+
+
प्रिय पुस्तक :

प्रिय पुस्तक: जासुसी उपन्यासदेखि अंग्रेजी साहित्यको हाउगुजीसम्म

बुद्धिसागर बुद्धिसागर
२०७३ पुष १६ गते १०:४४

buddhi-sagar_810
धेरै मान्छेहरु सानोमा लोककथाका राजकुमार र राजकुमारीसँग साउती गर्दै हुर्किएको अनुभूति सुनाउँछन् । मेरो बाल्यकालले भने साउती गर्ने फरक पात्र र चरित्रहरु पाएको थियो ।

कमिक्स र जासुसी उपन्यास नै मेरो लोककथा र दन्त्यकथाको दुनियाँ थिए । त्यसैबाट मेरो पठन यात्रा सुरु भएको हो ।

हामी कैलालीको कटासेमा बस्थ्यौं । कटासे बजारमा किताबहरु भाडामा दिने एउटा लाइब्रेरी थियो । त्यहाँ कमिक्सका साथै जासुसी किताब टन्नै थियो । एउटा किताब एक दिनको लागि तीन रुपैयाँमा पाइन्थ्यो ।

कमिक्सहरु सबै हिन्दी भाषामा हुन्थे । त्यो पढ्दापढ्दै एक चरणपछि जासुसी उपन्यास पढ्न थालियो । मलाई निकै रोचक लाग्थ्यो । मोटो उपन्यास पनि एकदिनमै पढिभ्याउँथेँ । सरल हिन्दीमा भएकोले पढ्न सजिलो हुने र कथाले पनि तान्ने ।

पछि त पढाइको रफ्तार बढ्दै जाँदा एउटा उपन्यास तीन–चार घन्टामै सक्न थालेँ । किताब भाडामा लिइरहने भएकोले लाइब्रेरीको मान्छेसँग मेरो राम्रै चिनजान भइसकेको थियो ।

एकदिन थाहा पाएँ, ऊ त त्यो ठाउँ सधैंका लागि छाडेर अन्यत्र जान लागेको रै’छ ।

मलाई पीर पर्‍यो, अब पढ्ने मेलो मासिने भो !

हत्त न पत्त त्यो मान्छेलाई भेटेँ । उसले गजबको प्रस्ताव गर्‍यो- ‘१२ सय रुपैयाँ देऊ, यहाँ भएको सप्पै किताब राख र तिमी आफैं लाइब्रेरी खोल ।’

म सात कक्षामा पढ्ने ठिटोसँग त्यति पैसा हुने कुरै भएन ।

बुवासँग गनगन गरेँ, ‘मलाई पैसा चाहियो ।’

केही समय झगडा नै गर्नुपर्‍यो । अन्तत: पैसा दिनुभो उहाँले ।

मैले सारा कमिक्स र जासुरी उपन्यासहरु ल्याएर आफ्नै घरमा लाइब्रेरी खोलेँ । अब किताबको मालिक आफैं भइयो । किताबहरु अरुलाई भाडामा दिन थालेँ । लाइब्रेरीमा बेलाबेला नयाँ किताब पनि थप्थेँ । त्यही बेलामा मैले धेरै जासुसी उपन्यास पढेँ ।

त्यसपछि नेपाली किताब पढ्ने यात्रा युधीर थापा, प्रकाश कोविद, सुवासको उपन्यासबाट सुरु भयो । यी लेखकका उपन्यास लाइब्रेरीबाट भाडामा बढी जाने किताबहरुमा पनि पर्थ्यो ।

विशुद्ध साहित्यिक किताब पढ्ने मेसो भने अलिक पछि जुर्‍यो । मलाई याद भएसम्म मैले पढेको पहिलो साहित्यिक कृति लिलाध्वज थापाको उपन्यास ‘मन’ थियो । त्यसले मदन पुरस्कार पनि पाएको थियो । युधीर थापाहरुकै किताबकै बीचमा मैले त्यो किताब भेटेको थिएँ ।

लाइब्रेरी धेर चलाउन पाइएन । एक वर्षपछि त हामी बसाइँ सरेर कालिकोट गइहाल्यौं । उता गएपछि पढ्ने क्रम पातलियो । भारत नजिक भएकोले जासुसी र थ्रिलर उपन्यास चाहिँ पाइन्थ्यो । तर, त्यो क्षेत्रमा साहित्य पढ्ने कोही मान्छे नभएकोले किताब भेट्नै गाह्रो पर्थ्यो । साहित्यका किताब पढ्ने भोक काठमाडौं आएपछि मात्र पूरा भयो । क्याम्पस पढ्न राजधानी आएपछि हरेक हिसाबले अवसर पनि मिल्यो ।

बुवाले कालिकोटबाट पैसा पठाइदिनुहुन्थ्यो । साहित्यिक किताबमा म खुलेर खर्च गर्थे । बुवाले कहिल्यै पनि रोकटोक गर्नुहुन्थेन । बुवा आफैं पनि पढाइमा रुचि राख्ने भएकाले किताबको महत्व बुझ्नुभएको थियो । उहाँ धर्म, इतिहास, भूगोल सम्बन्धी किताब पढ्नुहुन्थ्यो ।

किताबमा गरेको खर्चबारे केही नभने भने उहाँको उर्दी थियो, ‘खर्च चाहिँ गर् केटा, तर त्यसको डिटेल मलाई पठा !’

buddhisagar-2मैले के-के मा कति खर्च गरेँ भनेर मासिक विवरण लेखेर पठाउनुपर्थ्यो । त्यति भए बुवालाई पुग्थ्यो । म फिल्म हेरेको, किताब किनेको र खाएको हरेक विवरण टिपेर पठाउँथेँ । हलमा महिनामा चार/पाँच वटा फिल्म त हेरे हुन्छ भन्ने उहाँको कुरा थियो । तर, कहिलेकाहीँ आठ/दस वटै हेरेको हुन्थेँ । त्यसो हुँदा हिसाब विवरण गोलमाल पनि हुन्थ्यो ।

०५६ सालताका घरबाट महिनामा तीन हजार रुपैयाँ आउँथ्यो मलाई । त्यतिले मलाई कोठा भाडा, खाना र अग्रमबग्रम खर्च गर्न काफी पुग्थ्यो ।

ठूला लेखकको संगतले डोर्‍यायो

०५१ सालतिर कटासे बजारमा हुँदैको कुरा हो, मैले च्यातिएर केही पाना मात्र बाँकी रहेको ‘मधुपर्क’ पत्रिका भेटेको थिएँ । पत्रिकाको गाता र अगाडि-पछाडिका धेरै पानाहरु थिएनन् ।

पत्रिकामा मनु ब्राजाकीको कथा ‘मैसापको आँखा’ पढेको अझ पनि याद छ मलाई । त्यसमा दिनेश अधिकारीको कविता ‘उखुको मुरली’ पनि थियो । कविता त खासै बुझिएन । तर, सानोमा आफू पनि साथीभाइहरुसँग उखु खाने र खेल्ने भएकोले त्यो कुरा यादगार भएर बस्यो ।

ती नामका साथै ध्रुवचन्द्र गौतम लगायत केही लेखक दिमागमा थिए । त्यसले किताब खोज्न र किन्न पनि सजिलो भयो । काठमाडौंमा कलेज पढ्न थालेपछि नेपाली किताबबाट कति लेखकहरुबारे थाहा हुँदै गयो । साझा प्रकाशनबाट किताब किनेर पढ्न थालियो ।

समय क्रममा न्युरोडको पिपलबोटमा ठूल्ठूला कवि-लेखकहरुको संगतमा पुगियो । त्यहाँ साहित्यको चर्चा हुँदा उनीहरुले विभिन्न किताबको सिफारिश गर्थे । साहित्यिक सर्कलको राम्रो पक्ष के हो भने, जतिसुकै ठूलो लेखकले पनि उदीयमान लेखकलाई रेस्पोन्स गर्छन् । म भर्खर कविता लेख्दै गरेको ठिटो ठूला लेखकहरुको माझमा पुग्दा त्यस्तै आत्मीयता र माया पाएँ । त्यसले पनि मलाई प्रेरणा दियो ।

नेपाली लेखकहरुको बीचमा हिन्दी किताबहरुको बढी चर्चा हुन्थ्यो । त्यसपछि नेपाली साहित्यसँगै बिस्तारै म हिन्दी साहित्यको अध्ययनमा फैलिँदै गएँ । पहिले नेपालमा सबैभन्दा बढी पढिने साहित्य भनेकै हिन्दी र रसियन नै थियो । रसियन साहित्य हिन्दीमा अनुवाद भएर आउँथे ।

हिन्दीमा मलाई मनोहर श्याम जोशीको लेखाइ एकदमै मन पर्‍यो । आञ्चलिक र स्थानीय शब्दहरु प्रयोग गरिएकोले उनको साहित्य धेरैले इन्जोय गर्न नसक्लान् । हिन्दी जान्नेलाई पनि उनको लेखाइ अलि जटिल लाग्न सक्छ ।

हिन्दीमा अहिलेसम्म पढेकोमध्ये सबैभन्दा मन परेको किताब चाहिँ श्रीलाल शुक्लको व्यङ्ग्यात्मक उपन्यास ‘राग दरबारी’ हो । नेपालका धेरै लेखक त्यसबाट प्रभावित छन् भनिन्छ ।

अर्को मन पर्ने लेखक हुन् निर्मल वर्मा । ‘एक चिथडा सुख’, ‘रातका रिपोर्टर’ र अझ ‘कव्य और कालापानी’ कथासंग्रह त उत्कृष्ट नै लागेको हो । हिन्दीमा एउटै लेखकको धेरैभन्दा धेरै किताब कसैको पढेको छु भने उनकै हो । हुन त उनको लेखाइ मन नपराउने पनि धेरै छन् । वर्माको लेखनमा एक किसिमको उदासी र घटनाक्रमको त्यति विकास नहुने एकतमासको कहानी पाइन्छ । सानो घेरामा बसेर कवितात्मक भाषामा बयान गर्छन् । गाली गर्दा पनि त्यति धेरै चित्त नदुख्ने मुलायमपन मलाई एकदमै मन परेको हो ।

कति पाठकलाई घटनाको उतारचढाव छिटछिटो हुने लेखाइ मन पर्छ । मलाई चाहिँ वर्माको जस्तो शैली मजा लाग्छ । सीमित आयाममा बसेर सानो चिजलाई घुमाई-फिराई लेखे पनि हरेक अनुच्छेदमा कति धेरै कुरालाई छोएको हुन्छ । मेरो लेखनको स्वाद पनि त्यही हो । एउटा पाठकले जस्तो खालको किताब पढ्दै जान्छ, भविष्यमा ऊ लेखक भयो भने त्यस्तै किताब लेख्छ । पढ्दै जाँदा आफ्नो स्वाद निर्माण हुँदो रै’छ ।

नेपालीमा शङ्कर र धच गोतामे

नेपाली साहित्यको कुरा गर्दा गद्यमा शंकर लामिछाने नै बेजोड लाग्छ । धेरैले उनको ‘एब्सट्राक्ट चिन्तन प्याज’ निबन्धसंग्रहको चर्चा गर्छन् । मलाई चाहिँ ‘विम्ब प्रतिविम्ब’ मन पर्छ । त्यो किन रोचक लाग्यो भने, नेपालका विभिन्न साहित्यिक हस्तीका अन्तरंग जीवन त्यहाँ पढ्न पाइन्छ ।

कोर्सका किताबहरुमा लेखकहरुको कृति परिचय र शास्त्रीय खालको जीवनी मात्र हुन्छ । भित्री कुरा थाहै हुँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि गोपालप्रसाद रिमाल लगायत धेरै लेखकबारे त्यस्तै छिपछिपे जानकारी थियो । तर, विम्ब प्रतिविम्ब पढेपछि थाहा भयो, ती लेखक वास्तवमा कस्ता थिए र चिज के हुन् ?

व्यक्तिचित्र लेख्ने शङ्करको जुन शैली छ, त्यो चाहिँ मलाई गजबै लाग्यो । उनका निबन्धहरु पढ्दा पनि अहिले गद्य लेख्नेहरुको भन्दा पनि अझ अपडेट भाषा-शैली देखिन्छ । उनले ४०/५० वर्षअघि गरेका सिर्जना पुराना कत्ति पनि लाग्दैनन् ।

अर्को चाहिँ, धच गोतामेको भाषा पनि मन पर्छ मलाई । उनका निबन्धहरु पनि राम्रा छन्, तर ‘घामका पाइलाहरु’ उपन्यास अद्भूत छ । एकदम परिपूर्ण आख्यान हो त्यो । उनको लेखाइ पहिलो ड्राफ्ट नै एकदमै राम्रो हुन्थ्यो रे ।

यस्ता राम्रा लाग्ने लेखकहरु अरु पनि धेरै छन् । कसैको के, कसैको के मन परिरहेको हुन्छ । कवितामा रिमाल शक्तिशाली लाग्छन् । थोरै लेखेर पनि हरेक कवितामा विविधता दिएका छन् । त्यति शक्तिशाली कवि कमै हुन्छन् । उनी अन्तर्राष्ट्रिय स्तरकै कवि हुन् ।

लेखनाथ पौड्यालका कविताहरु पनि गजबका छन् । उनका कविताका हरेक पंक्ति सूक्ति र मन्त्र जस्ता हुन्छन् । ज्ञान र अध्यात्मले टमाटम भरिएको ! त्यस्ता कविताहरु निकै गहिरो साधनापछि आउने होला । कवितामा त्यस्तो गहनता चाहिन्छ । पछिल्लो समयको नेपाली कविता चाहिँ दृश्यात्मक बढी देखिन्छ ।

महाकवि देवकोटालाई अधिकांशले कविको रुपमा मान्छन्, उपाधि नै महाकवि भनेर दिइएको छ । तर, उनी कविभन्दा पनि निबन्धकार सशक्त लाग्छ । उनको कवितामा जुन भावुकता र गम्भीरता पाइन्छ, निबन्धमा त्योभन्दा फरक र रमाइलो पाटो देखिन्छ ।

देवकोटाबारे बनाइएका विभिन्न मिथहरु उनका कवितासँग मेल खान्छन् । कवितासँग जोडेर मिथ बनाइएको रै’छ, त्यस क्रममा निबन्ध चाहिँ छुटेछ । चेतना, अनुभूतिको गाढापन र चुट्किलो अभिव्यक्तिको हिसाबले निबन्धमा एकदमै फरक छन् उनी ।

विधागत अहम् बेकार

मलाई पाठकका रुपमा साहित्यका हरेक विधा मन पर्छ । गजल, कविता हुँदै अहिले म उपन्यासमा केन्द्रित भएँ भन्दै उपन्यास मात्र पढ्ने हैन मैले । उपन्यास मात्र पढेँ भने त म निश्चित सर्कलभित्र मात्रै हुन्छु । राम्रो आख्यान लेख्न त सबैभन्दा बढी कविता पढ्नुपर्छ भन्ने लाग्छ । म कविता रुचाउँछु । अझ आख्यान लेख्नेले त कविता लेखिरहनुपर्छ, प्रकाशन नगरे पनि । त्यसबाट गद्यको लय मिलाउन र विम्ब-प्रतीकहरु ल्याउन अभ्यास भइरहन्छ । उपन्यास लेख्दै छु भने फरक विधाको किताब पढेँ मलाई त्यसले सपोर्ट धेरै गर्छ जस्तो लाग्छ ।
हाम्रा लेखकहरु भने पछिल्लो समय विधागत रुपमा यो ठूलो र यो सानो भनेर पानी बाराबारमा उत्रिएका छन् । आफूले लेखेको विधा बाहेक अरु कमसल छ भन्ने अहम् पाल्ने गरेको देखिन्छ ।

यो त संकुचित सोचको पनि पराकाष्ठा हो । उनीहरु राम्रा पाठक हुँदै हैनन् । विधागत रुपमा ठूलो-सानो भन्ने हुँदैन । पाँच सय पेजले नहान्ने झट्का एउटा हाइकुले पनि हान्न सक्छ । झन् लेखक मान्छेले त हरेक विधालाई उत्तिकै सम्मान दिनुपर्छ । राम्रो लेखक हुनुको शर्त के हो भने ऊ राम्रो पाठक हुनुपर्छ । जुन विधा पढे पनि किताबमा चिज के छ भन्ने प्रमुख कुरा हो ।

सापटी ल्याएका धेरै किताब नपढी फर्काएँ

मैले किताब किन्न कहिल्यै लोभ गरिनँ । सकेसम्म किताबहरु आफैंले किनेर पढेँ । कहिलेकाहीँ साथीभाइहरुबाट पनि लिन्थेँ, तर ती किताब धेरैजसो पढ्दिनथेँ ।

मेरो बानी कस्तो छ भने, आज कुनै किताब पाएँ भने आजै पढ्छु भन्ने छैन । कहिलेकाहीँ त्यो किताब एकैचोटि ६ महिनापछि पढ्न थालिन्छ । मुड बनेपछि महिनौंपछि कुनै किताब पल्टाइन्छ ।

सापटी ल्याएका कति किताब मैले नपढी फर्काएको छु । साथीबाट ल्याएको लामो समय भइसकेको हुन्छ, यत्तिका समयमा त पढ्यो होला भनेर साथीले माग्छ । त्यस्तो अवस्थामा पढ्दै नपढी फिर्ता गर्नुपर्छ । त्यस्तो किताब पछि आफैं किनेर पढ्छु म ।

सकेसम्म किताब किनूँ भन्ने नै हुन्छ । किताब पसलहरुमा जाँदा नयाँ र इन्ट्रेस्टिङ किताब देखेँ भनेर ल्याएर राख्छु । ती किताब आफ्नो लाइब्रेरीमा भएपछि दुई-तीन वर्षपछि पनि पढिन्छ । पढ्दै जाँदा र मुड अनुसार किताबको पालो अघि र पछि पर्छ ।

सजावट देखेर पुस्तक पसल छिर्नै डर लाग्थ्यो

नेपाली र हिन्दीपछि मेरो ध्यान त्योभन्दा बाहिरी दुनियाँका किताब पढ्नेतिर मोडियो । त्यस क्रममा पढेको किताब हो, पर्ल एस. बकको उपन्यास ‘द गुड अर्थ’ । अर्थात् ‘कल्याणी धरती’ ।

त्यतिबेला आरआर क्याम्पसमा आईए प्रथम वर्षको विद्यार्थी थिएँ म । आरएनएसी (अहिले एनएसी) को फुटपाथमा पुराना पुस्तकको हाटबजारै लाग्ने गर्थ्यो । त्यहाँबाट सेकेन्ड ह्यान्ड किताबहरु धेरै किन्थेँ म । त्यसै क्रममा निकै मोटो किताब २० रुपैयाँमा बेच्न राखेको देखेँ । त्यो ‘द गुड अर्थ’को नेपाली अनुवाद थियो ।

त्यतिबेला मैले पढ्ने नै त्यस्तो किताब थियो, सकेसम्म मोटो होस् अनि मूल्य कम होस् । किनभने धेरै पढ्न पाइन्थ्यो ।

‘कल्याणी धरती’ ल्याएर पढ्न थालेँ । कुनै किताब विश्राम बिना सकेको त्यो पहिलो चोटि होला । किताबले यति प्रभाव पार्‍यो, पछि तीन/चार चोटि पढेँ ।

पछि घरबाट बुवा आउनुभएको थियो काठमाडौं । म कोठाबाट कतै निस्किन लागेको थिएँ । उहाँलाई कोठामै बस्ने कि के गर्नुहुन्छ भन्दा घुम्न निस्किन्छु भन्नुभएको थियो । साँझ ६ बजेतिर म कोठामा फर्किएँ, बुवा कोठामै बसेर किताब पढिरहनुभएको थियो । उहाँले ‘कल्याणी धरती’ को अन्तिमतिर पुगिसक्नुभएको थियो । उहाँलाई पनि त्यति स्वादिलो लागेछ, घुम्न ननिस्की दिनभर पढेर बस्नुभएछ ।

त्यो समयमा अक्सर फुटपाथका सेकेन्ड ह्यान्ड पुस्तक नै मेरो संसार थियो । राम्रा पुस्तक पसलमा छिर्न मलाई आँटै आउँथेन । एक त आफ्नो लुगा पनि राम्रो नहुने, जिङरिङ्ग परेको भइन्थ्यो । पसलेले पनि किताब चोर्न आएको जसरी हेर्थ्यो । पुस्तक पसलमा छिर्न मन त लाग्ने, तर देखेरै छिर्न डर लाग्ने । कुनैमा छिरेँ भने एउटा मान्छे मेरो पछि लागिहाल्थ्यो ।

ठमेलको एउटा बुक सपमा छिरेको थिएँ, कुनै किताब निकालेर हेरिरहँदा साहुले ख्यास्स मेरो हातबाट थुतेर राख्छ । फेरि झिकेर अर्को हेर्छु, ऊ फेरि राख्छ । त्यसपछि त्यस्ता पसलमा म कहिल्यै छिरिनँ । त्यस्तो अवस्थामा फुटपाथ सजिलो हुने भो । त्यहाँ त जति हेरे पनि भो, एकछिन पढे पनि भो । फेरि एकदम सस्तोमा पाइने । त्यो मलाई निकै गजबको लाग्थ्यो ।

अंग्रेजी साहित्य पढ्न तपस्यै गरियो

buddhisagar
‘कल्याणी धरती’ को प्रभावले मलाई गाँजेको थियो । तर, त्यसपछि लामो समय त्यस्तो किताब पढ्ने संयोग जुरेन ।

पछि मैले पाउलो कोहिल्लोको उपन्यास ‘द अल्केमिस्ट’ को हिन्दी अनुवाद फेला पारेको थिएँ, कमलेश्वरले अनुवाद गरेका थिए । नेपाली र हिन्दीबाट अंग्रेजी साहित्य पढ्ने विधिवत सुरुवात त्यहाँबाट भए जस्तो लाग्छ । ‘अल्केमिस्ट’ ले यति प्रभाव पार्‍यो, अनुवाद पनि राम्रो थियो ।

त्यसबेलासम्म मैले नेपालमा चर्चा हुने नेपाली र हिन्दी किताबहरु सबै भ्याइसकेको थिएँ । छिटफुट बाँकी रहे पनि मुख्य किताबहरु एकसरो पढिसकेको थिएँ । अब फरक संसार हेरुँ भन्ने इच्छा भयो । नेपाली र हिन्दी मात्र पढेर हुँदैन भन्ने लाग्यो । त्योभन्दा अर्को दुनियाँको किताब कस्तो होला भन्ने तिर्खा बढ्यो । तर, मान्छेहरुले ठूल्ठूला अन्तर्राष्ट्रिय लेखकहरुको कुरा गरे पनि आफूलाई भने अंग्रेजी पढ्न आँटै आउँथेन ।

विदेशी पुस्तक पढ्ने रुचिमा भाषाको अज्ञानता नै भिलेन बनिदियो । नढाँटीकन भन्दा अंग्रेजी सधैं चिटै चोरेर पास भएको मान्छे परियो आफू ।

मनमा भने दह्रो छाप परेको थियो, हेर भाइ, अंग्रेजी नजानीकन चाहिँ हुँदैन !

लेख्न नसके पनि पढेको र कसैले बोलेको बुझ्ने स्थितिमा पुग्नु थियो । कसैले बोल्दा त्यसलाई जवाफ चाहिँ दिन सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

म मान्छेहरुलाई सोध्न थालेँ, ‘अंग्रेजी तिर्खान कसरी सकिन्छ ?’

मान्छेहरु सुझाउँथे, ‘अंग्रेजी पत्रिकाहरु पढ । रेडियोमा अंग्रेजी समाचार सुन ।’

धेरैले आफूले अंग्रेजी पत्रिका पढेरै सिकेको बताउँथे । रेडियो सुनेर पार लाग्ने देखिनँ । एक-दुई चोटि प्रयास गर्दा पत्रिका पढेर सिक्न पनि झ्याउ लाग्यो ।

भाषा सिक्ने योभन्दा अरु उपाय पनि त होला नि भनेर विचार गरेँ ।

मेरो रुचि किताबपछि सिनेमामा पनि उत्तिकै थियो । फिल्म एकदमै हेर्ने । भृकुटीमण्डपभित्र एउटा हाइभिजन हल थियो, ट्वान्टी फस्ट सेन्चुरी सिनेमा । त्यहाँ सुरुमा हप्ता-हप्तामा नयाँ फिल्म देखाउँथ्यो, पछि त डिभीडीबाट एक दिनमै अलग-अलग फिल्म तीन शो चलाउन थाल्यो ।

आरआर क्याम्पस नजिकै भएकोले हल त पानी-पँधेरो बराबर भइसकेको थियो । तीन-चार घन्टी पढेर फिल्म हेर्न पुगिहालिन्थ्यो । लगातार तीन वटा फिल्म । सबै फिल्म अंग्रेजी हुन्थ्यो ।

हलमा दर्शक २०/२२ जनाभन्दा बढी हुँदैनथे । त्यसमध्ये १८ जना त म जस्ता रेगुलर अडियन्स थिए । पछि त हलमा छिर्नासाथै एक-अर्कालाई हात हल्लाउने सम्मको चिनजान बढिसकेको थियो । सधैं जाने भएपछि सबैको आ-आफ्नो सिट रिजर्भ जस्तै हुन्थ्यो ।

त्यहाँ दुई-तीन वर्ष लगातार हेरेँ फिल्म । नियमित फिल्म हेर्न थालेपछि मैले अंग्रेजी सिक्न थालेँ । करेन्ट टाइममा चलेका शब्दहरु त्यहाँ हुन्छ । फिल्ममा आएको कति समयपछि मात्रै बल्ल डिक्सनेरीमा समेटिन्छ ।

सुरुमा त केही पनि बुझिन्थेन, पछि स्टोरी बुझिन थाल्यो, केही शब्दहरु बुझिन थाल्यो, कति त आफूले पनि अर्थ निकालिन्थ्यो ।

अहिले लाग्छ, अखबार पढेको भए वा रेडियो सुनेको भए मैले क्लासिक टाइपको पुरानो भाषा सिक्ने रै’छु । फिल्मले मलाई अपडेट भाषा सिकायो । समाजको अपडेट भाषा नै फिल्म हुन्छ ।

पछि आफ्नो हुलिया पनि फेरिँदै र आत्मविश्वास जाग्दै जाँदा म राम्रा बुक सप छिर्न थालेँ । सजाएर राखिएका अंग्रेजीका चिल्ला किताबहरुमा नजर लगाउँदै मनमनै अठोट गर्थेँ, ‘कुनै दिन यी किताब मैले पढ्नुपर्छ । एकदिन चाहिँ अंग्रेजी सिकेर मनले चाहेको किताब पढ्छु ।’ किताब झिकेर सुमसुम्याउँथेँ, राख्थेँ । पल्टाउने आँट अझै थिएन ।

फिल्मबाट अंग्रेजीको एउटा लेभलमा पुगेपछिको समयमा मैले ‘अल्केमिस्ट’ को हिन्दी अनुवाद भेटेको थिएँ । सानो किताब हरेक पंक्तिलाई माया गर्दै मजाले पढेँ । किताब कण्ठस्थ जस्तै भयो । दिमागमा झल्यास्स आयो, हिन्दीमा यो किताबको सबै कुरा थाहा भइसक्यो, अब अंग्रेजीमा पढ्छु ।

त्यो किताब बुक सपहरुमा देखिरहेको हुन्थेँ । त्यो एकदम पपुलर किताब हो भन्ने मलाई थाहा थियो । एडुकेशनल बुक हाउसबाट अंग्रेजी ‘द अल्केमिस्ट’ किताब किनेँ । पहिले हिन्दीमा स्टोरी थाहा भएकोले सरासर पढेर त्यो किताब मैले पूरा गरेँ । सरल थियो लेखाइ ।

जीवनमा पहिलो अंग्रेजी किताब पढेर सकेको त्यही थियो ।

त्यसले छुट्टै आनन्द दियो । आत्मविश्वास पनि भरिएर आफूमा शक्ति पलाए झैं भयो । प्रयास गर्‍यो भने त सकिने रै’छ जस्तो लाग्यो । त्यसबाट मलाई अरु अंग्रेजी पुस्तक छिचोल्ने प्रेरणा दियो ।

त्यसपछि पाउलोका त्यसबेलासम्म निस्किएका सबै किताब एकपछि अर्को गरी पढेँ । त्यसबेला फेसबुक आइसकेको थियो । त्यहाँ पाउलोलाई सब्सक्राइव गरेँ । उसका ब्लगहरु पढ्न थालेँ । छोटा-छोटा ब्लगहरु दैनिक रुपमा आउँथे । पढ्दै जाँदा लेखकको बारेमा थाहा हुँदै गयो । अनलाइनमा उसको बारेमा पढ्दा अर्को लेखकको रिकमेन्ड आउँथ्यो । त्यसरी अरु लेखकहरुको बारेमा थाहा हुन थाल्यो ।

पाउलोका सबै किताब सकिसकेपछि अब अर्को लेखक पढ्नुपर्‍यो भन्ने भयो । धेरैलाई सोध्दा ठूल्ठूला लेखकको नाम भन्थेँ, मेसो नपाइने र आँट पनि नआउने । सिफारिशमा राम्रा किताबको नाम भए पनि त्यो बेला मलाई काम नलाग्ने सिफारिश भए ।

अर्को लेखकको खोजी गर्न थालेँ । त्यस क्रममा बुक सपमा चहार्दा हारुकी मुराकामीका किताबहरु लहरै देखेँ । १४/१५ वटा किताब । सुरुमा मलाई मुराकामी भनेको महिला लेखक रै’छ भन्ने लाग्यो । एक-दुइटा किताब हेर्दा कभरमा पनि केटीकै फोटो थिए ।

एक-दुई जनालाई सोध्दा ‘त्यो त झुर लेखक हो, सेक्स बाहेक केही लेख्दैन’ भन्ने कुरा गरे ।

सुनेर मलाई झन् रमाइलो लाग्यो । सेक्स पनि हुन्छ भनेपछि पढ्न झन् मजै आउने होला नि भन्ने भयो । पाउलोका किताबमा त सेक्सको भाग हुँदैनथे ।

मुराकामीलाई पढ्न कुन किताबबाट थाल्ने भनेर हेर्दा सानो किताबमा आँखा पर्‍यो । मूल्य भने आठ सय रुपैयाँ रै’छ । ‘द वाइन्ड-अप बर्ड कर्निकल’ भन्ने किताब चाहिँ मोटो भए अनुसार सस्तो लागेर ल्याएँ । पढ्दै गएँ ।

कति शब्दहरु म बुझ्दिनथेँ । तर, डिक्सनेरी कहिल्यै हेरिनँ । किताब पढिरहँदा बीचमा डिक्सनेरी हेर्न झ्याउ लाग्ने । पढाइको रिदम बिग्रिन्छ भनेर रफ्तार रोक्न मन नलाग्ने । बरु नबुझेका शब्द छन् भने त्यसलाई छाडेर अघि बढ्थेँ, कति शब्दमा चाहिँ यसो भनेको होला भनेर आफैं अर्थ निकाल्थेँ ।

सुरुमा कुनै शब्दको एउटा अर्थ निकाल्यो र पछिका पानामा त्यो शब्द फेरि आउँदा त्यहाँनेर आफूले निकालेको अर्थ मिल्यो कि मिलेन भनेर तुलना गर्थेँ । कहिलेकाहीँ मिल्थ्यो, कहिले मिल्थेन । यस्तै गरेर त्यो किताब अन्तत: पढिसिध्याएँ ।

त्यसपछि मुराकामीको ‘काफ्का अन द सोर’ पढेँ । उसको सिरिज नै सकेँ । त्यसपछि तैबिसेक एउटा आँट गर्न सक्ने म भइसकेको थिएँ ।

दुई लेखकका दुई सेट किताब पढिसकेपछि आत्मविश्वास निकै बढ्यो । तर, किताब पूरा पढिसक्दा पनि किताबमाथि बोल्न चाहिँ डर लाग्थ्यो । किताबभित्र के-के छ भनेर कसैले सोध्दा मैले कतै गलत भन्छु कि भनेर मनको बाघले भित्रभित्रै कतरकतर नङ्ग्रा गाडिरहन्थ्यो । पढ्थेँ र चुप लागेर बस्थेँ । धेरैपछि मात्र यो किताबमा यो छ भनेर बोल्न सक्ने भइयो ।

तिनै दुई लेखकको प्रभावले विदेशी साहित्यको मेरो यात्रा अरु-अरुमा फैलियो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?