२१ पुस, काठमाडौं । लोक-रक सांगीतिक समूह नेपथ्यले यो शनिबार राजधानीको टुँडिखेलमा कन्सर्ट गर्दै छ ।
पल्सर डेयर भेन्चर ग्राण्ड फिनालेको अवसरमा हुने कन्सर्टमा नेपथ्यले आफ्ना नयाँ-पुराना गीतहरु पस्किनेछ । यस क्रममा काठमाडौंका श्रोतालाई पहिलो पटक एउटा नयाँ गीत पनि सुनाउने उसको तयारी छ ।
साहित्यकार तथा नेपाल संगीत नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्तले विद्यार्थी कालमा लेखेको गीत ‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन’ बोलको गीतलाई नेपथ्यले प्रस्तुत गर्न लागेको हो । सरुभक्तको रचनामा यसअघि नेपथ्यले ‘खान्नँ म त लामपाते सुरती’, ‘यानीमाया’ र ‘सरुमा रानीको आँसुको कसम’ गाइसकेको छ ।
‘कुरुप अनुहार’ मा सरुभक्तकै बाल्यकालदेखिका मित्र विक्रम गुरुङले संगीत दिएका छन् ।
सरुभक्तले आफू पोखरामै छँदा लेखेको यो गीत ०३९ सालमा कीर्तिपुरमा एमए पढ्न आएपछि संगीत पाएको सुनाए । उनका अनुसार, गीतमा समाजबाट अस्वीकृत र प्रताडित भएकाहरु प्रेमको अभावमा बाँच्नुपरेको अवस्थालाई समेटिएको छ ।
बाल्यकालीन मित्र विक्रमले संगीत दिएकोले यो गीतको मर्मले न्याय पाएको सरुभक्तले बताए ।
पाँच कक्षादेखि सँगै पढेका सरुभक्त र विक्रम ४० को दशकमा एमए पढ्न कीर्तिपुरको नयाँबजारमा सँगै बसेका थिए । संगीतकार, गीतकार र गायक समेत रहेका विक्रमले आफूले सिर्जना गरेका धेरैजसो गीतहरु अन्य गायक-गायिकालाई दिए पनि सो गीत भने कसैलाई नदिई आफैं गाउँदै आएका थिए ।
‘कीर्तिपुरबाट पढाइ सकेर फर्केपछि विक्रमले पोखराका कार्यक्रमहरुमा धेरैपटक यो गीत गाएको थियो’, सरुभक्त सम्झिन्छन्, ‘खै किन हो, एक किसिमको आत्मीयता उसले यसमा देखाएको थियो ।’
तर, अहिलेसम्म गीत रेकर्ड भने भएको थिएन । उनले यो गीत ४० को दशकका तन्नेरीहरुको तर्फबाट ७० का दशकका तन्नेरीहरुलाई कोसेली भएको बताए । आफैंले पनि बिर्सन लागेको तन्नेरी बेलाको गीतलाई नेपथ्यले पुनर्जागरण गराएकोमा उनले खुसी प्रकट गरे ।
२० वर्षअघि सुनेको यो गीत आफैंले गाउन सात वर्षअघि संगीतकारसँग अनुमति लिएको नेपथ्यका अमृत गुरुङले बताए ।
विक्रमले जमघटमा आफूले एकाध पटक गाएको यो गीत अब नेपथ्यको आवाजमा आउन लागेकोमा खुसी मान्दै भने, ‘अमृतले नेपथ्यको आफ्नै शैलीमा यो गीतलाई ढाल्न खोजेका छन् ।’
कीर्तिपुरमा एमए पढ्ने बेला गायक अरुण थापाको संगतमा झ्याम्मिएका विक्रमले ‘आँखाको निद खोसी लाने’, ‘भुलूँभुलूँ लाग्यो मलाई’ र ‘कतै टाढा तिमीबाट पुगेँ भने म’ जस्ता गीतहरु सिर्जना गरेका थिए ।
कन्सर्ट साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम टिकटबाट नभई पूर्णतया निम्तामा आधारित हुने पनि जनाइएको छ ।
प्रतिक्रिया 4