Comments Add Comment

संघीयता स्वीकार्नु एमालेको बाध्यताः उपाध्यक्ष गौतम

'माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा गर्न नहुने काम गरियो'

bamdev-gautam

६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाध्य भएर एमालेले संघीयता स्वीकार गरेको बताएका छन् ।

काठमाडौमा बुधबार आयोजित एक अन्तरक्रियामा उनले युद्धलाई शान्तिमा रुपान्तरण गर्न पनि संघीयता स्विकार गर्न आफूहरु बाध्य भएको बताए ।

माओवादी युद्ध शान्तिमा रुपान्तरण भएपछि दिनहुँ हुने व्यक्ति हत्या रोकिएकोलाई आफूले उपलब्धीको रुपमा लिएको गौतमले बताए ।

‘शान्ति प्रक्रियामा लैजान सकिन्छ भन्ने नाममा गर्न नहुने जति छन् यो गरियो, त्यो गरियो, अनेक-अनेक गरियो,’ उनले भने, ‘त्यहि भएर युद्ध शान्तिमा रुपान्तरणमा भएको छ ।’

उनले अहिले सरकारले ल्याएको संविधान संशोधन राष्ट्रिय हित र संवैधानिक व्यवस्था विपरित रहेको दाबी गर्दै स्वीकार गर्न नसकिने दोहोर्‍याए । संविधान संशोधन प्रस्ताव जनताको चाहना विपरित आएको भन्दै उनले यो कसैलाई पनि मान्य नहुने बताए ।

‘जनताले पनि विरोध गरिरहेका छन् । अहिलेको हाम्रो संविधानले प्रदेशको सीमांकन हेरफेर गर्ने अधिकार यो संसदलाई दिएको छैन । संसदलाई अरु जम्मै अधिकार दिएको छ तर सीमाना हेरफेर गर्न अधिकार छैन,’ गौतमले भने ।

‘एमालेलाई सरकारले फसाउन खोज्यो’

विगतमा भएका गल्तीहरु एमालेले स्वीकार गरिसकेको र त्यसबाट सच्चिएर अघि बढ्ने बेला फेरि सरकारले फसाउन खोजेको उनले टिप्पणी गरे ।

‘विगतमा एमाले र कांग्रेसले कतिवटा नराम्रा काम गरेका थिए भनेर अहिले फेरि नराम्रा काम गर्नुपर्छ ?’ गौतमले प्रश्न गर्दै भने, ‘विगतमा हामीले नराम्रा काम गरेका थियौं । आज हामीले सच्याएका छौं । सच्याएर अघि बढ्ने बेलामा फेरि हामीलाई विगतको त्यही नराम्रो काममा लगेर फसाउने कोसिस गरिँदै छ, हामी मान्दैनौं ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनमा लैजान सबै दलहरु एक हुनुको विकल्प नरहेको बताए । नेता सिंहले समयको मागअनुसार संविधान संशोधन गर्दै जान सकिने धारणा राखे ।

‘भएका अधिकारहरु गुम्ने गरी फेरि अर्को मुभमेन्ट गर्नु उचित हुन्छ की प्राप्त उपलब्धीहरु सुरक्षित गर्दै समयको मागअनुसार बमोजिम परिमार्जन गर्नु बुद्धिमता हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘संविधान जारी भएपछि आएको जुन सिस्टम छ, त्यसलाई टिकाउनुपर्ने बाध्यता छ । त्यसमा हामी सबैले ध्यान दिऔं ।’

कार्यक्रममा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव जनताको भावनालाई समेट्न ल्याइएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment