ने काम भइरहेको थियो । तर, प्रधानमन्त्रीले सुरुङ खन्ने उपकरणबाट निस्किरहेको धुँवा र इन्धनको गन्धको प्रवाह नगरी सुरुङमार्गभित्रै धेरैबेर नै बिताउनुभयो,’ चमेलियाको अनुगमनमा प्रधानमन्त्रीसँगै रहेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले भने, ‘उहाँले यति चासो लिएर कामको जानकारी लिनुभयो कि हामी निकै प्रभावित भयौं र यसबाट थप हौसला मिलेको छ ।’

खप्तडमा सेनाले ओराल्यो

चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमनमा प्रधानमन्त्री आएको जानकारी खप्तडस्थित सेनाको टुकडीले पाइसकेको थियो । त्यहाँका सेना प्रमुखले चमेलियाबाट सुर्खेत जाने क्रममा खप्तडमा ओर्लिदिन आग्रह गरे ।

prachanda-khptad-5प्रधानमन्त्रीको सचिवालयका केही सदस्यहरु खप्तडमा ओर्लिन तयार थिएनन्, किनकि बिहीबारै काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यक्रम थियो र खप्तडमा अल्मल गर्दा सुर्खेतको कर्णाली एक्स्पोमा पुग्न ढिलाइ हुनुका साथै काठमाडौैंसम्मको यात्रा कठिन हुन्थ्यो ।

तर, सँगै सीटमा बसेका माओवादी नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रधानमन्त्री प्रचण्डले हेलिकोप्टरभित्रै भनिहाले, ‘खप्तडमा एकछिन त ओर्लिनैपर्छ के हो ? आउनु भनिसकेपछि हामी नगइदिँदा मन दुख्ने हो कि ?’

prachanda-khptad-11देशकै कार्यकारी प्रमुखको अगाडि कसको के लाग्थ्यो र ? अन्ततः प्रचण्डको आग्रह इच्छाअनुसार सेनाको हेलिकोप्टर खप्तडस्थित ‘बीर बलभद्र हाम्रा लागि, हाम्रा लागि बीर बलभद्र’ लेखिएको सैनिक ब्यारेकमा ओर्लियो ।

प्रधानमन्त्रीको फोटोमोह

प्रचण्डसहितको टोली हेलिकोप्टरबाट ओर्लिएर सेनाको टोलीसँग भेटघाट गर्ने र सामूहिक तथा अलग–अलग फोटो सेसनमा अल्मलियो । प्रधानमन्त्री प्रचण्डले पनि बिभिन्न व्यक्तिहरुसँग फोटो सेसन गर्न थाले ।

करिब पाँच मिनेटमात्रै खप्तड क्षेत्रमा रोकिएर प्रचण्डसहितको टोली सुर्खेतका लागि प्रस्थान गर्‍यो । प्रधानमन्त्री प्रचण्डलाई हिमाल र डाँडाकाँडाको दृश्य यति रमाइलो लागेछ कि आफ्नो मोबाइल झिकेर फोटो कैद गर्न थाले ।

उनलाई छोरा प्रकाश दाहाल र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सघाइरहेका थिए । उनी सुन्दर दृश्यावलोकन गर्न आफ्नो सीटबाटै उठेर पल्लोपट्टि पुग्थे र झ्यालबाट दृश्य अवलोकन गर्थे ।

prachanda-khptad-3

‘प्रचण्डको नामै काफी छ’

प्रधानमन्त्री प्रचण्डले कैलालीको धनगढीमा ७ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा भनेका थिए– प्रचण्डको नामै काफी छ । पदमा हानथाप भइरहेको सन्दर्भ कोट्याएर उनले माओवादी नेता–कार्यकर्ताहरु आफैंमा सक्षम रहेकाले कुनै पद आवश्यक नपर्ने भन्दै यो अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले भने, ‘प्रचण्ड, प्रकाश (नारायणकाजी), बादल आफैंमा काफी छन् । यी नामहरु आफैमा पद हुन् । कुनै पद दिइराख्नुपर्दैन । त्यसैगरी तल्ला कमिटीमा रहेका कमरेडहरु पनि आफैंमा सक्षम हुनुहुन्छ, पद आवश्यक नै छैन ।’

प्रधानमन्त्री प्रचण्डको टोलीले बिहीबार कैलालीको धनगढी, दार्चुलाको चमेलिया हुँदै खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन गर्‍यो र सुर्खेत पुगेर आफ्नो भ्रमण अभियान टुंग्यायो ।

तस्वीरः  दिनेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment