Comments Add Comment

सर्वसाधारणको ट्यांकामा ३ खर्ब ६० अर्ब, नाकाबन्दीताका बाहिरिएको रकम फर्केन

३ पुस, काठमाडौं । कात्तिकमा सर्वसाधारणको साथमा रहेको पुँजी ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तो पुँजी लगानीकर्ताले सन्दुकमा, पर्स वा वालेटमा, गोजीमा, सिरानी मुनी, दराजमा, ट्यांकामा वा सहकारीमा समेत राखेको हुनसक्छ । बैंकिङ परिभाषामा यसलाई ‘तरलता ग्राहयता’ समेत भन्ने गरिन्छ ।

Money-Ssafeभदौमा यसरी बैंकिङ प्रणाली बाहिर ३ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा कात्तिक नआउँदै मानिसहरुले बैंकहरुबाट ३९ अर्ब ७२ करोड रुपैयाँ झिकेको देखिएको छ । ‘तरलता ग्राहयता’ बढ्नुले मानिसहरुको बैंकिङ प्रणालीमा विश्वास घट्नु, कुनै ठूलै संकट आउन लागेकाले सावधानी स्वरुप वा अपर्झट पर्ने आशंकामा साथमा पैसा राख्ने क्रम बढ्नु, बैंकहरुले प्रदान गरेको व्याज दरमा चित्त नबुझ्नु भन्ने बुझिन्छ ।

नेपालमा असोज/कात्तिकमा ठूला चाडपर्व दसैं तिहार पर्ने गरेकाले पनि यस्तो देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘भदौको तुलनामा कात्तिकसम्ममा यस्तो पूँजी बढ्नुमा स्वभाविक कारण छ, त्यसबीच परेको दशैं तिहार जस्तो ठूलो चाडपर्व,’ निर्देशक थापाले भने । हुनतः राष्ट्र बैंककै तथ्यांकलाई आधारित मान्ने हो भने यी ठूला चाडपर्वमा देशको अर्थतन्त्र निकै चलायमान हुन्छ नै । भदौदेखि कात्तिक अवधिसम्ममा मात्रै देशमा हुने गरेको कुल आयातको ६० प्रतिशत भइसक्ने देखिन्छ । गत आर्थिक वर्षको अन्त्यमा देशमा कुल ७ खर्ब रुपैयाँको सामाग्री आयात भएको र त्यही वर्षसम्म कात्तिकमा ३ खर्बको भएको थियो ।

तर चिन्ता गर्नुपर्ने अवस्था किन पनि देखिएको छ भने अघोषित नाकाबन्दीताका मानिसहरुले आफ्नो साथमा राख्ने रकममा वृद्धि गरेका थिए । त्यसअघिसम्म यस्तो रकम २ खर्ब २७ अर्ब हुने गरेकोमा त्यसलगत्तै यो दर ३ खर्ब १२ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यसयता यो दर कहिले पनि ३ खर्ब मुनि ओर्लिएको देखिँदैन ।

नाकाबन्दीताका अपर्झट पर्न सक्ने अवस्थाको कारण मानिसहरुले साथमा रकम राख्ने क्रम बढाएको देखिए पनि गत आर्थिक वर्षको चैततिर नै नाकाबन्दीको समस्या सकिएको थियो । र, अब तत्काललाई त्यस्तो समस्या टरेको समयमा पुँजी प्रणालीभित्र आउनु पर्ने हो तर त्यस्तो हुन सकेको देखिँदैन ।

हाल बजारमा ४ खर्ब १९ अर्ब रकम ‘सर्कुलेशन’मा रहेको राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेल बताउँछन् । सर्कुलेशनमा रहेको रकममा बैंक तथा वित्तीय संस्थाले दैनिक कार्यसञ्चालनको लागि भल्टमा राख्ने रकमको समेत गणना गरिएको हुन्छ । तर यसरी बैंकहरुले दैनिक कार्यसञ्चालनको लागि १ खर्बभन्दा केही बढी रकम नै राखेको मान्ने हो भनेपनि अझै तरलता ग्राहयता ३ खर्ब माथी नै हुन्छ । जबकी नाकाबन्दी अघिसम्म यस्तो पूँजी २ खर्ब २७ अर्ब मात्रै रहेको थियो ।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अभाव भइरहेको छ । यस्तोमा त्यो समस्याको समाधान भनेको निक्षेप संकलनमा वृद्धि नै हो । यदि मानिसहरुले नाकाबन्दीताका साथमा राखेको रकम फर्काउन सकिने हो भने पनि यसले प्रणालीमा सालाखाला १ खर्ब तरलता वृद्धि गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment