Comments Add Comment

सभामुखले आह्वान गरेको शीर्ष बैठक निष्कर्षविहीन

संविधान संशोधन संसदको कार्यसूचीमा

3-party-meeting-with-speaker

४ पुस, काठमाडौं । विवादका बीच संविधान संशोधन विधेयक संसद बैठकको कार्यसूचीमा परेको छ । तर, प्रतिपक्षी दलहरुले त्यसको प्रतिवाद गर्ने बताएका छन् ।

सहमतिको प्रयासमा सभामुख ओनसरी घर्तीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बोलाएकी थिइन् । बैठकमा नेताहरुले आ-आफ्नो दलको अडान छाडेनन् ।

बैठकबाट बाहिरिने क्रममा सत्तारुढ माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले संशोधन प्रस्तावमा कार्यसूचीमा राखिने जानकारी दिए । ‘पास भए पनि, फेल भए पनि कार्यसूचीमा राखौं भन्यौं तर प्रतिपक्षले अस्वीकार गर्‍यो,’ अर्थमन्त्रीसमेत रहेका महराले भने, ‘संशोधन प्रस्ताव कार्यसूचीमा राखिन्छ ।’

उनले छलफललाई जारी राख्ने र दुई दिनभित्र टुंगोमा पुग्न कोशिस गर्ने बताए ।

सरकारले १४ मंसिरमा संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । त्यसको विरोधमा  प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुले अवरोध गर्दै आएकाले अघि बढ्न सकेको छैन ।

‘संशोधन प्रस्तावको पुच्छर बनेर चुनावमा जान सकिन्न’

यसैगरी एमालेका उपाध्यक्ष बामदेव गौतमले सत्तापक्ष जसरी संसदमा प्रस्तुत हुन्छ, त्यसैअनुसार प्रतिवाद गर्ने बताए ।

बैठकमा माओवादी र कांग्रेसका नेताहरुले संशोधन प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए तर, एमाले नेताहरुले असंवैधानिक प्रस्ताव भएकाले स्वीकार गर्न नसकिने जवाफ दिएका थिए । त्यसलगत्तै चुनावमा जाने कि नजाने भनेर अर्को प्रश्न एमाले नेताहरु सामू तेर्स्याइएको थियो ।

बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष गौतमले पत्रकारहरुसँग भने, ‘हामी चुनावमा जान तयार छौं तर संशोधन प्रस्तावको पुच्छर बनेर चुनावमा जान सकिन्न भनेर जवाफ दियौं ।’

यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा संविधान संशोधन प्रस्ताव कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने अधिकार सभामुखलाई भएको पत्रकाहरुलाई बताए । उनले बैठकमा स्थानीय तहको निर्वाचन गर्ने कि स्थानीय निकायको गर्ने भन्ने विषयमा छलफल भएको बताए । यसलाई टुंगोमा पुर्‍याउन छलफललाई जारी राख्ने सहमति भएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment