Comments Add Comment

रुपन्देही सेवा समाज इजरायलद्वारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

rupandehi-samaj-isreal

८ जनवरी, बुटवल। इजरायलमा काम गर्ने नेपालीहरुले विपन्न परिवारका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । असहाय गरीब तथा विपन्न वर्गका बालबालिकालाई रुपन्देही सेवा समाज इजरायलले सहयोग हस्तान्तरण गरेको हो ।

रुपन्देहीको विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि इजरायलमा रहेका नेपालीलेे स्थापना गरेको समाजले बुटवल-१५ बेलवासमा रहेको रुपन्देही-कपिलवस्तु सामाजिक संस्था (कर्सो) नेपालको संरक्षणमा रहेका बालबालिकाहरुलाई आर्थिक सहित खाद्यान्न सहयोग गरेको हो ।

बालबालिकाको पालन पोषण, शिक्षा, स्वास्थ्यका लागि रुपन्देही सेवा समाज इजरायलका सल्लाहकार कल्पना चापागाईं र गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष विशाल ज्ञवालीले बेलवासमा आयोजित एक कार्यक्रमकाबीच ४५ हजार नगद कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष ज्ञवालीले आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्ने भावनाका साथ बालबालिकाको भविष्यका लागि सहयोग प्रदान गरेको बताए ।

समाजका सल्लाहकार कल्पना चापागाईंले सेवा नै धर्म हो भन्ने पवित्र भावनाका साथ इजरायलमा मजदुरी गर्ने साथीहरुले पैसा उठाएर आफ्नै देशका गरिव तथा विपन्न वर्गका बालबालिकाको उज्वल भविष्यका लागि सहयोग गरिएको बताइन् ।

सेवा समाजले यसअघि सुुस्त बाल बिद्या मन्दिर सैनामैना रामपुरलाई १ लाख १० हजार, आत्म शान्ति अनाथ आश्रम माणिग्रामलाई ५१ हजार, देबदह अपांग संस्थालाई १ लाख र बुटवल देबीनगर अपांग तथा दृष्टिविहीन संस्थालाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कर्सोले नयाँगाउँ उच्च माध्यमिक विद्यालयमा ५ जना र जितेश्वरी माविमा ५ जना असहाय तथा गरिब बालबालिकालाई पढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment