Comments Add Comment

दलितले लगाएको सप्ताहमा जनजाति सांसद ‘मूल पूरोहित’

yagya-raj-sunuwar-mahayagya

१० पुस, ओखलढुंगा । मनुस्मृतिका अनुसार दलितले सप्ताह र महायज्ञहरु लगाउनुहुँदैन भनिन्छ । हिन्दू धर्मले कहीँ कतै पनि दलितलाई यस धार्मिक अनुष्ठानबाट बन्चित गरेको छैन । तर पनि दलितले सप्ताह लगाएको विरलै सुन्न पाइन्छ ।

यही जातीय विभेदलाई चुनौति दिँदै ओखलढुंगा सदरमुकाममा दलित समुदायले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । दलित समुदायले आयोजना गरेको महायज्ञको शुभारम्भ भने कुनै पण्डितबाट होइन, आदिवासी जनजाति मूलका सांसद यज्ञराज सुनुवारका हातबाट गरियो ।

यो सप्ताह ज्ञान महायज्ञ जातीय विभेद विरुद्धको सचेतना अभियानका लागि विश्वकर्मा गुठी समाज सेवा समिति, सिद्धिचरण ४ ओखलढुंगाको अगुवाइमा आयोजना गरिएको हो ।

सबै समुदायलाई सहभागी गराएर जातीय विभेद अन्त्यको जागरण शुरु गर्ने र सप्ताहबाट संकलन भएको दानबाट शिव मन्दिर निर्माण गर्ने लक्ष्यसहित सप्ताह आयोजना गरिएको गुठीका अध्यक्ष जोखबहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्मा गुठीको अगुवाइमा सदरमुकाममा कलश यात्रा गरी शनिबार अपराहृन उदघाटन गरिएको सप्ताहमा सबै समुदायका हिन्दू धर्माबलम्बीहरु सहभागी छन् ।

kalash-yatra-okhaldhunga

सबै समुदायको सहभागितामा छुवाछुत र जातीय विभेद अन्त्य गर्ने जागरण ल्याउन ब्राम्हण पण्डितबाट सप्ताहको शुरुवात गर्ने परम्परा समेत तोड्दै दलित को सप्ताह हातबाट उदघाटन गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले सप्ताहको उदघाटन गर्दै दलितको हातबाट प्रसाद ग्रहण गरेका थिए । सांसदसँगै अन्य सहभागी र अतिथिहरुलाई पनि दलितबाट हातबाट प्रसाद वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन दलित समुदायकै सार्की थरका एक युवा छविलाल मगरातीले गरेका थिए । एक दलित समुदायले आयोजनाको गरेको सप्ताह अर्को दलित समुदायका युवाले गर्ने र उद्घाटन जनजाति समुदायका सांसदले गर्नु जातीय विभेद अन्त्यका लागि सुनौलो प्रयास भएको माओवादी केन्द्रका नेता शम्भु धमलाले बताए ।

दलितको हातबाट टीका लगाउनुहुँदैन भन्ने अन्धविश्वासलाई चुनौति दिँदै विश्वकर्मा समुदायका आमाहरुले अतिथिहरुलाई शुरुमै टीका र फूलमाला लगाइदिएका थिए ।

दलित र गैरदलितबीचको हार्दिकता र सहकार्यबाट मात्रै जातीय विभेद अन्त्य गर्न सकिने र यसको शुरुवात सदरमुकामबाट भएको नेपाल पत्रकार महासंघका सचिव कुम्भराज राईले बताए ।

उद्घाटन कार्यक्रममा जिल्लास्थित सबै सरकारी कार्यालय, राजनैतिक दललगायतलाई निमन्त्रणा गरिए पनि कार्यालयका प्रमुखहरु कार्यक्रममा उपस्थित भएनन् ।

त्यस्तै निम्ता पाएर पनि नेपाली कांग्रेस, संघीय समाजवादी फोरम लगायत केही राजनीतिक दलका प्रमुख पनि यज्ञमा गएनन् । आयोजकहरुले प्रसाद खान नआउने दलका नेता र कार्यालय प्रमुखलाई छुवाछुतकर्ताको कोटीमा राखेर आन्दोलन गर्ने चेतावनी दिएपछि सांसद सुनुवारले आफूले सर्वपक्षीय बैठकमा कुरा राख्ने आश्वासन दिएर संयमित बनाएका थिए ।

okhaldhunga-mahayagya
सप्ताह उदघाटनमा सामान्यतः कथा वाचक पण्डितहरुले मञ्च भरिएको हुन्छ र मुख्य कथा बाचकले सप्ताह वा पुराण, यज्ञादि उदघाटन गर्छन् । तर, यो सप्ताहमा त्यस्तो भएन । पण्डितहरुको मञ्चमा दलित अगुवा र अतिथिहरु थिए ।

कथा वाचनको सट्टा दलित मुक्ति र जातीय विभेद अन्त्य गर्ने प्रतिबद्धताबाट सप्ताह शुरु भयो । एमाले जिल्ला उपाध्यक्ष नेत्र भट्टराई, माओवादी जिल्ला इञ्चार्ज बाबुराम गौतमलगायतले शुभकामना दिए ।

एमालेले जातीय विभेद गर्नेलाई पार्टीको सदस्यता नदिने र सदस्यले त्यस्तो गरेमा निस्कासन गर्ने निर्णय गरेको जानकारी समेत सप्ताहका अवसरमा उपाध्यक्ष भट्टराईले गराएपछि सहभागीले स्वागत गरे ।

सप्ताहको ‘मूल पूरोहित’ भूमिकामा रहेका सांसद सुनुवारले जातीय विभेद गर्न नहुने सन्देश दिन आफूले पार्टीका नेता तथा दलित अगुवा ओमदयाल विश्वकर्माको घरमा सधैं जिल्ला आउँदा खाना खाने गरेको बताए । सुनुवारले दलितहरुको अभियानलाई सहयोग गर्न आफुले २ लाख बजेट व्यवस्था गरिदिने आश्वासन समेत सो अवसरमा दिए ।

सप्ताहमा निमन्त्रणा गरिएका जिल्ला विकास, प्रशासन, सुरक्षा निकाय लगायतका सरकारी कार्यालयका प्रमुखहरु भने शिक्षामन्त्री धनीराम पौडेलको स्वागत गर्न भन्दै दिनभर व्यस्त देखिए । बिहानैदेखि न्याय क्षेत्र समन्वय समितिको कार्यक्रममा सहभागी सर्वोच्चका न्यायाधीशको विदाइ र मन्त्रीको स्वागतमा हाकिमहरु व्यस्त देखिए ।

दुई बजेपछि न्यायाधीशको विदाइ गर्दा मन्त्री ओखलढुंगा नआउने सूचना आइसके पनि उनीहरु दलित समुदायको सप्ताहमा गएनन् । नआउने मन्त्रीको स्वागत र न्यायाधीशको विदाइ गर्न सिडिओ, डिएस्पी लगायतका सुरक्षा प्रमुखहरु हर्कपुर पुगेका थिए ।

धार्मिक कार्यक्रमका लागि निम्त्याइएका जिल्लाका हाकिम र कांग्रेस नेताहरुलाई पर्खिएर बस्दा अपरान्ह ४ बजेसम्म उनीहरु सदरमुकाम नफर्किएपछि सप्ताह उद्घाटन कार्यक्रम शुरु भएको थियो । राजनीतिक दलबाट पनि कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका नेता र सांसद सुनुवार मात्रै उपस्थित थिए ।

-शिव ढुंगानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment