Comments Add Comment

माल्भिका सुब्बाको छाउ अनुभूति: रजस्वलाकै बेला छोराको पास्नी गरेँ, देउता रिसाएनन्

भगवानले महिलालाई जिन्दगीभर रोऊ भनेर पठाइदिएजस्तो लाग्छ !

Malvika-Subba
श्रीमान र बच्चासँग माल्भिका

सुदूरपश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथाबारे हामीले धेरै सुनेका छौं । रजस्वला भएका बेला घरदेखि टाढाको छाउगोठमा बस्नुपर्दा किशोरीहरुले विभिन्न कष्ट भोग्नुपर्छ । त्यसरी गोठमा बस्दाको भोगाइ, कतिपयको ज्यान जाने गरेको कुरा र सुत्केरी हुने बेला पनि गोठमै बस्नुपर्ने कथा सुन्दा शहरमा जन्मे-हुर्केको आफ्नो कहानी त सामान्य लाग्छ ।

समाजको यस्तो कुरा देख्दा दिक्क लाग्दो रै’छ, समाजका कतिपय कुरालाई किन उछिन्न सकेनौं भनेर आफूप्रति नै रीस पनि उठ्छ ।

रजस्वलाको कुरा गर्दा हामी कति सजिलै कुलदेवता र देवता रिसाउँछन् भनिदिन्छौं, पितृपाप लाग्छ भन्ने जस्ता कुरा धेरै आउँछन् । यस्तो गलत सोच हटाउन हामीले आफ्नो घरैबाट प्रयास गर्नुपर्छ भन्ने लाग्छ ।

केही समयअघि म आमा बनेँ । रजस्वला नभइदिएको भए म आमा बन्दिनँ थिएँ । जुन प्रकृतिको देनले मलाई आमा बनाउन सहयोग गरेको छ, त्यसैलाई छिःछिः र दूरदूर गर्ने हाम्रो समाजको प्रवृत्ति एकदमै नराम्रो हो ।

म यस्तो समुदायमा (लिम्बू) जन्मिएँ, जहाँ रजस्वला हुँदा छुवाछुत हुने भन्ने कुरा केही पनि छैन । तर, मैले यस्तो जात (नेवार) मा विवाह गरेँ, जहाँ छुवाछुतको प्रचलन धेरै छ । जस्तैः रजस्वला भएको बेला भान्छामा पस्न नहुने, लोग्नेमान्छेलाई छुन नहुने, खाना छुट्टै खानुपर्ने ।

मेरो श्रीमानकी बज्यै (हजुरआमा) ८५ वर्षको हाराहारीमा हुनुहुन्छ । उहाँहरु पुरानो जमानाको मान्छे भएकाले अरु सदस्यले पनि रुढीवादी मान्यता झेल्नुपर्छ । अहिले पनि उहाँका बुहारीहरु रजस्वला भएका बेला मुख्य बैठक कोठामा छिर्दैनन् ।

म लिम्बू परिवारमा जन्मेँ, हुर्किएँ । मेरी आमा बाहुन भए पनि उहाँले कहिल्यै पनि त्यस्तो भेदभाव गर्नुभएन । कतिसम्म भने, दशैंमा म रजस्वला भएमा दाइहरुले टीका लगाउन जाऔं, केही पनि हुँदैन भनेर सँगै लिएर जानुहुन्थ्यो । त्यसैले घरमा यस सम्बन्धमा केही पनि नराम्रो महसुस भएन ।

तर, विवाह भएपछि पाँच वर्षयता हरेक महिना आज कति दिन, यहाँ नजाऊ है, यस्तो नगर है, यिनलाई टीका नलगाइदेऊ है भन्ने कुरा सुन्नुपरेको छ । हरेक महिना एउटा दास जस्तो महसुस गर्नुपर्ने, छुवाछुतको भेदभाव खेप्नुपर्ने ।

सुरुमा त्यस्तो भेदभाव हुँदा म धेरै रुने गर्थेँ । श्रीमानलाई भन्थेँ, ‘तिमीले त मलाई दासी बनाउन लिएर आयौ । भेदभावको संसारमा ल्यायौ ।’ यसो भन्दै गुनासो र झगडा गर्थेँ । त्यसमा उसले केही पनि बोलेन । किनभने मान्छे जतिसुकै शिक्षित भए पनि घरमा आफू सानै हुँदादेखिको चलनले उसमा त्यसको बानी पर्छ । त्यो नराम्रो चलनलाई निकाल्न धेरै गाह्रो हुन्छ ।

नेवारहरुका घरमा दुई-तीनवटा भान्छा हुन्छन् । मलाई पछि-पछि चाहिँ तलको भान्छामा जान दिने प्रचलन सुरु भयो । भोज हुँदा मूल भान्छामा जान नहुने, पूजामा जान नहुने, लोग्नेमान्छेलाई छुन नहुनेजस्ता कुरामा मैले मतलबै गरिनँ ।

मैले आफू रजस्वला भएको कसैलाई भनिनँ । आखिरमा मैले रातो अबीरले पूजा गरेँ, भगवानलाई छोएँ । छोरालाई पूजा गरेर भात पनि ख्वाएँ

पछि यस्तो घटना भयो, जसका बारेमा श्रीमानलाई बाहेक अहिलेसम्म कसैलाई भनेकी छुइनँ । त्यो कुरा सुन्यो भने रुढिवादी संस्कार मान्ने मेरो श्रीमानको बज्यैलाई त हार्ट अट्याक नै हुन्छ होला !

मेरो छोराको पास्नी थियो । त्यहीबेला मेरो रजस्वला भयो । आमाको पहिलो हक भनेको पास्नीमा आफ्नो बच्चालाई पहिलो गाँस भात ख्वाइ गर्नु हो, त्यति हकचाहिँ समाजले दिएको छ । पिरियड भयो भन्दैमा मैले त्यो हक गुमाउनुपरेको भए मलाई एकदम ग्लानी हुन्थ्यो । तर, मैले त्यसबेला ढाँटेँ ।

छोरालाई पहिलोपटक भात ख्वाउने हक गुमाउनुपर्ला भनेर मैले आफू रजस्वला भएको कसैलाई भनिनँ । आखिरमा मैले रातो अबीरले पूजा गरेँ, भगवानलाई छोएँ । छोरालाई पूजा गरेर भात पनि ख्वाएँ । खै, पितृदोष लाग्यो-लागेन र कुल रिसाए कि रिसाएनन् भनेर मलाई थाहा छैन ।

छोराको पास्नी भएको तीन-चार महिना भइसक्यो, अहिलेसम्म जीवित नै छु । कुल रिसाउने भए फ्याट्टै त्यतिखेरै रिसाउनुपर्ने हो जस्तो लाग्छ ।

पछि बिस्तारै रजस्वलाको कुरा सोसल मिडियामा पनि व्यापक मात्रामा आउन थाल्यो । त्यसपछि मैले मजस्तो शिक्षित र गरीखाने महिलाले यस्तो सानो कुरामा किन डराएर बस्ने भनेर त्यसपछि रजस्वलाबारे घरपरिवारमा भन्नै छोडेँ । अहिले आफ्नो मनले भनेअनुसार गर्दै आएको छु ।

म नास्तिक पनि होइन । तर, म भगवानमा धेरै आस्था राख्दिनँ । मन्दिर धेरै जाँदिनँ । पूजापाठ गर्दिनँ । अहिलेसम्म सफल नै छु । करिअर पनि धेरै राम्रो भएको छ । बच्चा जन्माएर पनि अझै म राम्रो काम गरिरहेकी छु । खासमा अझ धेरै काम गरिरहेकी छु ।

malbika subba

रजस्वला हुँदैमा अछुत भइने कुरामा म विश्वास राख्दिनँ । बेलाबेला सोच्छु, मेरो यदि छोरी जन्मिएर उसले पनि छाउपडी प्रथा अनुसार गोठमा कष्टपूर्वक बस्नुपरेको भए म आमाको मन कति धेरै रुन्थ्यो होला !

आमा बनेपछि यसै पनि आँखा पिलपिल भएर आउँछ, त्यस्तो किन हुन्छ थाहा छैन । भगवानले महिलालाई बच्चा पाउन त पाऊ, तर जिन्दगीभर रोऊ भनेर पठाइदिएजस्तो लाग्छ । बच्चा देखे पनि रुन मन लाग्ने, उसलाई अलिकता केही हुनासाथै आँसु झरिहाल्नेे, अर्काको बच्चा रोयो भने पनि मन भारी हुने । संवेदना भन्ने कुरा अजीवको हुँदो रै’छ ।

अहिले शिक्षित घरहरुमै पनि रजस्वलाको बेला छुन नहुने मान्यता कायमै छ । पढेलेखेकै महिला दिदीबहिनीहरुले पनि रजस्वला प्राकृतिक प्रक्रिया हो, छोइछिटो गर्नुहुँदैन भनेर थाहा हुँदाहुँदै पनि बूढी मान्छेहरुको मन राख्दिऊँ, किन छुचो हुनु भन्नुहुन्छ । त्यसो भन्दाभन्दै अहिलेसम्म हामीले दुःख पाइरहेका हौं भन्ने लाग्छ ।

जबसम्म हामी सचेत नारी-पुरुषहरु मिलेर नराम्रो रीतिरिवाज आफैंले तोड्दैनौं, तबसम्म यस्तो प्रथाले समाजलाई गिजोलिरहनेछ । आजको जमानामा एउटा फोनबाट सारा कुरा जोड्ने गरी संसार यति सानो भइसक्यो, यस्तो समयमा पनि हामी यस्तो प्रथाको पछाडि दौडिरहेका छौं । जुन निकै विडम्बनाको कुरा हो ।

एउटा बालिकालाई सानैदेखि तेरो भूमिका यो हो, तैंले यो गर्न हुँदैन, त्यो छुनु हुँदैन, तैंले घरै हेर्नुपर्छ, आमा नै भएर बस्नुपर्छ भनेर पटकपटक सचेत गराइन्छ । यस्तो अवस्थामा हामी भन्छौं, नारीहरुले पुरुषसरह अधिकार पाएनन् ।

जब घरबाटै स-सानो कुरामा बन्देज र अनेक नियम लगाइन्छ भने केटी मान्छे कहिले अगाडि आउने त ? उनीहरुले कहिले आफ्नो अवसरको सदुपयोग गर्ने ? जब कि घरकै मान्छेले उसलाई यो र उ गर्न हुँदैन भनेर खुम्च्याइदिन्छ । हामीले त उसको सीमा फराकिलो पारिदिनुपर्ने हो ।

हाम्रो समाजमा छोरा मान्छेलाई निर्धक्क भएर अगाडि बढ्, यो संसार तेरै हो, तँ जे पनि गर्न सक्छस् भनिन्छ । तर, छोरी मान्छेलाई चाहिँ तिमीलाई यस्तो-यस्तो कुरामा रोकटोक छ, त्यस्तो गर्नुहुँदैन भनेर हरेक कुरामा सीमा कोरिन्छ । यो स्थितिमा उनीहरु कहिले अगाडि बढ्लान् ?

(छाउपडी प्रथाको विषयमा राज सरगमले लेखेको उपन्यास ‘छाउघर’ को लोकार्पण समारोहमा मंगलबार पूर्व मिस नेपाल सुब्बाले राखेको मन्तव्यको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment